काठमाडौं । मलेसियाको टप गार्ड्स सेक्युरिटी एण्ड कन्सल्टेन्सी एसडीएन बीएचडी मार्फत केएलसिसि टावर क्षेत्रमा सुरक्षा सेवामा खटिएका नेपाली सुरक्षा गार्डहरूले आफूहरू समस्यामा हुँदाहुँदै पनि समस्यामा नरहेको भन्न बाध्य गराएर दुतावासले अनुगमनको औपचारिकता पुरा गरेको आरोप लगाएका छन् ।

उनीहरुका अनुसार दुतावास उनीहरुको समस्या रहे-नरहेको जानकारी लिन भिजिटमा आएको थियो तर दुतावाससँगै सेक्युरिटी व्यवस्थापनमा भूमिका खेल्ने मालिकमा मान्छे समेत दुतावासका साथैमा थिए । जसको डरको कारण आफूहरुले बाध्य भएर कम्पनीमा समस्या छैन भन्न परेको उनिहरुको भनाई छ । एक श्रमिकले भने ‘दुतावास एक्लै आएको थियो भने हाम्रो जे समस्या हो, खुलेर भन्थ्यौं होला तर दुतावास आउँदा साथैमा मालिकका मान्छे ल्याउँछन् भने कसरी खुल्छ समस्याको कुरा ? अनुगमनमा आउनेहरुलाई नै हामीले विश्वास गर्न सक्ने अवस्था छैन ।’ उनले अगाडी भने ‘कति कम्पनीमा सेक्युरिटी गार्डहरु कुटिएका छन् । हामीलाई पनि त्यस्तै डर हुन्छ । दुतावासकै मान्छे आउँदा पनि आफ्नो मान्छे आयो जस्तो लाग्दैन ।’
नेपालबाट थप सेक्युरिटी गार्ड लैजान आवेदन परेपछि मलेसियास्थित दुतावासका कर्मचारीहरु कम्पनी भिजिटको नाममा जाने गरेका छन् । यस्तो अवस्थामा कम्पनिको वास्तविक समस्या पहिचान भन्दा पनि औपचारिकता मात्र पुरा गर्ने गरिएको, सेक्युरिटी कम्पनीका स्वार्थ केन्द्रित मान्छेहरुकै योजना अनुसार दुतावासका कर्मचारीहरुले भूमिका खेल्ने गरिएको पाइएको छ ।
यसै सम्बन्धमा सम्बन्धित कम्पनीमा कार्यरत कामदारहरुले आफ्नो वास्तविक समस्या अर्कै रहेको गुनाशो गरेका छन् । त्यहाँ कार्यरत श्रमिकहरूका अनुसार उनीहरूलाई दैनिक १२ घण्टा र महिनामा ३० दिन नै काममा लगाइएको, नियमित बिदा नदिइएको, कामअनुसार तलब नपाएको, बिरामी हुँदा समेत छुट्टी नदिइएको र पछिल्लो समय ड्युटीका क्रममा शौचालय जानसमेत रोक लगाइएको छ ।
उक्त कम्पनीमा करिब ६० जना नेपाली सुरक्षा गार्ड कार्यरत रहेको श्रमिकहरूले बताएका छन् । “पहिला शौचालय जाँदा केही समयका लागि रिप्लेस मान्छे पठाउँथे, अहिले ट्वाइलेट जान पनि मनाही गरिएको छ,” एक श्रमिकले गुनासो गरे। उनका अनुसार शौचालयमा भीड हुने भएकाले गएर फर्कन १० देखि १५ मिनेटसम्म लाग्ने गरेको छ ।
श्रमिकहरूले मासिक तलबसमेत विभिन्न शीर्षकमा कटौती गरी २,१४६ मलेसियन रिंगिट मात्रै नगदमा दिने गरिएको बताएका छन् । कम्पनीले बैंक कार्ड नबनाइदिएको र तलब हातमै नगद दिने गरिएको उनीहरूको गुनासो छ । ड्युटीका क्रममा विभिन्न बहानामा तलबबाट रकम काट्ने गरिएकोसमेत उनीहरूले बताएका छन् ।
श्रमिकहरूले यसबारे मलेसियास्थित नेपाली दूतावासमा समेत गुनासो गरेका थिए । उनीहरूका अनुसार दूतावाससँग सम्बन्धित व्यक्तिले आएर फाराम भराएपछि आफूहरूले दिएको विवरण कम्पनीसम्म पुगेको र त्यसपछि “कसले कम्प्लेन गरेको हो?” भन्दै कम्पनीका व्यक्तिहरूले हप्काउने तथा धम्क्याउने गरेको आरोप छ ।
त्यसो त एक श्रमिकले भनेका छन् ‘हाम्रो समस्याको विषयमा दुई बर्षदेखि दुतावास जानाकार छ तर समाधान छैन ।’ म्यानपावरलाई डिमाण्ड पास गर्ने बेला आएका झैं गर्छन् तर हाम्रो कुरा भन्दा बढी कम्पनीकै कुरा सुन्छन् । समाधान गर्न सक्दैनन् ।’
कम्पनीका केही सुपरभाइजरको मिलेमतोमा समेत आफूहरू थप पीडित हुने गरेको श्रमिकहरूको आरोप छ । आफ्नो समस्या राख्ने फारममा नाम लेख्न पर्ने बाध्यताको कारण पनि आफूहरुले वास्तविक समस्या लेख्न डराउनु परेको गुनाशो श्रमिकहरुको छ । त्यसो त केहि कामदारले आफ्नो वास्तविक समस्या लेखेपनि समाधान नहुने उल्टो उजुरी दिने कोहो भन्दै धम्क्याउने गुनाशो छ । पीडित श्रमिकहरूले नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित मलेसियाली निकायसँग आफ्नो ड्युटी समय, तलब, बिदा, तलब कटौती र कार्यस्थलको अवस्थाबारे छानबिन गरिदिन माग गरेका छन् ।
साथै उनीहरूले समस्याग्रस्त यस्तो कम्पनीमा आगामी दिनमा नेपालबाट थप कामदार पठाउने विषयमा समेत सम्बन्धित निकायले पुनर्विचार गर्नुपर्ने बताएका छन् ।