२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए

२०८२, २८ मंसिर शनिबार ११:०९

काठमाडौँ | “छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी । हजुर बिरामी परिरहनुहुन्छ नि, त्यसकै लागि पूजा गरेको हुँ ।”

यो छोटो तर भावुक संवाद झापाको भद्रपुर नगरपालिका–३ गोलेचोकका २० वर्षीय सविन विश्वकर्मा र उहाँकी आमा लालमाया विश्वकर्माबीच भएको अन्तिम कुराकानी थियो । आमाको स्वास्थ्यलाभको कामनासहित मन्दिरमा पूजा गरेर फर्किएका सविनको त्यो हँसिलो अनुहार आज परिवारका लागि सम्झनाको तस्बिर मात्र बनेको छ ।

गत साताको शनिबार भारतको उत्तरी गोवास्थित एक नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीले सविनको जीवनसँगै उहाँका सपना, योजना र परिवारका आशा सबै निभाइदियो । उक्त आगलागीमा पाँच जना नेपालीसहित २५ जनाको ज्यान गएको थियो । सोही नाइटक्लबमा सेफका रूपमा कार्यरत सविन निसास्सिएर ज्यान गुमाउनेमध्ये एक हुनुहुन्थ्यो ।

सविनको मृत्युको खबर परिवारका लागि अकल्पनीय थियो । बिहीबार दिउँसो मात्रै उहाँको शव झापा आइपुग्यो र शुक्रबार अन्त्येष्टि गरियो । “छोराको शव देखेपछि मात्र पत्याउन सक्यौँ”, सविनका बुबा टीकाराम विश्वकर्माले भारी मनले भन्नुभयो, “नत्र त अझै कतै बाँचिरहेको होला भन्ने आशा थियो ।”

सविन टीकाराम र लालमायाका जेठा छोरा हुनुहुन्छ । उहाँले झापामै होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गर्नुभएको थियो । सानैदेखि आत्मनिर्भर बन्ने सोच राख्ने सविन पढाइमा मात्र होइन, कामप्रति पनि उत्तिकै जिम्मेवार हुनुहुन्थ्यो ।

डिप्लोमा सकेपछि उहाँले भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित एक होटलमा छ महिना ‘इन्टर्नसिप’ गर्नुभएको थियो । त्यसपछि केही समय झापाकै विभिन्न होटलमा तीन–चार महिना काम गर्नुभयो । “छोराले जे काम गरे पनि मन लगाएर गथ्र्यो”, आमा लालमाया सम्झनुहुन्छ, “सानो उमेरमै परिवारको चिन्ता लिन थालेको थियो ।”

त्यसपछि सविन ठूलीआमा (लालमायाको काकाकी छोरी) सँगै गोवाको एक होटलमा कामका लागि पुग्नुभयो । केही समयपछि हाल कार्यरत नाइटक्लबमा सेफका रूपमा प्रवेश गर्नुभयो र विगत छ महिनादेखि त्यहीँ कार्यरत हुनुहुन्थ्यो । कामको वातावरण, तलब र भविष्यप्रति उहाँ सन्तुष्ट हुनुहुन्थ्यो ।

घटनाको दिन भद्रपुरबाट गरिएको मेसेन्जर ग्रुप कलमा सविनकी हजुरआमा पनि जोडिनुभएको थियो । “म काममा व्यस्त थिएँ”, लालमाया सम्झनुहुन्छ, “छोरालाई काम सकेर कोठामा पुगेर फेरि कल गर्छु, हजुरआमासँग कुरा गर्दै गर भनेँ ।”

एक घण्टापछि कोठामा पुगेपछि लालमायाले छोरालाई फोन गर्नुभयो । तर कल उठेन । “काममै व्यस्त होला भन्ने लाग्यो”, उहाँ भन्नुहुन्छ, “तर सधँै बिहान सबेरै उठेर कल गर्ने छोराको फोन आएन । बरु भारतको सिलिगुडीबाट छोरा काम गर्ने ठाउँमा भएको आगलागीको खबर आफन्तले सुनाए । त्यो क्षण त खुट्टामुनिको जमिनै भासिएजस्तो भयो ।” सविन काम गरिरहेको नाइटक्लबमा भएको आगलागीले केही मिनेटमै भयावहरूप लिएको थियो । उद्धार प्रयास भए पनि भित्र फसेकाहरू निसास्सिन पुगे र तीमध्ये सविन एक हुनुहुन्थ्यो ।

“उक्त ठाउँमा काम गर्दा मेरो छोरा निकै खुसी थियो”, लालमायाले आँखा भरिँदै भन्नुभयो, “तलब पनि राम्रै थियो, नियमित खर्च पठाइरहेकै थियो ।” सविनका बुबा टीकाराम विगत १८ वर्षदेखि वैदेशिक रोजगारीमा साउदी अरब, युएई हुँदै दुई वर्षदेखि मलेसियामा कार्यरत थिए । आमा लालमाया पनि विगत चार वर्षदेखि कुवेतमा काम गर्दै आउनुभएको थियो । दुवैजना छोराको शव घर आइपुगेकै दिन बिहीबार मात्रै नेपाल फर्किनुभयो ।

“घरको आर्थिक अवस्था कमजोर थियो”, लालमाया भन्नुहुन्छ, “त्यसैले श्रीमान् विदेशमै रहनुभयो । म पनि घरको अवस्था केही उकास्न सकिन्छ कि भनेर कुवेत गएँ ।” उहाँका अनुसार सविनले होटल म्यानेजमेन्ट डिप्लोमा गरेपछि आफैँले रोजगारी खोज्दै भन्न थालेका थिए, “अब मलाई अगाडि पढाउनु महँगो पर्छ, म आफैँ कमाएर हजुरहरूलाई दुःख दिन्न ।”

सविनको कामप्रतिको इमानदारी देखेर नाइटक्लबका सञ्चालक पनि सन्तुष्ट थिए । “उसलाई अन्त जान नदिई यहीँ राख्ने सोच बनाएका रहेछन्”, बुबा टीकाराम बताउनुहुन्छ, “हामीसँग कुरा गर्दा पनि कहिल्यै काम गाह्रो भयो, दुःख छ भनेन, बरु साहुँले माया गर्नुहुन्छ भन्थ्यो ।”

सविनको असामयिक निधनले परिवार मात्र होइन, सिङ्गो गाउँ शोकमा डुबेको छ । उनीहरूका नौ वर्षीया छोरी र चार वर्षका छोरा भद्रपुरमै हजुरआमाको रेखदेखमा छन् । दाइ कहिले फर्किन्छन् भनेर सोध्ने उनीहरूका प्रश्नको जवाफ कसैसँग छैन ।

भारतको केन्द्र सरकारले मृतक परिवारलाई दुई लाख भारतीय रूपैयाँ र गोवा राज्य सरकारले पाँच लाख भारतीय रूपैयाँ राहत दिने निर्णय गरेको छ । त्यसका लागि आवश्यक कागजात पठाउने प्रक्रिया भइरहेको सविनका दाजु सन्देश विश्वकर्मा (मामाको छोरा) ले जानकारी दिनुभयो ।

“गोवा राज्य सरकारले नै शव जहाजमार्फत पश्चिम बङ्गालको बागडोरा विमानस्थल ल्यायो”, उहाँले भन्नुभयो, “त्यहाँबाट एम्बुलेन्समार्फत सिधै घरसम्म ल्याइदियो ।” आमाको स्वास्थ्यलाभका लागि मन्दिरमा पूजा गरेर फर्किएको छोरा अब कहिल्यै फर्किने छैन । सविन विश्वकर्माको कथा केवल एक दुर्घटनाको विवरण मात्र होइन, परदेशी श्रम, परिवारको जिम्मेवारी र अधुरै रहन पुगेका सपनाको कथा हो –जसले धेरै नेपाली युवाको यथार्थ बोलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी