सात वर्षदेखि उपचार भएन

Posted on: 16 Apr, 2017

बैशाख ३, काठमाडौँ । सार्वजनिक यातायातले ठक्कर दिएर करङ भाँचिदिएको सात वर्ष बित्दासमेत कागेश्वरी मनोहरा नगरपालिकाका न्हुच्छे नगरकोटीले उपचार पाउनुभएको  छैन । 

बि सं २०६६ माघ २७ गते दुई पर्यटक लिएर पोखरा जाँदा पृथ्वीराजमार्गस्थित धादिङको ज्यामिरघाटमा नगरकोटीले चलाएको फिस्टेल टुर्स एन्ड ट्राभल्सको बा४च ४५३१ नं को किया क्यारिन्स कारलाई काठमाडौँ आउँदै गरेको लमजुङ कालिका माइक्रोबस समितिको बा३ख ३१५१ नं को माइक्रोबसले ठक्कर दिएर सख्त घाइते बनाएको थियो । सात वर्षसम्म आफू कार्यरत ट्राभल्स, माइक्रोबस समितिलगायत सरोकार भएका निकायमा धाउँदा पनि न्याय नपाएपछि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको उहाँले बताउनुभयो । 

अशक्त नगरकोटी हाल सो नगरपालिकाको वडा नं २ आलापोटस्थित आफ्नै घरमा अनशन बस्दै आउनुभएको छ । नेपाल घुम्न आएका सिङ्गापुरको एक दम्पती लिएर पोखरा फर्कंदा उहाँ मात्र नभई पर्यटक पनि सख्त घाइते भएका थिए । महिला पर्यटक गोडा नचल्ने अवस्थामा ह्विलचियरमा स्वदेश फर्केकी थिइन् । “ट्राभल्सका सञ्चालक नारायणप्रसाद पोखरेलले माइक्रोबस समितिसँग पैसा लिई कारको मर्मत गरे पनि मेरो उपचारका लागि केही गरेनन्, अहिले त भेट्न पनि मान्दैनन्, फोन पनि उठाउँदैनन्”, पीडित नगरकोटीले भन्नुभयो ।

बिएन्डबी अस्पतालमा प्रारम्भिक उपचारपछि डा सरोज रिजालले करङको शल्यक्रिया गर्न सिफारिस गरे पनि आर्थिक अवस्था कमजोर भएका कारण गर्न नसकेको उहाँको गुनासो छ । उहाँ हालसम्म नेपाल अर्थोपेडिक अस्पताल, वीर अस्पताल र मेडिकेयर अस्पतालमा उपचारका लागि धाइसक्नुभएको छ । सबै अस्पतालले करङको नसाको समस्या भएकाले न्युरो अस्पतालमा डा उपेन्द्र देवकोटालाई भेट्न सल्लाह दिए पनि तीन वर्षदेखि भेट्न नसकेको दुःखेसो उहाँको छ । 

ट्राभल्सका सञ्चालक पोखरेल दुर्घटनामा चालक नगरकोटी घाइते नै नभएको जिकिर गर्नुहुन्छ । माइक्रोबस समितिका कोषाध्यक्ष दिलबहादुर घिमिरे भने चालक घाइते भई करङमा समस्या देखिए पनि उपचार खर्च भएअनुसारको पैसा दिन खोज्दा नमानेको बताउनुहुन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!