२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु

५ श्रावण २०८२, आईतवार १३:१९

भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाको खोजी गरिरहेका छन् ।

भियतनामको प्रसिद्ध हा लङ बे वरिपरि परिवारहरूलाई घुमाउँदै गरेको पर्यटक डुङ्गालाई शनिबार अकस्मात् आएको आँधीले प्रहार गरेको थियो । यो युनेस्को विश्व सम्पदा स्थलको सबैभन्दा घातक प्रकोपहरू मध्ये एक थियो ।

भिएनएक्सप्रेस समाचार साइटका अनुसार अचानक भारी वर्षाका कारण पल्टिएको ‘वन्डर सी’ नामक जहाजमा ४८ यात्रु र पाँच चालक दल सदस्य सवार थिए ।

“आकाश अँध्यारो भयो”, हा लङ बे क्षेत्रका बासिन्दा ट्रान ट्रोङ हङले एएफपीलाई भन्नुभयो, त्यहाँ “मुसलधारे वर्षा, आँधीबेहरी र चट्याङसहित औँला बराबरका ठूला असिनाहरू आए ।”

यात्रुहरूमा २० भन्दा बढी बालबालिका सहित राजधानी हनोईबाट आएका गर्ने परिवारहरू अधिकांश थिए ।

शनिबार साँझसम्म सीमा रक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए र ३४ जनाको शव बरामद गरेका थिए ।

रातभर क्याबिनमा तीनजना चालक दलका सदस्यहरूको शव फेला परेको थियो र अझै पनि बेपत्ता रहेका पाँच जनालाई फेला पार्न आइतबार बिहानसम्म उद्धार कार्य जारी रहेको थियो ।

उद्धार गरिएका मध्ये एक जनाको आइतबार अस्पतालमा मृत्यु भएको र मृतकको सङ्ख्या ३८ पुगेको भिएनएक्सप्रेसले जनाएको छ ।

उद्धार गरिएकाहरू मध्ये एक १० वर्षीय केटाले राज्य सञ्चारमाध्यम भियतनामनेटलाई भने, “मैले गहिरो सास लिएँ, एउटा खाली ठाउँबाट पौडिएँ, डुबेँ र त्यसपछि माथि पौडिएँ, मैले सहायताका लागि चिच्याएँ, त्यसपछि सिपाहीहरू भएको डुङ्गाले मलाई तान्यो ।”

प्रधानमन्त्री फाम मिन्ह चिनले शनिबार मृतकका आफन्तप्रति समवेदना प्रकट गर्दै रक्षा तथा जनस्वास्थ्य मन्त्रालयलाई तत्काल खोजी र उद्धार कार्य गर्न आग्रह गर्नुभएको थियो ।

“अधिकारीहरूले घटनाको कारण अनुसन्धान र स्पष्ट पार्नेछन् र उल्लङ्घनहरूलाई कडाइका साथ नियन्त्रणमा लिनेछन्”, सरकारी विज्ञप्तिमा भनिएको छ ।

शनिबार उत्तरी हनोई, थाई गुयेन र ब्याक निन्ह प्रान्तमा पनि भारी वर्षा भएको छ । तीव्र हावाहुरीका कारण राजधानीमा धेरै रुखहरू ढलेका छन् ।

यो आँधी तीन दिनको तीव्र गर्मीपछि आएको थियो । भियतनाममा केही क्षेत्रमा पारा ३७ डिग्री सेल्सियस (९९ डिग्री फारेनहाइट) पुगेको थियो ।

नेसनल सेन्टर फर हाइड्रोमेटियोरोलोजिकल फोरकास्टिङका निर्देशक माई भान खिमले भिएनएक्सप्रेसमा उद्धृत गर्दै उत्तरी भियतनाममा आँधीबेहरी दक्षिण चीन सागरमा उष्णकटिबन्धीय आँधी विफाको प्रभावका कारण नभएको बताउनुभयो ।

विफा आइतबार दक्षिण चीन सागरमा प्रवेश गर्दै शक्ति बढाउँदै छ र अर्को हप्ताको सुरुमा भियतनाममा आउने बाटोमा छ ।

हा लङ बे भियतनामको सबैभन्दा लोकप्रिय पर्यटन गन्तव्यहरू मध्ये एक हो । लाखौँ मानिस प्रत्येक वर्ष यसको निलो–हरियो पानी र वर्षावन–शीर्ष चुनढुङ्गाका टापुहरू हेर्न आउँछन् ।

गत वर्ष टाइफुन यागीले तीव्र हावा र छालहरू ल्याएपछि हा लङ खाडीको किनारमा रहेको तटीय क्वाङ निन्ह प्रान्तको डुङ्गा लक क्षेत्रमा ३० वटा जहाज डुबेका थिए ।

यस महिना इन्डोनेसियाको लोकप्रिय रिसोर्ट टापु बालीमा एउटा डुङ्गा डुबेर कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला