मोन्टेज ओभरसिज म्यानपावरले बिज्ञापननै नछापी बिभागबाट अन्तर्वार्ताको स्वीकृति लिदै आएको खुलाशा !

Posted on: 26 Sep, 2022

असोज १०, काठमाडौँ । काठमाडौँको कलंकी स्थित मोन्टेज ओभरसिज प्रालि म्यानपावरले अधिकांश डिमाण्ड राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापननै नछापी वैदेशिक रोजगार बिभागबाट अन्तर्वार्ताको स्वीकृति लिँदै आएको पाइएको छ । उक्त म्यानपावरले एजेन्टबाट मात्र वैदेशिक रोजगारमा पठाउने गरेको गुनाशोहरुको आधारमा उक्त म्यानपावरको आगामी अन्तर्वार्ता हुन लागेका डिमाण्डबारे अध्ययन गर्दा उक्त म्यानपावरले बिज्ञापननै नदिई काम गर्ने गरेको पुष्टि भएको हो । 

उक्त म्यानपावरका संचालक सज्जनमान जोशी सँग यस बिषयमा जानकारी माग्दा बिज्ञापन प्रकाशन नगरी स्वीकृति नलिएको दावी गरेका छन् । तर उक्त म्यानपावरले बिभागसँग राम्रो पहुँच बनाएर बिज्ञापननै नछापी अन्तर्वार्ताको स्वीकृति पाउँदै आएको भन्ने सूचना यस मिडियालाई प्राप्त भएपछि उक्त म्यानपावरको लट अनुसार भेरिफाइ गरिएको छ । यस म्यानपावरको आगामी दिनमा अन्तर्वार्ता तोकिएका डिमाण्डको लट अनुसार बिज्ञापन छ/छैन भेरिफाई गर्ने क्रममा हालसालै पुर्व स्वीकृति पाएको डिमाण्डको समेत बिज्ञापन नगरी स्वीकृति पाउँदै आएको पाइएको छ । 

लट नम्वर 250220

मोन्टेज ओभरसिज प्रालिले युएईको Transguard Group LLC कम्पनीको लागि आगामी दशैंको अष्टमीको दिन (असोज १७ गते) अन्तर्वार्ताको मिति राखेर 250220 लट नम्वरमा बिभागबाट अन्तर्वार्ताको स्वीकृति लिएको छ । यो डिमाण्डको पहिलो अन्तर्वार्ताको स्वीकृति बिभागबाट मिति २०७८ मङ्सिर ८ गते लिईएको छ । त्यसपछि यो डिमाण्डकै लागि म्यानपावरले पटक-पटक गरि बिभागबाट ३६ पटक अन्तर्वार्ताको मिति तोकेको पाइएको छ । त्यसो त पछिल्लो पटक यो डिमाण्डको बिज्ञापन अनुसार अन्तर्वार्ता दशैंको अष्टमीको दिन तोकिएको बिभागको रेकर्ड अनुसार देखिएको छ । जुनदिन वैदेशिक रोजगारको लागि अन्तर्वार्ता दिन कोहि युवा उक्त म्यानपावर पुग्दैनन् । म्यानपावरको डिमाण्ड स्वीकृत भएको मिति ३ अक्टोबर २०२२ हो । उक्त दिन दशैंको अष्टमीको दिन हो । 


लट नम्वर 272297 

यहि म्यानपावरको अर्को डिमाण्ड जसको अन्तर्वार्ता फूलपातीको दिन तोकिएको छ । यो नितान्त नयाँ डिमाण्ड हो । यो डिमाण्ड वैदेशिक रोजगार बिभागले सेप्टेम्बर २२, २०२२ (असोज ६, २०७९) मा मात्र पुर्व स्वीकृति दिएको पाइएको छ । यो लट नम्वर 272297 भएको डिमाण्ड अनुसार मलेसियास्थित Goodmaid Chemicals Corporation SDN BHD कम्पनीमा १५ जना कामदार चाहिएको उल्लेख छ । बिभागको रेकर्ड अनुसार यो डिमाण्डको बिज्ञापन गत सनिबारको दिन राजधानी दैनिक पत्रिकामा छापिनुपर्ने हो । तर म्यानपावरले उक्त दिन उक्त पत्रिकामा यो बिज्ञापन छापेकै छैन । म्यानपावरले बिज्ञापननै नछापी बिभागबाट फूलपातीको दिन अन्तर्वार्ता लिने भनि अन्तर्वार्ताको स्वीकृति लिईएको पाइएको छ । 


लट नम्वर 258124 

मोन्टेज ओभरसिज प्रालिकै अर्को लट नम्वर 258124 हो । यो लट अनुसार उक्त म्यानपावरले कुवेतको PHOENIX LIMITED GENERAL TRADING & CONTRACTING CO. कम्पनीको लागि बिभिन्न पदमा ४६ जना कामदार माग भएको भन्दै आगामी असोज १४ गते अन्तर्वार्ता गर्ने गरि बिभागबाट स्वीकृति लिएको छ । यो डिमाण्डको बिज्ञापन पत्रिकामा छापियो कि छापिएन भन्ने अध्ययन गर्दा बिभागको जानकारीकै आधारमा यो लटको डिमाण्डको बिज्ञापन असोज ७ गतेको राजधानी दैनिकमा छापिएको उल्लेख छ । तर उक्त दिनको राजधानी राष्ट्रिय दैनिक पत्रिका हेर्दा थाहा हुन्छ कि उक्त म्यानपावरको उक्त दिन कुनै डिमाण्ड छापिएको छैन । 

लट नम्वर 270113

मोन्टेज ओभरसिज प्रालिकै अर्को लट नम्वर 270113 हो । बिभागको रेकर्ड अनुसार उक्त म्यानपावरले यो लटमा मलेसियाको YCSG INDUSTRIAL SND. BHD. कम्पनीमा कामदार पठाउने गरि बिभागबाट स्वीकृति लिएको छ । साथै बिभागको रेकर्ड अनुसार यो लटको बिज्ञापन भदौ १३ गतेको राजधानी राष्ट्रिय दैनिक पत्रिकामा छापिएको भनि उल्लेख छ तर उक्त दिनको राजधानी दैनिक पत्रिका हेर्दा थाहा हुन्छ कि उक्त दिन यो म्यानपावरको कुनै बिज्ञापन प्रकाशित भएकै छैन ।  

लट नम्वर 264862

मोन्टेज ओभरसिज प्रालिकै अर्को लट नम्वर 264862 अनुसारको बिज्ञापन असोज ५ गतेको राजधानी दैनिकमा बिज्ञापन छापिएको हुनुपर्ने हो तर उक्त दिनको पत्रिकामा यो म्यानपावरको कुनै डिमाण्ड प्रकाशित छैन । यो लटमा यो म्यानपावरले कतारको Ghroup Cleaning कम्पनीको लागि ३५ जनाको कोटा खाली भएको जानकारी सहित आगामी असोज १३ गते अन्तर्वार्ता हुने जनाएको छ । 

लट नम्वर 271976

यहि म्यानपावरले अर्को डिमाण्ड जसको अन्तर्वार्ता आगामी असोज १२ गते हुने मिति तोकेर बिभागबाट अन्तर्वार्ताको स्वीकृति लिएको छ । बिभागबाटै प्राप्त रेकर्डलाई आधार मान्ने हो भने यो लटको डिमाण्डको बिज्ञापन असोज ५ गतेको राजधानी दैनिक पत्रिकामा छापिएको छ । तर उक्त दिनको राजधानी दैनिक हेर्दा उक्त म्यानपावरको कुनै डिमाण्ड उक्त दिन पत्रिकामा प्रकाशित गरिएको छैन । म्यानपावरको यो नयाँ डिमाण्ड हो । उक्त म्यानपावरले नयाँ तथा पुरानो डिमाण्डहरु पत्रिकामा बिज्ञापन नै प्रकाशन नगरी बिभागबाट स्वीकृति पाईरहेको माथिको विवरणले पुष्टि गरेको छ । 

अध्ययनका लागि यस मिडियाले उक्त म्यानपावरको आगामी दिनमा अन्तर्वार्ता हुँदै गरेको डिमाण्डको मात्र लट नम्वर अध्ययन गरेको हो । आगामी असोज १२ देखि १८ गतेसम्म अन्तर्वार्ता हुने भनि बिभागबाट उक्त म्यानपावरले स्वीकृति लिएको पाइएपनि वैदेशिक रोजगार ऐनको दफा १६ अनुसार बिज्ञापन छाप्नुपर्ने नीतिबिपरित कार्य गरेको पाइएको छ । अध्ययनमा समावेश ६ वटा बिभिन्न लट मध्ये ५ वटा डिमाण्डको बिज्ञापन बिभागको रेकर्डको आधारमा जाँचबुझ गर्दा प्रकाशित नगरिएको पाइएको छ । 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार कुनै ईजाजतपत्र प्राप्त म्यानपावरले दफा १६ बमोजिम बिज्ञापन प्रकाशित नगरेमा त्यस्ता म्यानपावरलाई ५० हजार जरिवाना गराउँछ । साथै त्यस्ता बिज्ञापन रद्द गराउँछ । मोन्टेज ओभरसिजले एक पटक मात्र नभई पटक-पटक बिज्ञापन प्रकाशित नगरी वैदेशिक रोजगारको काम गर्दै आएको पाइएको छ ।  

किन गरिन्छ यस्तो ? 

पछिल्लो समय धेरै म्यानपावर कम्पनीहरुले डिमाण्डको पुर्व स्वीकृति अगावै एजेन्ट मार्फत कामदार छनौट गर्ने, डिमाण्ड लुकाउने, डिमाण्ड प्रकाशननै नगर्ने, गरेपनि तोकिएको अन्तर्वार्ताको मिति अगावै डिमाण्ड छैन भन्ने गरेको गुनाशोहरु प्राप्त भएका छन् । केहि समय अघि वैदेशिक रोजगार बिभागले बिज्ञापन नछापेको पाइएपछि ५०/५० हजारको दरले १४८ म्यानपावर कम्पनीलाई जरिवाना तिराएको थियो । 

वैदेशिक रोजगार बिभागले प्रयाप्त रुपमा वैदेशिक रोजगारको ऐनको बर्खिलाप हुने गरि हुने गरेका कतिपय म्यानपावरका क्रियाकलापमा नियमित अनुगमन नगर्दा बेथिति बढ्दै गएको पाइएको छ । म्यानपावरहरुले एजेन्ट मार्फत छानिएका कामदारले जति भन्यो त्यति लागत बुझाउने तर आम रुपमा छानिएकाहरुले लागत सम्बन्धमा किचकिच गर्ने, बिभागमा उजुरी गरिदिने बुझाईको कारण सकेसम्म आम सर्वसाधारणलाई म्यानपावर प्रवेशमा रोक लगाउने गरेका छन् । एजेन्टकै भरमा कामदार भर्ति गर्न वा गरिसकेको कारण त्यसलाई प्रक्रियामा लैजानको लागि मात्र विज्ञापन छाप्ने औपचारिकता हुने गरेको पछिल्लो अवस्था छ । नियमन गर्ने निकाय भने यस बिषयमा पटक-पटक जानकारी पाईराख्दा पनि मौन छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!