१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किसानलाई गाई-भैँसी सुत्केरी भत्ता, कसरी पाइन्छ ?

२० मंसिर २०७४, बुधबार ०२:०७

मंसिर २०, काठमाडौं | सरकारले गत वर्ष र यो वर्ष गरी गाई भैँसीलाई सुत्केरी भत्ताबापत सवा करोड रुपैयाँ वितरण गरेको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रमका लागि पशुसेवा मन्त्रालयमातहतको पशु उत्पादन निर्देशनालयले यो वर्ष ४० जिल्लाका ४ हजार किसानलाई गाई–भैँसी सुत्केरी भत्ताबापत १ करोड रुपैयाँ स्थानीय निकायलाई हस्तान्तरण गरेको हो । 

गत आर्थिक वर्ष २०७३-७४ मा किसानले गाई–भैंसी सुत्केरी भत्ताबापत २३ लाख रुपैयाँ पाएका थिए। पशु उत्पादन निर्देशनालयले गत वर्ष १० जिल्लाका १ हजार किसानलाई भत्ता दिने लक्ष्य लिएकोमा त्यसभन्दा केही कमले भत्ता पाएका हुन्। यद्यपि, ९ सय २१ ले किसानले मात्र भत्ताका लागि आवेदन दिएको निर्देशनालयका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए। गत वर्ष इलाम, उदयपुर, ललितपुर, नुवाकोट, पर्वत, स्याङ्जा, प्युठान, सुर्खेत, डडेल्धुरा र बैतडीमा कार्यक्रम सञ्चालन भएको थियो। ‘प्रत्येक जिल्लामा १ सय किसानका दरले १ हजारलाई भत्ता वितरण गर्ने लक्ष्य थियो,’ ढकालले भने, ‘तर, त्यसभन्दा थोरैको आवेदन परेकाले सबैले गाई–भैँसी स्याहार्न भत्ता लगेका छन्।’

सरकारले गत वर्षदेखि सुत्केरी गाई–भैँसी स्याहार्ने किसानलाई २ हजार ५ सय रुपैयाँ दिन थालेको हो। गोठमा गर्भाधान भएको वा हुन लागेका गाई–भैँसी पाल्ने किसानले भत्ता लिन सम्बन्धित स्थानीय निकायमा जानकारी दिनुपर्ने निर्देशनालयका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए। ‘सुत्केरी गाई–भैँसी स्याहार्न किसानलाई सजिलो होस् भन्ने हिसाबले भत्ता वितरण थालिएको हो,’ उनले भने।

घरमा रहेको गाई–भैँसी गर्भाधान भएपछि किसानले सम्बन्धित स्थानीय निकायमा गएर प्रोत्साहन भत्ताका लागि आवेदन दिनुपर्छ। स्थानीय निकायमा रहेको मूल्यांकन समितिले पहिला आवेदन दिने किसानलाई पहिलो प्राथमिकतामा राखेर अनुदान वितरण गर्ने प्रावधान छ। तर, प्रत्येक स्थानीय तहमा निश्चित संख्यामा मात्रै अनुदान दिने गरी कोटा तोकिएको छ। त्यसैले, एउटा स्थानीय तहभित्र पर्नै सबै किसानले आफ्नो घरमा सुत्केरी हुने गाई–भैँसी स्याहार्न भत्ता नपाउन सक्छन्। ‘जसले छिटो नाम टिपायो, उसैले आफ्नो घरमा रहेको गाई–भैँसी सुत्केरी हुनासाथ भत्ता पाउने सम्भावना बढी हुन्छ,’ ढकालले भने। किसानले गाई–भैँसी ब्याएपछि भत्ता पाउन प्रमाणसहित स्थानीय निकायमा जानकारी गराउनुपर्छ। त्यसपछि, मूल्यांकन समितिले एकमुष्ट २ हजार ५ सय रुपैयाँ सुत्केरी गाई–भैँसी स्याहार्न किसानलाई भत्ता उपलब्ध गराउँछ। एउटा स्थानीय तहमा तोकिएको कोटाभन्दा कम आवेदन परेको खण्डमा र मूल्यांकन समितिले उचित ठह¥याएमा एउटै किसानको एक वर्षभित्र एउटाभन्दा बढी गाई–भैँसी ब्याएको प्रमाणका आधारमा भत्ता लिन सक्छन्।

यो वर्ष पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, उदयपुर, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, ललितपुर, धादिङ, मकवानपुर, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, गोरखा, लमजुङ, अर्घाखाँची, सल्यान, रुकुम, रोल्पा, प्युठान, गुल्मी, पाल्पा, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोट, बैतडी, डडेल्धुरा, डोटी र बझाङका साना किसानलाई सुत्केरी भत्ताका लागि बजेट विनियोजन भएको छ। यी जिल्लाका १ सय ८२ स्थानीय तहमा भत्ता दिने गरी बजेट विनियोजन भएको हो। – नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण