भिजिट भिसामा विदेश जान नपाउने निर्णयमा गृहको संशोधन, अब यस्ता व्यक्ति मात्र जान पाउँछ भिजिट भिसामा

Posted on: 23 Jan, 2022

माघ ९, काठमाडौँ । माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने माघ ७ गतेको निर्णयलाई गृह मन्त्रालयले संशोधन गरेको छ । आइतबार विज्ञप्ति जारी मन्त्रालयले भिजिट भिसामा जान सबैलाई रोक नलगाउने निर्णय गरेको हो ।  

गृह मन्त्रालयको संसोधनसंगै अब खाडी राष्ट्र र मलेसिया भिजिट भिसामा जान यस अघिनै खाडी र मलेसिया बाहेक कम्तिमा अन्य दुई मुलुकमा पर्यटकको रुपमा भ्रमण गरिसकेको हुनुपर्नेछ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा विरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि भिजिटमा जान दिने निर्णय भएको छ । तर त्यसका लागि पनि नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयलाई प्राप्त भएपछि मात्र जान पाइनेछ ।

त्यस्तै संसोधित निर्णय अनुसार वैदेशिक रोजगारी व्यवसाय प्रबद्र्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि भिजिटमा जान दिने निर्णय भएको छ । 

भिजिट भिसामा जान वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य भएर त्यसको आधा रकम बैंक खातामा बचत भएका कम्पनीका संचालक र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउने भएका छन् ।

त्यस्तै नेपालमा सामान आयत–निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा दिइने निर्णय भएको छ ।

गत शुक्रबार गृहले ओमिक्रोनको कारण देखाउंदै पूर्ण रुपमा भिजिट भिसामा अनिश्चित कालिन रोक लगाएको थियो । सरकारको निर्णयलाई धेरैले अव्यवहारिक भन्दै आलोचना गरेका थिए । मानव अधिकारवादीहरुले यस अघि गृहले गरेको निर्णयबाट मानव अधिकारको हनन भएको टिप्पणी गरेका थिए ।

गृहले आफ्नै निर्णय संसोधन गर्दै निकालेको विज्ञप्ति तल उल्लेख छ: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!