भिजिट भिसामा यूएईस्थित दूतावासको संलग्नता भन्दै स्टाटस लेखेको अभियोगमा पाण्डेलाई तीन महिना सजाय

Posted on: 03 Mar, 2022

फागुन १९, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत युएईस्थित नेपाली दूतावासको आलोचना गरेकै आरोपमा पत्रकार उमाकान्त पाण्डेले तीन महिना जेल सजाय र झन्डै आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। 

उनलाई दुबई अदालतले मंगलबार तीन महिना जेल सजाय हुने फैसला गरेको हो । दुबई बसेर नेपाली पत्रकारिता गर्दै आएका पाण्डेलाई सजाय भुक्तानपछि युएई सरकारले देश निष्कासन (डिपोट) गर्नेछ । उनका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक बन्द गरिनेछ। पाण्डेले जरिवानाबापत २० हजार दिराम (सात लाख ९९ हजार चार सय रुपैयाँ) जरिना तिर्नुपर्नेछ। 

यूएईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ ।

गत जनवरी  ७ अर्थात् पुस २३ गते पाण्डेले नेपालमै हुँदा सामाजिक सञ्जालमा भिजिट भिसामा यूएईस्थित नेपाली दूतावास संलग्नता रहेको भन्ने आशयमा स्टाटस लेखेका थिए। त्यसलगत्तै रुष्ट दूतावासका कर्मचारीले स्थानीय निकायमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई प्रहरीले गत ३ फागुनमा पक्राउ गरेको थियो । लगत्तै साइबर क्राइमको मुद्दा लगाई अबुधावीस्थित अनुसन्धानको लागि अल वाथ्बा जेलमा राखिएको थियो ।

अन्ततः  सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर्याएर यूएई अदालतले यस्तो फैसला सुनाएको हो । पाण्डे केही वर्षदेखि स–परिवार यूएई बस्दै आएका छन् । उनको श्रीमती र एक छोरा छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!