किन रोकियो सस्तोमा इन्टरनेट ल्याउने उद्देश्यले समुद्रमा आफ्नै अप्टिकल फाइबर बिच्छ्याउने परियोजना ?

Posted on: 21 Feb, 2022

फागुन ९, काठमाडौँ । सस्तोमा इन्टरनेट ल्याउने उद्देश्यका साथ सरकारले समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याउने गरी अघि बढाएको परियोजना रोकिएको छ ।

भारत सरकारसँग हुनुपर्ने समन्वयको काम हुन नसक्दा प्रक्रिया अलमलमा परेको हो । नेपाललाई समुन्द्रसम्म सिधै जोडिनका लागि भारतसँग भर पर्नुपर्ने बाध्यता छ । त्यसका लागि दुई देशबीचमा आवश्यक समन्वय हुनुपर्ने हुन्छ ।

तर, अध्ययनका क्रममा आवश्यक समन्वय नहुँदा प्रक्रिया नै अलमलमा परेको प्राधिकरणले जनाएको छ । यसअघि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याउने परियोजनाका लागि चालू आर्थिक वर्ष २०७८/०७९ मा ३० करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

सस्तोमा इन्टरनेट ब्याण्डविथ भित्र्याउने उद्देश्यका साथ नियामकले अघि बढाएको यो परियोजना अन्तर्गत अध्ययन प्रक्रिया अघि बढेको भएपनि त्यो प्रभावकारी हुन सकेको छैन ।

अध्ययनकै क्रममा भारत सरकारसँग आवश्यक समन्वय हुन नसक्दा अध्ययन प्रतिवेदन नै प्रभावकारी नभएको प्राधिकरण स्रोतले जनाएको छ । विशेषगरी समुद्री सतहसम्म नेपालको आफ्नै अप्टिकल फाइबर पहुँच स्थापित हुने र त्यसबाट आयात हुने इन्टरनेट ब्याण्डविथ सुलभ रुपमा प्राप्त हुने अपेक्षा गरिएको थियो ।

बजेटमा यही पुससम्म टीओआर तयार पारी बोलपत्र आह्वान गर्ने कार्ययोजना प्राधिकरणले प्रस्तुत गरेको भएपनि त्यसमा कुनै उपलब्धि हुन सकेको छैन ।

यसअघि गएको कात्तिक महिनामा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आवाको पहिलो त्रैमासिक समिक्षाको क्रममा प्राधिकरणलाई यो परियोजना उच्च प्राथामिकतामा राख्दै तत्काल प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिइएको थियो ।

सोही अनुरूप भएको अध्ययनको क्रममा भारत सरकारबाट समन्वय नभएको प्राधिकरणले जनाएको छ । हुन त यो कार्यक्रम लामो समय देखी यसरी नै अल्झँदै आएको छ । यस अघिका वार्षिक कार्यक्रममा समेत यो कार्यक्रम समेटिने गरेको थियो । तर कार्यान्वयनमा भने अहिलेसम्म आउन सकेको छैन ।

विश्व दूरसञ्चार संघ (आईटीयू) को नीति अनुसार नजिकको समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर पहुँच बनाउन पाउनु नेपालको अधिकारको विषय समेत हो ।

तर यस किसिमको पहुँच बन्न नसक्दा भारत र चीनमा रहेका क्यारियर मार्फत नेपालका नेटवर्क सेवा प्रदायकले महंगोमा इन्टरनेट ब्याण्डविथ खरिद गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा नेपाली प्रयोगकर्ताले प्राप्त गर्ने इन्टरनेट समेत महँगिन पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!