काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा नगरमा तनावको स्थिति सिर्जना भएको छ। घटनालाई दृष्टिगत गर्दै धरानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाक्लो रूपमा परिचालन गरिएको छ।
विवादको मूलमा धरान–१६ मा सर्दु खोलाको किनारमा गरिएको श्रमदान कार्यको डोर हाजिरीसहित भुक्तानी प्रक्रिया रहेको बताइएको छ। श्रमदानमार्फत गरिएको कामको बिल उपभोक्ता समिति मार्फत पेस गरिएपछि त्यसमा रोक लगाइएको विषयमा दुवै पदाधिकारीबीच मतभेद देखिएको हो।
मंगलबार दिउँसो २ बजेका लागि तय भएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयर कार्यालय परिसरमा दुई पक्षबीच भनाभन भएको थियो। उक्त खबर बाहिरिएसँगै नारायणपथ क्षेत्रमा श्रमदान गरिरहेका मेयर समर्थकहरू उपमहानगर कार्यालयतर्फ आएका थिए।
मेयर समर्थकहरूले “विकासविरोधी उपमेयर चाहिँदैन” र “राजनीतिक हस्तक्षेप बन्द गर” भन्ने नारासहित प्रदर्शन गरे। अर्कातर्फ, उपमेयर बेघासम्बद्ध नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले “हर्क साम्पाङ मुर्दावाद” तथा “राज्य संयन्त्रको दुरुपयोग बन्द गर” भन्ने नारासहित प्रतिवाद गरेका थिए।
यस घटनाले उपमहानगरमा राजनीतिक ध्रुवीकरण र प्रशासनिक निर्णयको कार्यान्वयनमा देखिएको असहमति उजागर गरेको छ।
उपमेयर बेघाले सम्बन्धित योजनामा कानुनी प्रक्रिया नपुगेको र पहिले नै सकिएको कार्यलाई निकासा दिने दवाब आएको दाबी गर्दै आफूले अनुगमन र समर्थन गर्न नसक्ने बताएका छन्।
मेयर साम्पाङले भने बाढीपीडित क्षेत्रलाई आपतकालीन आधारमा तत्काल सहयोग पुर्याउने उद्देश्यले श्रमदान गरिएको र जनताको हितमा काम भएको जिकिर गरेका छन्।
नेकपा माओवादी केन्द्र धरान नगर कमिटी अध्यक्ष उद्धव लिम्बूले मेयर साम्पाङमाथि आफ्ना समर्थकहरूलाई प्रयोग गरी उपमेयरप्रति असममानजनक व्यवहार गराएको आरोप लगाएका छन्।
धरान उपमहानगरभित्र बढ्दो असहमतिका बीच स्थिति सामान्य राख्न स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको जनाइएको छ।