काठमाडौँ स्थित कन्सल्टेन्सीमा छापा, ८३ वटा राहदानी सहित ६ कर्मचारी पक्राउ (भिडियो सहित)

Posted on: 10 Dec, 2022

मङ्सिर २४, काठमाडौँ । वैदेशिक रोजगार बिभागले ठगि उजुरीको आधारमा छापा मार्दा काठमाडौँ स्थित एक कन्सल्टेन्सीबाट ८३ थान पासपोर्ट जफत गरेको छ । डिल्लीबजार स्थित सुर्य कर्पोरेशन लिमिटेड नाम गरेको कन्सल्टेन्सीले अवैध कारोबार गरेको साथै कन्सल्टेन्सी खोलेर वैदेशिक रोजगारको धन्दा गरिरहेको बिभागमा उजुरी परेको थियो । 


बिभागले शुक्रबार गरेको छापाको क्रममा कन्सल्टेन्सीबाट ८३ थान पासपोर्ट (राहदानी) सहित उक्त कन्सल्टेन्सीमा कार्यरत ६ जनालाई प्रहरीको जिम्मा लगाएको छ । उक्त कन्सल्टेन्सीले युवाहरुलाई आकर्षक प्रलोभन देखाई वैदेशिक रोजगारमा अमेरिका, क्यानडा र जापान लगायतका देशमा पठाउने प्रलोभनमा पारेर राहदानी सहित आर्थिक ठगि गरेको पाइएको छ । ठगि गर्ने कन्सल्टेन्सीका संचालक भनिएका समिर बलामी, शम्भु लामिछाने भने बिभागले छापा मार्ने क्रममा कन्सल्टेन्सी आउन मानेनन् । उनीहरुले २०१९ मा ७ जना युवायुवातीहरुलाई जापान रोजगार भिषामा पठाईदिने प्रलोभन देखाई रकम अशुली गरेका थिए । पैसा अशुली गरेर बिभिन्न बहानाबाजी गर्दै टार्दै आएपछि पीडितहरु कन्सल्टेन्सी बिरुद्ध उजुरी दिन वैदेशिक रोजगार बिभाग पुगेका थिए । 


शुक्रबार दिउँसो विभागको टोली आकस्मिकरूपमा उक्त कन्सल्टेन्सीमा छापा मार्न पुग्दा उक्त कन्सल्टेन्सीबाट युके सिजनल भिसा, बिभिन्न देशमा भिजिट भिसा र कामदार भिसामा पठाउने गरेको प्रमाण सहित फेला पारेको थियो । 


पछिल्लो काठमाडौँ लगायत बिभिन्न जिल्लामा खुलेका कन्सल्टेन्सीहरुले अवैधानिक रुपमा वैदेशिक रोजगारको धन्दा चलाईरहेको गुनाशोहरु प्राप्त भईरहेका छन् । यस क्रममा ठगि समेत बढेको वैदेशिक रोजगार बिभागले जनाएको छ । सरकारको नीति अनुसार शैक्षिक परामर्श दिने उदेश्यले खुलेका कन्सल्टेन्सीहरुले कुनैपनि प्रकारले वैदेशिक रोजगारको कार्य गर्न पाउदैनन् । 

वैदेशिक रोजगार एनमा इजाजत नलिई वैदेशिक रोजगारमा पठाउने गरेको पाइए ७ बर्ष सम्मको जेल सजाय सहित जरिवाना र पीडितबाट जति अशुली गरेको छ त्यसमा थप ५० प्रतिशत जरिवाना गराईने नियम छ । वैदेशिक रोजगारमा पठाउने अनुमति लिन कम्तिमा दुई करोड धरौटी राखेर छुट्टै लाइसेन्स लिनुपर्छ । 

हेर्नुहोस् वैदेशिक रोजगार बिभागले शुक्रबार छापा मारेपछिको भिडियो: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!