2026-09-12 04:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

काठमाडौँ | नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको अन्तिम आशा यही छ, ‘देशका लागि छोराले गरेको बलिदानीले सबैको राम्रो होस् ।’ कठेरीस्थित आफ्नै सन्तानका आठ–दश घरले भरिएको बस्तीको बीचमा भूकम्पपछिको सरकारी अनुदानमा निर्माण भएको सानो एककोठे घरमा उहाँको बसोबास छ । १५ सन्तान र ४१ नाति–नातिनाको अभिभावक भए पनि मानकुमारीको जीवन बाँच्ने सहारा भने कान्छा छोरा लच्छुमान नै हुनुहुन्थ्यो ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शिताका विरुद्ध जेनेरेसन–जेड (जेनजी) युवाको आह्वानमा काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनमा ३९ वर्षीय लच्छुमान राई सहिद हुनुुभयो । आठ छोरा र सात छोरीमध्येका कान्छा लच्छुमानले राष्ट्रका लागि दिनुभएको बलिदानलाई पत्याउन नसक्नुभएका आमाको मनमा अझै पनि छोरा घर फर्कने आशा मरेको छैन । घरमा पुग्ने जो कोहीलाई ‘लच्छु आयो कि !’ भन्ने आशामा मन तानिन्छ । अनि टक्क रोकिएर सम्हाल्न पुग्नुहुन्छ, ‘बाबु त देशका लागि बोल्दाबोल्दै कहिल्यै नबोल्ने भइसक्यो ।’

गत भदौ २३ मा काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनमा राज्यबाट गरिएको बर्बर दमनको भोलिपल्ट भदौ २४ गतेको विरोधमा लच्छुमान गम्भीर घाइते हुनुभयो । टाउकोमा गोली लागेर ढल्नुभएका उहाँलाई कस्ले ट्रमा सेन्टर पु¥यायो थाहा छैन । अस्पताल पुग्दा उहाँको होस नै थिएन । अन्तिम बोली कति बेला अवरुद्ध भयो थाहै भएन । त्यही कारण घरपरिवारमा खबर आउन चार दिन लाग्यो ।

उहाँ घाइते भएको अपुष्ट खबर घरमा २७ गते साँझ आयो । भोलिपल्टै अस्पताल पुग्नुभएका आमाले छेदविच्छेद बनेको छोराको अनुहार हेर्न सक्ने अवस्था नै थिएन । च्याप्प खुट्टा समातेर भन्नुभयो ‘यो त लच्छु हो ।’ सुम्सुमाउँदै छोरालाई अँगाल्न खोज्नुभएका मानकुमारीलाई रोक्दै चिकित्सकले आश्वस्त पार्दै भन्नुभयो, “आमा, तपाईंको छोरालाई केही दिनमा ठीक हुन्छ ।” यही आश्वासनका कारण उहाँले आजसम्म छोराको मृत्युलाई पत्याउन सक्नुभएको छैन । छोरा ठीक हुने त्यो ‘केही दिन’ कहिल्यै आएन । अन्ततः असोज १३ गते फूलपातीका दिन लच्छुमानले यो संसार सधैँका लागि छाड्नुभयो ।

साधारण लेखपढ मात्रै गर्नुभएका लच्छुमान सानै उमेरदेखि अन्याय र अत्याचारविरुद्ध असाधारण साहसका साथ उभिनुहुन्थ्यो । न्याय, समानता र परिवर्तनप्रतिको उहाँको चेतना गहिरो थियो । घरको कमजोर आर्थिक अवस्था, आम्दानीको स्थायी स्रोतको अभावपछि उहाँ आठ वर्षअघि राजधानी काठमाडौँ जानुभयो । उमेरले ९० वर्ष पार तर, नागरिकतामा ८२ वर्ष उल्लेख गरिएको आमा मानकुमारीलाई छोराले काठमाडौँ किन गएको भन्ने प्रश्नको उत्तर कहिल्यै दिनुभएन ।

सात–सात जना छोराछोरी पछि अर्थात् पन्ध्रौँ सन्तानका रूपमा जन्मनुभएका लच्छुमान परिवारको सबैभन्दा कान्छा सदस्य हुनुहुन्थ्यो । मेलापर्म र ज्यालामजदुरी गरेर घर चलाउँदै आउनुभएका लच्छुमान २०७२ सालको भूकम्पको पुनर्निर्माण कार्य सम्पन्नपछि गाउँघरमा गुम्दै गएको रोजगारी र विवाहपश्चात् थपिएको आर्थिक जिम्मेवारीले विदेशको यात्राको तयारी हुनुहुन्थ्यो । बाध्यताले विदेशको बाटो देखाए पनि मनले पनि मानिरहेको थिएन । दाजुभाइसँगको सल्लाहमा उहाँले परिवारको उज्ज्वल भविष्य र रोजगारीको खोजीमा श्रीमती र छोरीसहित काठमाडौँ पसेर ज्याला–मजदुरी गर्न थाल्नुभयो ।

निर्माण क्षेत्रमा ज्यालामजदुरी गरेर पाउने आम्दानीले घरखर्च चलाउनु उहाँको बाध्यता थियो । बुबाआमाको दुःखमा हुर्कनुभएका उहाँले जति गर्नुपर्ने दुःख आफू गरेर हुर्कंदै गरेको आफ्नो छोरी र अनि यो देशका सन्ततिले भने त्यस्तो दुःख कहिल्यै पाउन नपरोस् भन्ने चाहनुहुन्थ्यो । यही सपना पूरा गर्न पारिवारिक जिम्मेवारीको आर्थिक भारले थिचिए पनि अन्यायको विरुद्ध आवाज उठाउन समय मिल्नासाथ उहाँ यस्तै अवसरको खोजीमा लाग्नुहुन्थ्यो । जेनजी आन्दोलन उहाँको ती लक्ष्य र सपनाका लागि योगदान गर्ने अवसर बन्यो । परिवर्तनका लागि उहाँको बलिदानीमा राष्ट्रले गर्व गरेको छ ।

दैनिक ज्यालादारीबाट भएको सामान्य आम्दानीले लच्छुमानको दैनिकी त चल्थ्यो तर उहाँको मनको पीडा भने कहिल्यै स्थिर हुन सकेन । उहाँका आँखामा सपनाहरू धेरै थिए । त्यसमध्ये ती सपनाको मूल केन्द्रमा श्रीमतीको साथ र छोरीको उज्ज्वल भविष्य थियो । दुर्भाग्यवश, काठमाडौँ पसेको दुई वर्ष नपुग्दै श्रीमती छोरीसहित अर्कैसँग विवाह गरेर गइन् । त्यसपछिका दिनमा पनि लच्छुमानमा छोरीप्रतिको माया भने कहिल्यै कम भएन । वृद्ध आमाको सेवा र पालनपोषणको जिम्मेवारी पूरा गर्दै जीवनलाई नयाँ आशा र परिकल्पनामा अघि बढाउँदै उहाँले आफ्ना सम्पूर्ण दुःखहरू मौन रूपमा दैनिक ज्यालामजदुरीमा पोख्दै आउनुभएको थियो । पीडामाथि संयम र सपनामाथि विश्वास राख्दै जीवन बाँच्नुभएका लच्छुमानको जीवन आज परिवर्तनको आन्दोलनमा समर्पित एउटा बलिदान बनेको छ ।

वृद्ध आमाले लच्छुमानलाई अर्को विवाहका लागि बारम्बार आग्रह गर्दै आउनुभएको थियो । साथीभाइले पनि दबाब दिइरहेका थिए तर उहाँले ती सबै प्रस्ताव अस्वीकार गर्दै आफू, परिवार र देशमा न्याय र परिवर्तनको पक्षमा अडिग रहने निर्णय लिनुभयो । “श्रीमती त गइन्, तर छोरी त मेरो रगत हो,” भन्ने भावनाले भरिएको उहाँको मनमा छोरीलाई आफैँ हुर्काएर असल मान्छे बनाउने दृढ चाहना थियो । उहाँको त्यही अधुरो सपना पूरा गर्नुपर्ने जिम्मेवारी आएको छ । उहाँको बलिदानीले आम युवाको भावना र देशप्रतिको जिम्मेवारीलाई एक मूर्तरूप दिएको छ । परिवर्तनको पक्षमा उभिएका हजारौँ युवाको आवाजसँगै आन्दोलनबाट गठन भएको वर्तमान सरकार र सचेत युवा पुस्ताको काँधमा अहिले त्यो अधुरो सपना पूरा गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ ।

जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नेलाई सरकारले गत कात्तिक १७ मा सहिद घोषणा गर्दै परिवारलाई रु १५ लाख क्षतिपूर्ति दिने निर्णय भएको दुई महिना बित्यो । उहाँको नाममा परिवारले पाउने क्षतिपूर्ति रकम जिल्ला प्रशासन कार्यालय नुवाकोटको बैङ्क खातामा छ । उक्त रकम निकाल्न श्रीमती र छोरी पहिलो हकदार हुने कानुन छ । श्रीमती अरूसँग गए पनि क्षतिपूर्ति रकमसहित पाउने अन्य सेवासुविधामा छोरीको हक हुने कानुनी व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागार्इंले जानकारी दिनुभयो । उक्त सुविधाका लागि परिवारले छोरीको खोजी गर्न प्रहरीको सहयोगमा पुग्दा लच्छुमानको श्रीमती अर्कैसँग गएको र छोरीलाई पनि अर्कै व्यक्तिलाई बुबा बनाएर जन्मदर्तासहितका कागजात बनाएको बताइएको छ ।

सहादत प्राप्त गर्नुअघि झण्डै १९ दिनसम्म लच्छुमान राईको ट्रमा सेन्टरको सघन उपचार कक्ष (आइसियू)मा उपचार भएको थियो, जसको मुख्य खर्च सरकारले व्यहोरेको थियो । तर, अस्पताल बाहिरबाट खरिद गरिएका औषधि, परीक्षणलगायत अन्य व्यवस्थापनको खर्च जुटाउने क्रममा ऋणमाथि ऋण थपिँदै गयो । लच्छुमानका दाजु राजु राईले दुःख पोख्दै भन्नुभयो, “सरकारी उपचार बाहेकका खर्च आफैँ जुटाउनुप¥यो, भाइको उपचारका क्रममा लागेको ऋण अझै तिर्न बाँकी छ ।”

सामाजिक अभियन्ता आशिका तामाङले अन्त्येष्टिका लागि अभाव भएको खर्च टार्न थप दिनुभएको रु एक लाख नगदले उहाँहरुलाई ठूलो राहत मिलेको छ । “सहिद परिवारको एकजना सदस्यले रोजगारी पाउने भन्ने सुनेका छौँ,” लच्छुमानका अर्का दाजु चन्द्रबहादुर भन्नुहुन्छ, “परिवारका केहीले गाडी चलाएर खर्च पु¥याउँदै आएका छौँ । बाँकी खेती किसानी र ज्यालामजदुरी गर्छौं । जानेको सीप केही छैन । पढाइ कसैको छैन । राज्यले जे गरिदिए पनि हाम्रो लागि त्यो नै राम्रो हुनेछ ।”

देशमा जेनजी युवाहरुको बलिदानीबाट सुरु भएको परिवर्तनका थुप्रै आयाममध्ये आगामी फागुन २१ गतेको आमनिर्वाचन पनि एक महत्वपूर्ण हो । तर चुनावी माहोलले सहिद लच्छुमानको परिवारलाई भने छोएको छैन । उहाँको वृद्ध आमा, दाजुभाइहरु अहिले पनि कमजोर आर्थिक अवस्थाबीच जीवन गुजारिरहनुभएको छ । साहुबाट लिएको ऋण र त्यसको ब्याजको भारी बोकेर बस्नुपरेको छ । खानेपानीको चरम अभाव छ । सडक सुविधा छैन । बालबच्चालाई विद्यालय पठाउनु त परै जाओस्, जीविकोपार्जनका लागि उनीहरूलाई समेत ज्यालामजदुरीमा लगाउनुपर्ने बाध्यता रहेको लच्छुमानका दाजु चन्द्रबहादुर राईले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नो जग्गाको खेतीको आम्दानीले तीन महिना पनि पुग्दैन । बाँकी समय ज्यालामजदुरी गरेर बाँच्नुपरेको छ ।” अबको निर्वाचनका उम्मेदवारले आफ्ना कुरा बुझ्छन् कि भन्ने आशा उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह