मङ्सिर १५, काठमाडौँ । २३ वर्षीया मीरा कटुवाललाई देख्नेहरूको आँखामा आँसु छचल्किन्छ । आफ्नो अवस्था देखेर अरूले आँसु पुछेको देख्दा उनी आँसु झार्दिनन् । शिक्षण अस्पतालको शड्ढयाबाट सम्झाउँदै भन्छिन्, ‘खुट्टा गुमेको हो । मस्तिष्क केही भएको छैन । नरुनुस् ।'
आफूलाई हेर्न आउने सर्वसाधारणसामु ‘बोल्ड' देखिए पनि प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बिहान आफूलाई भेट्न आउँदा भने कटुवाल भावुक भइन् । उदयपुरको कटारीमा भएको बम विस्फोटनमा उनको बायाँ खुट्टा गुमेको छ, तैपनि हरेस खाएकी छैनन् ।
बैसाखीको सहारामा राजनीतिक मैदानमा देखिने कसम खाएकी छन् । उनी भन्छिन, ‘जनताको सेवा गर्न राजनीतिको विकल्प छैन ।' शिक्षण अस्पतालको अर्थोपेडिक वार्डमा भर्ना उनको बायाँ खुट्टा काटिएको छ ।
बमको छर्राले घाउ बनाएको अर्को खुट्टामा पोलेको अनुभूति भइरहन्छ । दायाँ खुट्टाको पनि छाला उप्किएको ठाउँमा दुखिरहन्छ । त्यही दुखिरहेको छोरीको घाउमा मलम लगाउन र स्याहार्न उनकी आमा आउँदै छिन् ।
उदयपुर क्षेत्र नं २ का कांग्रेस उम्मेदवार नारायण कार्की र कटुवालसहित सात जना चढेको बोलेरो गाडीमा बुधबार बिहान अज्ञात व्यक्तिले गराएको बम विस्फोटनमा पर्यो । उनीहरू नेपालटारस्थित चुनावी सभा सम्बोधन गर्न जाँदै थिए ।
बीच बाटोमै बम विस्फोटले घाइते भए । गाडीचालक राजन कार्कीको छेउमा बसेकी कटुवालको बायाँ खुट्टा र उम्मेदवार कार्कीको दायाँ खुट्टाको बीचमा बम पड्किएको थियो । ‘विस्फोटलगत्तै ड्राइभरमाथि घोप्टिन पुगेँछु', कटवालले घटना सम्झँदै भनिन्, ‘आफू जन्मे÷हुर्केको ठाउँमा चुनावी सभा भएकाले गएकी थिएँ । विस्फोटमा मार्न खोजेका रहेछन् ।'
उनी उदय श्री बहुमुखी क्याम्पसको नेविसंघ सभापति हुन् । नौ कक्षादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी स्थानीय तहमा लोकप्रिय थिइन् । उदयपुरगढी गाउँपालिका—१ मा घर भए पनि उनी कटारीमा डेरा लिएर बस्थिन् ।
बहिनी र भाइ काठमाडौंमा अध्ययनरत भए पनि उनी स्थानीय गाउँघरमै सक्रिय थिइन् । बीएड गरेकी कटुवाल कार्यालय सचिवका रूपमा कांग्रेस उम्मेदवार कार्कीको प्रचारप्रसारमा सक्रिय थिइन् । गढी गाउँपालिकाको उपप्रमुखमा उनको नाम सिफारिस गरिएको थियो । तर, उमेर सानो भएको भन्दै अर्कैलाई टिकट दिइयो ।
खुट्टा काट्नुपर्दा सुरुमा त उनलाई मरेकै भए पनि हुन्थ्यो होला भन्ने लाग्यो । विस्तारै मन सम्हाल्दै लगिन् । उनी भन्छिन्, ‘एउटा खुट्टा नभएर के भयो त ? मस्तिष्क त केही भएको छैन । गन्तव्यमा हिँडिसकेको व्यक्ति बीच बाटोमा पुगेर हार खानु हुँदैन भन्ने भावना आयो ।' उनको शरीरमा रगतको मात्रा न्यून भएकाले चिकित्सकले दुई पिन्ट रगत चढाइसकेका छन् ।
घटनास्थलमै उनलाई आफ्नो खुट्टा जोडिन सम्भव छैन, काटेर भए पनि बाँच्नुपर्छ भन्ने लागेको थियो र हेलिकोप्टरबाट तत्कालै शिक्षण अस्पताल ल्याइएको थियो । उनी आफ्नो खुट्टाभन्दा पनि ‘बाबा'ले सम्बोधन गर्ने कांग्रेस उम्मेदवार कार्कीको अवस्थाबारे चिन्तित थिइन् । आफ्नो र उहाँको पनि चिन्ताजनक अवस्थाले बेहोस भएछुँ', उनले एक दिन अगाडिको घटना स्मरण गरिन् ।
कांग्रेस उम्मेदवार कार्कीको अनुहार चिनिँदैन, हातमा प्लास्टर गरिएको छ । भेट्न आएका शुभचिन्तक बिहीबार सुँक्क-सुँक्क गर्दै थिए, सम्झाउन हम्मे-हम्मे परेको थियो । उनको दायाँ खुट्टा नजिकै बम पड्किएको थियो । छर्राले खुट्टा, हात र अनुहारमा चोट लागेको छ । उनलाई चोटभन्दा बढी भोटको चिन्ता छ । उनी भन्छन्, ‘पहाडमा घरदैलो गर्दा हामी उत्साहित थियौं । अरू आत्तिएका थिए ।'
‘जनतासँग हुन्छु, जनताबीच पुग्छु भन्ने खालको मान्छे हुँ', अस्पतालको शड्ढयामा भेट्न आएका शुभेच्छुकसँग उनले भने, ‘खुट्टाको अप्रेसन भयो । अब चुनावी सभामा जान सक्नुहुन्न चुप लागेर बस्नुस् भनेर डा.साबको सल्लाह छ तर मन मान्दैन ।' ०६४ सालको निर्वाचनमा हारेका उनले ०७० सालको चुनावमा भने जितेका थिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।