दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती

Posted on: 17 Oct, 2023

असोज ३०, काठमाडौँ | दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध पदार्थमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिने भएको छ । उत्पादकसँग खरिद गरेको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएको भन्दै संस्थानबाट उत्पादन भएको दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती गरिएको जनाएको छ । 

सोमबार कृषि तथा पशुपन्छीमन्त्री वेदुराम भुसालले किसानसँग खरिद गरिएको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएपछि मूल्य घटाएको स्पष्ट पारे । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले संस्थानका उत्पादनमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिएको उल्लेख गरे । 

अब संस्थानका उत्पादनमा दुधमा प्रतिपाउच दुई रुपियाँ छुट भएको छ । ९७ रुपियाँमा साबिक मूल्य कायम भएकामा अब ९५ रुपियाँ लिटरमा उपभोक्ताले दुध खरिद गर्न सक्ने छन् । 

दही एक लिटरमा २० रुपियाँको छुट दिइएको छ । अब डिडिसीको दही ९० रुपियाँ प्रतिलिटरमा उपभोक्ताले पाउने भएका छन् । पनिर एक किलोमा ५० रुपियाँ, नौनी र घिउमा समान प्रतिकेजी एक सय रुपियाँको छुट दिइने भएको छ । मिठाईमा प्रतिप्याकेट १० रुपियाँ, याक नौनीमा प्रतिकेजी १५, याक चिज एक किलोमा एक सय रुपियाँ छुट दिइने भएको छ । 

सबैभन्दा धेरै छुट टेवल बटर प्रतिकेजीमा दुई सय रुपियाँ छुट दिइएको छ । फ्रेस मिल्कमा एक लिटर २५ रुपियाँ छुट दिइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!