‘एक पटक माक्र्स उतार्नु न एउटा फोटो खिचौँ’ मैले भने ।
‘मलाई अनुहार देखाउन मन लाग्दैन"/>
‘एक पटक माक्र्स उतार्नु न एउटा फोटो खिचौँ’ मैले भने ।
‘मलाई अनुहार देखाउन मन लाग्दैन"/>
भदौ १४, सर्लाही ।
‘एक पटक माक्र्स उतार्नु न एउटा फोटो खिचौँ’ मैले भने ।
‘मलाई अनुहार देखाउन मन लाग्दैन’ उहाँले यसो भन्दा मलाई अचम्म लाग्यो ।
‘किन र ? फोटो खिचेपछि लगाइहाल्नु होला नी’
‘मेरो कहानी केहिलाई थाहा छ त्यो कुनै न कुनै दिन सबैलाई थाहा होला तर अनुहार देखाउन मन लाग्दैन’ गंगाले भन्नुभयो ।
सर्लाही अत्रौली–३ की गंगा लामाको मुखबाट दिनभरी नै माक्र्स निस्कँदैन । उहाँलाई माक्र्सबिना देख्न मुस्किल छ । त्यसैले माक्र्स बिनाको उहाँको फोटो खिच्ने मेरो योजना सफल भएन । गंगाकै ई–रिक्सामा केहिबेर यात्रा गरेपछि उहाँको जीवनका लुकेका केही कुरा भने जान्न पाएँ ।
पाँच जनाको घर चलाउन निक्कै मुस्किल पर्न थालेपछि गगां के गरी जीवन चलाउने भन्ने सोच्न थाल्नुभयो । त्यसैले विदेश गए त अवस्था सुध्रिन्छ कि भन्ने आशामा गंगाले हरिवनमा रहेको ईलाका प्रसाशन कार्यालयबाट एमआरपी बनाउनुभयो अनि विदेश पठाइदिने व्यक्ति खोज्न थाल्नुभयो । एमआरपी बनाएको ६ महिना पछि एक जना महिला एजेन्टलाई फेला पारेकी गंगालाई उनले ६ महिनामै काठमाण्डौं पुर्याइन । ‘त्यति बेला घरकाले मलाई यति सानै उमेरमा विदेश जानु हुँदैन भनेका थिए’ गंगा भन्नुहुन्छ, ‘तर घरको अवस्थाले गर्दा कसैको कुरा सुन्नै मन लागेन ।’
पासपोर्ट जिम्मा लिने महिलाले इजिप्टको भिसा लागेको भन्दै बोलाएपछि गंगा काठमाडौं त पुग्नुभयो तर दलालले नेपालको बाटो झन्झटिलो हुन्छ भन्दै भारतबाट जानेपर्ने बताए । त्यसपछि गंगालाई उहाँले चिनेकै एक जना भाइको साथ लाएर भैरहवाको सुनौली पठाइदिइन् दलालले । ती महिलाले भारतको बाटो हुँदै जाने भनेर भैरहवा पुर्याउँदा पनि गंगालाई आफूलाई अवैधानिक रुपमा पठाइँदैछ भन्ने हेक्कै भएन ।
नेपाल प्रहरी र माइती नेपालको नवलपरासी शाखाले पक्रिएपछि भने गंगा निद्राबाट व्युँझे जस्तै हुनुभयो । पाँच दिन त उहाँलाई प्रहरीले हिरासतमै राख्यो तर पछि पुर्याउन जाने युवकलाई राखेर उहाँलाई छोडिदियो ।
गंगा घर फर्किएको केही दिनमै क्यान्सर पीडित आमाको निधन भयो । विदेश जान हिँड्ने बेलामा कलिलै उमेर नजा भन्ने आमा गुमाउँदा केही दिन त गंगाले आफूलाई सम्हाल्न सक्नुभएन ।
यसरी सुरु भयो ई रिक्सा चलाउने काम
‘संधै शोकमा बसेर केही हुन्न भन्ने लाग्यो त्यसैले केही गर्नु पर्छ भन्ने त सोचें । तर के गर्ने निधो गर्न सकेको थिइन’ गंगाले भन्नुभयो । त्यही बेला एक जना आफन्तले ई रिक्सा चलाउने सुझाव मात्रै दिनुभएन, किन्न सहयोग पनि गर्नुभयो । त्यसैले एक महिना अघि सुरु गर्नुभयो ई रिक्सा चलाउन । बजारमा ई रिक्सा कुदाउने महिला त अरु पनि छन् तर गाउँमा छैनन् । त्यसैले सुरुमा निक्कै गाह्रो भयो उहाँलाई ।
तर एक महिनामा अहिले त उहाँलाई बानी पर्न थालेको छ । ‘एक दुई दिनसम्मको अप्ठेरो विस्तारै कम हुँदै गएको छ’ गंगा भन्नुहुन्छ । बाध्यताले सुरु गरेको ई रिक्साले अहिले त दिनको एक हजारदेखि १५ सय कमाई पनि हुन थालेको छ । त्यसैले उहाँ खुसी हुनुहुन्छ अनि एक वर्षअघि देखेको इजिप्टको सपना आफ्नै गाउँमा, त्यो पनि ई रिक्साबाटै पूरा गर्ने प्रयास गर्दै हुनुहुन्छ । उज्यालो अनलाइनबाट