२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

१८ असार २०८२, बुधबार ११:२३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गर्नुभएको छ । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । यद्यपि इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा आफ्ना अपरेसनहरू तीव्र पारेको छ ।

अर्को हप्ता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणअघि आफ्ना प्रतिनिधिहरूले बढ्दो द्वन्द्वका बारेमा इजरायली अधिकारीहरूसँग भेट गरेको सामाजिक सञ्जालमा पोस्टमा ट्रम्पले बताउनुभएको छ ।

“इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ, यस अवधिमा हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौँ”, ट्रम्पले लेख्नुभएको छ ।

उहाँले द्वन्द्वमा मध्यस्थता गर्ने कतार र इजिप्टका प्रतिनिधिहरूले ‘यो अन्तिम प्रस्ताव’ पुर्‍याउने बताउनुभयो ।

“म आशा गर्दछु, मध्यपूर्वको हितका लागि हमासले यो सम्झौता स्वीकार गर्छ किनभने यो राम्रो हुनेछैन–यो खराब मात्र हुनेछ”, उहाँले लेख्नुभयो ।

यसअघि मङ्गलबार ट्रम्पले जुलाई ७ मा नेतान्याहुसँग भेट हुँदा उहाँ ‘धेरै कडा’ हुने बताउनुभएको थियो ।

तेहरानका आणविक साइटहरूमा अमेरिकी बमबारी मिसनपछि भएको इजरायलको इरानसँगको १२ दिने युद्धको अन्त्यले सम्झौताका लागि अवसरको ढोका प्रदान गरेको छ । ट्रम्प हालैका शान्ति सम्झौताहरूको शृङ्खलामा अर्को शान्ति सम्झौता थप्न इच्छुक हुनुहुन्छ ।

यसैबीच इजरायलको अभियान जारी रहेको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले कम्तीमा २६ जनाको हत्या गरेको रिपोर्ट गरेको छ ।

गाजा क्षेत्रको उत्तर र दक्षिणमा घातक आक्रमणको रिपोर्टको प्रतिक्रियामा इजरायली सेनाले यो ‘हमासको सैन्य क्षमताहरू नष्ट गर्न सञ्चालन गरिरहेको’ बताएको छ ।

छुट्टै इजरायली सेनाले मङ्गलबार बिहान हालैका दिनहरूमा यसले ‘गाजा पट्टीभित्रका थप क्षेत्रहरूमा आफ्नो कारबाही विस्तार गरेको, दर्जनौँ आतङ्ककारीहरूलाई नष्ट गरेको र जमिन माथि र तल दुवै सयौँ आतङ्ककारी पूर्वाधार स्थलहरू ध्वस्त पारेको’ बताएको छ ।

“गत हप्तामा हवाई आक्रमण र गोलाबारी बढेको छ, र ट्याङ्कहरू अगाडि बढिरहेका छन्”, गाजा सहरको सुजैया जिल्लाका ३९ वर्षीय राफत हालेसले भन्नुभयो, “मलाई विश्वास छ कि प्रत्येक पटक वार्ता वा सम्भावित युद्धविरामको उल्लेख गर्दा सेनाले जमिनमा अपराध र नरसंहार बढाउँछ, मलाई थाहा छैन किन ।”

एएफपी फोटोग्राफरहरूले दक्षिणी इजरायलको गाजा सीमामा इजरायली ट्याङ्कहरू तैनाथ गरेको र गाजा सहरमा ध्वस्त घरको भग्नावशेषबाट बालबालिकाहरू खोजिरहेको देखेका छन् ।

अरूले मध्य गाजाको देइर अल–बलाहको सहरको अल–सिफा अस्पताल र अल–अक्सा अस्पतालमा आफन्तहरूको शवमा शोक मनाउँदै प्यालेस्टिनीहरूको फोटो खिचेका थिए ।

– सहायता खोज्नेहरू मारिए –

गाजाका केही कार्यरत चिकित्सा सुविधाहरू भरिएका छन् भन्दै रेडक्रसले करिब सबै सार्वजनिक अस्पतालहरू आपूर्तिमा ‘महिनौँको शत्रुता र प्रतिबन्धहरूद्वारा बन्द वा नष्ट भएका छन’ भनी चेतावनी दिएको छ ।

“विगत ३६ घण्टामा गाजा सहर र जबलियामा बढ्दो शत्रुताबाट दर्जनौँ सर्वसाधारणको मृत्यु र घाइते भएको भन्दै अन्तर्राष्ट्रिय रेडक्रस समिति निकै चिन्तित छ”, आइसिआरसीले एक विज्ञप्तिमा भन्यो ।

गाजाको नागरिक सुरक्षा सेवाले मङ्गलबार मध्य र दक्षिणी गाजामा सहायता वितरण स्थलहरू नजिकै १६ जनाको मृत्यु भएको, पछिल्लो समयमा खाना खोज्नेहरूमाथि घातक आक्रमण भएको र अन्य इजरायली अपरेसनहरूमा अन्य १० जनाको मृत्यु भएको बताएको छ ।

घटनामा टिप्पणी गर्दै इजरायली सेनाले ‘सेना नजिक आएका संदिग्धहरूलाई टाढा राख्न चेतावनी फायर गरेको’, कुनै घाइते भएको बारेमा जानकारी नभएको तर घटनाहरूको समीक्षा गर्ने बताएको छ ।

रफाहमा भएको एउटा घटनाको उल्लेख गर्दै सेनाले गोली ‘सहायता वितरण स्थलबाट सयौँ मिटर टाढा’ फायर गरिएको र उक्त वितरण स्थल ‘सञ्चालन भइरहेको थिएन’ भनेको छ ।

– सहायता संस्थाहरूको आग्रह –

एक सय ६९ सहायता संस्थाको समूहले सोमबार गाजाको ‘घातक’ नयाँ अमेरिकी र इजरायली समर्थित सहायता वितरण योजनाको अन्त्य गर्न आह्वान गरेको छ । समूहले नागरिकहरूको मृत्यु निम्त्याइरहेको बताएका छन् ।

इजरायलले हमाससँगको युद्धविराम वार्तामा गतिरोधका कारण गाजामा प्रवेश गर्ने मानवीय सहायतामा पूर्ण नाकाबन्दी लगाएकाले उनीहरूले मार्चसम्म अवस्थित संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा रहेको सहायता व्यवस्थामा फर्कन आग्रह गरेका छन् ।

नयाँ योजनाको प्रशासक, गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जिएचएफ) ले आफ्ना केन्द्रहरू नजिकै सहायता खोज्नेहरूको हत्या भएको खबरबाट आफूलाई टाढा राखेको छ ।

– नेतान्याहुको अमेरिकी भ्रमण –

गाजामा विनाशकारी लडाइँ अन्त्य गर्न र बाँकी बन्धकहरूलाई घर ल्याउन बढ्दो दबाबका बीच नेतान्याहुले अर्को हप्ता ट्रम्प र वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीहरूलाई भेट्ने घोषणा गर्नुभएको छ ।

फ्लोरिडाको एक आप्रवासी हिरासत केन्द्रको भ्रमण गर्दा ट्रम्पले नेतान्याहु ‘यसलाई पनि अन्त्य गर्न चाहनुहुन्छ’ भन्नुभयो ।

“यदि यसले युद्धको अन्त्य र स्थायी युद्धविराम र कब्जा गर्ने सेनाहरूको पूर्ण फिर्ती निम्त्याउँछ भने समूह कुनै पनि प्रस्तावमा सहमत हुन तयार छ”, हमासका अधिकारी ताहेर अल–नुनुले भन्नुभयो, “अहिलेसम्म कुनै सफलता प्राप्त भएको छैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य