२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै यसरी हुन्छ मानव तस्करी

१६ मंसिर २०७४, शनिबार ०२:५७

मंसिर १६, काठमाडौँ । पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । 

व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेका थिए । आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् ।

तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । उनले धेरै आग्रह गरे, तर कर्मचारीले मानेनन् । परिवारसँग बिदा भएर विमानस्थल पुगेका उनी मध्यराति निराश भएर फर्किए । त्यसको दुई दिनपछि ५ मंसिरमा फेरि विमानस्थल पुगे । तर, यसपटक अचम्म भयो ।

एयरलाइन्सको काउन्टरमै अध्यागमनका कर्मचारी उनलाई स्वागत गर्न आइपुगे । केही प्रश्नै नसोधी उनको पासपोर्ट (पासपोर्ट नम्बर ०९४०२७७५) मा डिपार्चरको छाप लाग्यो । 

दुई दिनको बीचमा अध्यागमन कर्मचारीमा उनले चामत्कारिक परिवर्तन अनुभव गरे । त्यत्तिकै विमानस्थलका कर्मचारीमा त्यस्तो परिवर्तन आएको होइन, यसको पछाडि ७० हजार रुपैयाँले काम गरेको थियो । 

युएई जानैपर्ने काम भएकाले उनले ७० हजार रुपैयाँ घुस खुवाएर सेटिङ मिलाएका थिए । त्यही सेटिङले कर्मचारीमा त्यस्तो चामत्कारिक परिवर्तन ल्याएको हो ।

ट्राभल एजेन्सीमार्फत सेटिङ

विमानस्थलबाट फर्किएपछि बस्नेतले एयरपोर्ट कर्मचारीबाट पाएको अन्यायबारे आफन्तलाई सुनाए । उनका एक आफन्तको दुबईमा रहेका ट्राभल एजेन्सीका सञ्चालकसँग चिनजान थियो । सो ट्राभल एजेन्सीका सञ्चालकले कुनै चिन्ता लिनु नपर्ने बताए । 

त्यसका लागि ७० हजार रुपैयाँ लिए । गोंगबु बसपार्कमा रहेको एक ट्राभल एजेन्सीमा पठाए । ट्राभल एजेन्सीका सञ्चालकले कुनै समस्याविनै विमानस्थलबाट उडाइदिने आश्वासन दिए ।

ट्राभल एजेन्सी सञ्चालकको आश्वासनअनुसार बस्नेत ५ मंसिर दिउँसो १ बजे विमानस्थल पुगेका थिए । ३ बजे उडान थियो । विमानस्थलभित्र छिरेलगत्तै बोर्डिङ पास लिनुअघि उनले तिनै ट्राभल एजेन्सीका सञ्चालकलाई फोन गरे । फोन गरेको केही मिनेटमै अध्यागमनका कर्मचारी फ्लाई दुबईको काउन्टर अगाडि आइपुगे ।

माथि अध्यागमनको काउन्टरमा लगेर पासपोर्टमा छाप हानिदिए । भिजिट भिसामा विदेश जान चाहिने दुईतर्फी टिकट, एक हजार अमेरिकी डलर र होटेल बुकिङजस्ता आवश्यक कागजपत्रसमेत चेकजाँच गरेनन् । 

जब कि दुई दिनअघि तिनै कर्मचारीले सबै कागजपत्र हुँदा पनि जान दिएका थिएनन् । बस्नेतजस्तै दर्जनौँ व्यक्ति त्यसैगरी विमानस्थलबाट ‘सेटिङ’मा उड्ने गर्दछन् । 

त्यसमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि जाने हुन्छन् । गत ५ मंसिरमा गोंगबुको त्यही ट्राभलले तीनजनालाई कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा विदेश उडाएको थियो ।

ट्राभल एजेन्सीको सेटिङ

दुबईमा नेपालीका दर्जनौँ ट्राभल एजेन्सी छन् । त्यहाँ ट्राभल एजेन्सी खोल्न निकै गाह्रो छ । तैपनि ट्राभल एजेन्सी बढ्नुको कारण टिकेटिङको बिजनेस होइन, मानव तस्करी हो । उनीहरूले उताबाट सबै कागजपत्र नेपालमा पठाइदिन्छन्, नेपालमा रहेका उनीहरूका साझेदार ट्राभल एजेन्सी सञ्चालकले सोही आधारमा अध्यागमनका कर्मचारीलाई सेटिङ मिलाएर मानव तस्करी गर्दै आएका छन् ।

राजधानीका दर्जनौँ ट्राभल एजेन्सीको मुख्य काम नै मानव तस्करी भएको विमानस्थलका अधिकारीहरू बताउँछन् । कर्मचारीहरूले सीधै घुस नलिने भएकाले ट्राभल एजेन्सीहरूको सेटिङमा उनीहरूले मानव तस्करी गर्दै आएका छन् । 

भिजिट भिसामा मानव तस्करी गर्ने दर्जनौँ समूह सक्रिय रहेको स्रोत बताउँछ । खाडी र मध्यपूर्वी देशहरूमा महिलाको समेत विमानस्थलबाटै तस्करी भइरहेको छ । आकर्षक जागिरको सपना बोकेर जानेहरू कतिपय अलपत्र पर्ने गरेका छन्, केही बेचिने गरेका छन् ।

विमानस्थलका कर्मचारी निगरानीमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव होमनाथ थपलिया पनि विमानस्थलमा केही कर्मचारीले सेटिङमा मानव तस्करी गरिरहेको सूचना आएपछि आफूले निगरानी सुरु गरेको बताउँछन् । ‘सेटिङ हुन्छ भन्ने सुनेपछि बिहीबार म आफैँ डेस्कमा बसेर हेरेँ,’ उनले भने, ‘हामीले अलि कडाइ सुरु गरेका छाै ।’ कानुनभन्दा पनि अनुहार हेरेर आफूहरूले निर्णय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘भिजिट भिसामा जान नपाइने होइन, तर हामीले अनुहार हेरेर नै निर्णय गर्नुपर्ने अवस्था छ,’ उनले भने । भूपाल बस्नेतलाई त्यसरी पैसा असुलिएको घटनाको छानबिन गर्ने थपलियाले बताए । 

अध्यागमन अधिकारीले हेर्दा राम्रो लवाइखवाई भएको व्यक्तिलाई भिजिट भिसामा जान दिने अरूलाई रोक्ने गर्दछन् । सेटिङमा जानेहरू भने सबैलाई पठाइने गरेको छ ।

स्रोतका अनुसार एकपटक फर्काइएकाको रेकर्ड अध्यागमनमा हुन्छ । तैपनि त्यो रेकर्ड नहेरी अध्यागमनका कर्मचारीले एकपटक फर्काइएकालाई पनि सेटिङमा विदेश पठाउने गरेका छन् । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले मानव तस्करीलगायत गलत गतिविधि रोक्न पटकपटक निर्देशन दिँदै आएको दाबी गरे ।

प्रहरी हटाएपछि बढ्यो मानव तस्करी

भिजिट भिसामा मानव तस्करी बढेपछि तीन वर्षअघि गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेको कागजपत्र सुरुमा प्रहरीले चेकजाँच गर्र्ने प्रावधान लागू गरेको थियो । तर, गत वर्षदेखि प्रहरीलाई सो जिम्मेवारीबाट हटाइएको छ । 

‘दुवै निकायलाई जिम्मेवारी दिएको भए यस्तो संस्थागत मानव तस्करी हुने थिएन,’ विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘दुवैतिर सेटिङ मिलाउन गाह्रो थियो, तर अहिले अध्यागमनमा घुस र मानव तस्करी भयावह भएको छ ।’ 

स्रोतका अनुसार अनुसन्धान विभागले गृह मन्त्रालयलाई दिएको प्रतिवेदनमा प्रतिव्यक्ति २० हजारदेखि एक लाखसम्म लेनदेन हुने र अध्यागमनका उच्च तहका कर्मचारीकै मिलेमतो रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा