इरेजरमा मापदण्डभन्दा २५६ गुणा बढी हानिकारक रसायन

Posted on: 09 Nov, 2023

कार्तिक २३, काठमाडौँ । बालबालिकाले प्रयोग गर्ने इरेजरमा हानिकारक रसायन फ्यालेटको मात्रा अत्यधिक रहेको देखिएको छ। जनस्वास्थ्य तथा वातावरण केन्द्रले वैशाखमा गरेको ‘इरेजरमा फ्यालेट’ विषयक अध्ययनले विभिन्न पुस्तक पसल, स्टेसनरी तथा डिपार्टमेन्टल स्टोरमा बिक्रीका लागि राखिएका इरेजर परीक्षण गर्दा हानिकारक रसायन पाइएको हो।

अनुसन्धानका लागि ५३ वटा नमुनामध्येमा ३८ प्रतिशत अर्थात् २० वटामा यो रसायन फेला परेको छ। नेपालबाट संकलन भएका नमुनाहरू कोरियन प्रविधिको प्रयोशालामा परीक्षण गरिएको थियो।

यी ठाउँबाट लिइएका इरेजर नै स्कुले बालबालिकाले प्रयोग गर्ने भएकाले यसको असर बालबालिकाको स्वास्थ्यमा पर्ने अध्ययनमा सहभागी जनस्वास्थ्य तथा वातावरण विकास केन्द्रका निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित साहले बताए।


पहिलो चरणमा इरेजरमा फ्यालेटका मात्राको मात्र अध्ययन भएको तर यसको असर बालबालिकामा के कति परेको छ भन्ने विषयमा नेपालमा छु्ट्टै अध्ययन नभएको उनले बताए।

 तर यो अध्ययनसँगै अध्ययन भएका देशहरू कोरिया, भारतलगायतमा बालबालिकाको स्वास्थ्यमा विभिन्न असर देखापरेको उनले बताए। यो आधारमा पनि नेपालका बालबालिकामा फ्यालेटको असर परेको उनको दाबी छ।

यो रसायनले बालबालिकामा हर्मोन उत्पादन गर्ने ग्रन्थीको प्रक्रिया बिगार्छ। फ्यालेटले यो हर्मोन उत्पादन गर्ने ग्रन्थीमा गडबडी गर्ने हुनाले बालबालिकामा मोटोपना बढ्ने, चिडचिडाहट हुने, शारीरिक तथा मानसिक विकासमा बाधा पर्ने र कतिपयमा क्यान्सरसमेत हुनसक्ने साह बताउँछन्।

प्रतिवेदनका अनुसार यो रसायनले स्नायु प्रणाली, प्रजनन स्वास्थ्यमा असर गर्छ। यसका साथै शरीरको प्रतिरक्षामा क्षमतामा समेत असर गरी बौद्धिक क्षमतामा समेत प्रभाव पार्छ। फ्यालेटले महिलाको तुलनामा पुरुषमा बढी असर गर्छ। बढी मात्रामा बालबालिकालाई हानी पुर्‍याउँछ।

फ्यालेटको असर पछि गएर यौनजन्य हर्मोन उत्पादनमा बाधा पर्ने, स्तन, प्रोटेस्ट र अण्डकोषको क्यान्सर हुन सक्छ। महिलामा भने डिम्बाशयमा मासु पलाउने, महिनावारी अनियमित हुने, थाइरोइड, दमलगायतका रोग हुन सक्छ।

साना बालबालिकाले इरेजर लेखेको मेट्न मात्र नभई टोक्ने, चपाउने र कतिपय अवस्थामा निल्नेसमेत गर्ने हुनाले बच्चामा बढी प्रभाव पर्ने अध्ययनले औंल्याएको छ। इरेजरमा हुने फ्यालेटको अध्ययन भइसकेका देशहरू कोरिया, भारत लगायतका देशमा असर पाइएको अध्ययनले देखाइसकेको छ।

अध्ययनका अनुसार फ्यालेट रबरका सामग्री र रबरजस्तै अन्य उत्पादन नरम तथा टिकाउ बनाउनका लागि प्रयोग गरिने रसायन हो। यसलाई प्लास्टिजर्स पनि भनिन्छ। यो अध्ययन नेपालको साथै यसको विषयमा नौ वटा एसियाली मुलुकका चार सय इरेजरको नमुना परीक्षण गरिएको थियो। कोरियास्थित इन्स्टिच्युट अफ अकुपेसनल एण्ड इन्भारोमेन्टल हेल्थ इन कोरिया र जनस्वास्थ्य तथा वातावरण विकास केन्द्रले गरेका थिए। मापदण्ड अनुसार ०.१ पिएिम हुनुपर्नेमा ५४.५ प्रतिशत अर्थात् दुई सय १८ वटामा भएको र ४५.१ फ्यालेट रसायन नभएको पाइएको थियो।

नेपालमा पाइएको फ्यालेट कोरिया, भारत, चीन, जापान र मलेसियामा पाइएका इरेजरमाभन्दा अत्यधिक पाइएको प्रतिवदेनमा उल्लेख छ।

प्रतिवेदनअनुसार ०.१ पिपिएमभन्दा बढी यो रसायनको मात्रा नहुनुपर्नेमा २५६१२१.० एमजी/केजी पाइएको छ। जुन अन्य मापदण्डभन्दा दुई सय ५६ गुणा बढी हो।

यति धेरै हानिकारक रसायनसहित इरेजर तथा अन्य सामग्री उत्पादन हुनु नेपाली उपभोक्ता र उद्योग दुवैका लागि राम्रो नभएको प्रतिवेदनमा चेतावनी दिइएको छ। यसको साथै यस विषयमा उत्पादक कम्पनी, जनचेतना बढाउने र संस्थागत नियमन हुनुपर्नेमा पनि जोड  दिइएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!