आत्मनिर्भर हुदै पुष्प व्यवसाय, तिहारमा ९० प्रतिशत माला स्वदेशी

Posted on: 24 Oct, 2022

कात्तिक ७, काठमाडौँ | अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो । मुलुकमा पुष्प व्यवसाय फूलमा करिब आत्मनिर्भर हुने क्रममा रहेको छ । भाइटीकामा करिब २४ लाख माला बिक्री हुने अनुमान छ । करिब ३ लाख माला मात्र विदेशबाट आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मिनबहादुर तामाङले बताए । मुलुक फूल मालामा क्रमशः आत्मनिर्भर हुँदैछ, तामाङले भने, यो वर्षको तिहारमा बिक्री हुनेमध्ये ९० प्रतिशत स्वदेशी हो । फ्यानका अनुसार घरायसी प्रयोजनका लागि लगाइएको फूल र मालाको विवरण यसमा समावेश गरिएको छैन । तिहारमा मखमली र सयपत्री मालाको माग उच्च हुन्छ । यो समाचार नागरिक दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!