यी हुन् सर्वाधिक रुचाइएको ४५ लाख मुनिका गाडी, कति डाउनपेमेन्टमा खरिद गर्न सकिन्छ?

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौं | दसैं-तिहार नजिकिएसँगै बजारमा निजी सवारी साधन खरिद गर्नेको जमात बढ्दो छ। विशेष चाडपर्वको अवसरमा सवारी साधन खरिद गर्ने हुँदा बजारमा गाडीको माग बढ्ने व्यापरीहरू बताउँछन्। 


तर सरकारले गत वैशाख मध्यदेखि कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्धका कारण कम्पनीहरूले माग बमोजिम गाडी बजारमा पुर्‍याउन नसकेको बताउँछन्।

त्यस्तै बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव भएसँगै अटो-कर्जा जारी हुन छोडेको छ। यसले गर्दा ग्राहकहरूले समयमै कर्जा पाइरहेका छैनन्। यसले पनि गाडीको बिक्रीमा कमि आएको हो।

नेपाली बजारमा थुप्रै ब्रान्डका चार पांग्रे उपलब्ध छन्। तीमध्ये बजारमा रुचाइएको ४५ लाख मुनिका केही मोडल यस प्रकारको छः 

१. टाटा नेक्सनः 

आफ्नो प्रदर्शनीकै कारण टाटा मोटर्सको नेक्सनले राम्रो बजार पाएको छ। नेक्सनले ग्लोबल एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएको छ। 

१,१९९ सिसी डिस्प्लेसमेन्ट भएको नेक्सनको पेट्रोल इन्जिन विकल्पमा ३ सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन जडित छ। जसले ५,५०० आरपिएममा १२० पिएस पावर र १,७५०-४,००० आरपिएममा १७० एनएम टर्क जेनेरेट गर्छ। उस्तै डिजेल विकल्पमा उपलब्ध नेक्सनमा १,४९७ सिसी डिस्प्लेसमेन्ट, ४ सिलिन्डर छ। जसले ४,००० आरपिएममा ११० पिएस पावर १,५००-२,७५० आरपिएममा २६० एनएम टर्क जेनेरेट गर्छ। 

कम्पनीले नेक्सनको सुरुवाती बजार मूल्य ४० लाख ९९ हजार रूपैयाँदेखि तोकेको छ। ग्राहकहरूले यो व्यक्तिगत प्रयोगको लागि ३० प्रतिशत डाउनपेमेन्ट र कम्पनी विशेष ५० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सक्छन्। यसबाहेक कम्पनीले बैंकको नीतिअनुसार इएमआईको सुविधा दिने बताएको छ। 

२. ड्याटसन रेडी-गोः 

पछिल्लो समय बजारमा निसानो र ड्याट्सनको विभिन्न मोडल रुचाइएको छ। अझ विशेष निसान म्यागनाइट रुचाइएको बुझिन्छ। सरकारले गाडी आयातमा लगाएको प्रतिबन्धका कारण नयाँ स्टक भने भित्र्याउन नपाएको कम्पनीले जनाएको छ। यसका बाबजुत ड्याटसनले यस चाडपर्व समय रेडी-गो (२०२१) मोडल भने बिक्री गर्दैछ। 

रेडी-गोको हाल बजार मूल्य २५ लाख ५० हजार तोकिएको छ। तर चाडपर्व अफरअन्तर्गत ग्राहकले यसमा दुई लाख ५० हजारसम्म छुट पाउन सक्नेछन्। 

कम्पनीले रेडी-गो व्यक्तिगत स्तरबाट खरिद गर्दा ५० प्रतिशत र कम्पनीको खरिदमा ३० प्रतिशत डाउनपेमेन्टमा उपलब्ध गराउने छ। बैंकअनुसार यसको इएमआई दर भने फरक पर्नेछ।

३. रेनो काइगरः 

रेनोको विभिन्न मोडलमध्ये हाल बजारमा काइगर निकै रुचाइएको छ। नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स हो। ९९९ सिसी क्षमता भएको काइगरमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन छ। यसले ७१ बिएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। 

काइगर आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड गरी चार संस्करणमा उपलब्ध छ। सुरक्षाका लागि गाडीमा एबिएस, इबिडी ब्रेक्रिङ प्रविधि, ४ वटा एयरब्याग लगायत छन्। कम्पनीले काइगरको सुरुवाती बजार मूल्य ३५ लाख ७९ हजारदेखि तोकिएको छ। 

ग्राहकले ५० प्रतिशत डाउनपेमेन्टमा ५ देखि ७ वर्षको इएमआई समय तोकेर काइगर खरिद गर्न सक्छन्। 

४. हुन्डाईको भेन्यूः

बजारमा रुचाइएको गाडीमध्ये हुन्डाईको भेन्यू पनि एक हो। भेन्यूले सुरक्षा रेटिङमा जम्मा ४ स्टार रेटिङ पाएको छ। हुन्डाई भेन्यू १.२ लिटर कप्पा पेट्रोल र १.५ लिटर यू२ सिआरडिआई डिजेल विकल्पमा उपलब्ध छ।

१,१९७ सिसी डिस्प्लेसमेन्ट भएको भेन्यू पेट्रोल इन्जिनमा ४ सिलिन्डर, ४ भल्भ, डिओएचसी इन्जिन जडित छ। जसले ६,००० आरपिएममा ८३ पिएस पावर र ४,००० आरपिएममा ११४ एनएम टर्क जेनेरेट गर्छ। 

यसको डिजेल भर्सनमा भने १,४९३ सिसी डिस्प्लेसमेन्ट छ जसले ४,००० आरपिएममा १०० पिएस पावर र १,५००–२,७५० आरपिएममा २४० एनएम टर्क जेनेरेट गर्छ। भेन्यूको पेट्रोल संस्करणले प्रति लिटर १७.५२ किलोमिटर र डिजेल संस्करणले २३.४किलोमिटरको माइलेज दिन्छ। 

कम्पनीले भेन्यूको सुरुवाती बजार मूल्य ३७ लाख ९६ हजार तोकेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!