रेशमराज रोकाया | भदौ २५, हुम्ला | हुम्ला जिल्लाको हरेक गाउँ ठाउँ विशिष्ट पहिचान बोकी रहेका छन् । हरेक गाउँ ठाउँको आ–आफ्नै विशेषता र पहिचान रहेको छ । संस्कृती अध्ययन र अनुसन्धान गर्नको लागि यो जिल्ला एक असल सावित हुन सक्छ । दुरीको हिसाबले १ देखी आधि घण्टाको दुरीमा पर्ने हरेक गाउँको फरक पहिचान, चालचलन र संस्कृृती यहाँको विशेषता हो । यहाँ बोलिने भाषा मनाईने चाडपर्व अपनाईने संस्कृतीले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ । हुम्लीवासीलाई पनि यहाँको चालचलन र रहनसहन बुझ्नको लागि अझै वर्षौं लाग्ने अनुमान गरिरहेको छु । हरेक वर्ष यस्ता प्राकृतिक सम्पदा, चालचलन र रहन सहन बुझ्न अनि रमाउनको लागि विदेशी पाहुनालाई न्यानो आतिथ्यता पाउनको लागि पर्यटकले कुर्ने गरेका हुन्छन् ।
फरक पहिचान सहितको खस साम्राज्यको आधार खण्ड भनेर चिनिने अनि लुकेको तिव्बतिय संस्कृतीको आकर्षण केन्द्रको रुपमा हुम्लाको लिमी उपत्यका रहेको छ । यहाँ जिल्लाको अन्य भूभाग भन्दा फरक बस्ती र चालचलन रहेको छ । यो बस्ती ४ हजार भन्दा माथिको उचाईमा रहेको छ । तत्कालिन लिमी गाउँ विकास र हालको नाम्खा गाउँपालिका अन्तरगत पर्ने लिमीमा ३ वटा गाउँ तिल, हल्जी र जाङ्ग रहेका छन् । अन्न बालीको रुपमा नाफल (उच्च हिमालमा पाक्ने गौं), जौ, कोईरा, तोरीको मूख्य खेती गरिने यी गाउँमा मूख्य खाद्य बाली हुन् । लिमीमा लोपोन्मुख तथा दुर्लभ वन्यजन्तुको आरक्षण स्थलको रुपमा विकास भईरहेको छ । घर आँगनमा नै यस्ता खालका वन्य जन्तु देख्न पाईन्छ । गाउँका वासिन्दाले सिकार नगर्ने हुनाले यस्ता जनावर गाउँघरमा नै चरन क्षेत्र बनाउने गरेको पाईएकोछ । अन्य छिमेकी गाउँलेले यहाँको वन्य जन्तुलाई चोरी शिकार गर्ने भएकोले केही संख्या घटेकोमा स्थानिय कोलोप्साङ्ग लामा चिन्तित हुनु हुन्छ । आगामी दिनमा चोरी शिकारी गर्नेलाई गाउँले सबै मिलेर कानुनी कठघरामा उभ्याँउनको लागि तयार रहेको उहाँको भनाई रहेको छ ।
सुन्दर हिमाली भूगोलको क्यान्भासको नमूनाको रुपमा लिमी उपत्यका रहेको छ । करिब ११ सय वर्ष अगाडी देखी यो बस्ती लुकेको सुन्दर हिमाल भित्रको स्थान हो । परम्परागत धार्मिक वास्तुशास्त्रको अध्ययनको लागि पनि यो गाउँ प्रसिद्ध रहेको छ । अरबौं सम्पतीको गर गहना जो हुम्ला जिल्लाबाट हाल लोप भईसकेको अवस्था छ त्यसको संरक्षण यो गाउँले गरिरहेको छ । सोही अवस्थालाई मध्य नजर गर्दै नाम्खा गाउँपालिकाको अग्रसरतामा यस्ता अमूल्य सम्पतीको संरक्षणको लागि यो वर्ष देखी महोत्सवको रुपमा मनाएर यसलाई प्रचार प्रसार र संरक्षणमा लागेको प्रमूख प्रशासकिय अधिकृत बम बहादुर सुनारले जानकारी गराउनु भयो । आगामी दिनमा अझ विस्तृत योजनाको साथमा गाउँपालिकालाई विकास गरिने लक्ष्य रहेको सुनारको भनाई रहेको छ । गाउँपालिकाको हरेक गाउँको सिरानमा रहेका ताल तलैया, सुन्दर हिमाल र चरन क्षेत्र, जडिबुटी र दुर्लभ वन्य जन्तु तथा चराचुरुङ्गी संरक्षणमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिनु भयो । योजना बनाई चुस्त परिचालन गरेर पर्यटकको आकर्षणको केन्द्र विन्दु बनाईने गरी विकास गर्ने लक्षय रहेको लामाको भनाई रहेको छ । यो गाउँपालिका हुम्लाको आफैमा नमूना र पर्यटकको आकर्षक ठाउँ भएको भएता पनि अझ यसलाई व्यवस्थित बनाउनको लागि गुरुयोजना बनाई लाग्ने लामाले बताउनु भयो ।
नेपालगञ्ज र सुर्खेतबाट हवाईजहाजबाट सदरमुकाम सिमिकोटको लागि हवाई उडानको भर पर्नु पर्ने हुन्छ । सिमिकोट देखी उत्तरतिर करिब ३ दिन नेपालीको लागि भने विदेशीका लागि ५ दिनको क्याम्प पार गरेर नाम्खाको वडा नं. २ मा रहेको सल्ली खोला हुँदै जान सकिन्छ भने चिन सिमानामा रहेको हिल्साबाट तिल गाउँबाट पनि जान सकिन्छ । हिल्सा क्षेत्रबाट जानको लागि मुचुबाट गाडिको यात्रा गर्न सकिन्छ भने सल्लीबाट जानको लागि पनि रिजर्व गाडी लिन सकिन्छ तर प्राकृतिक सुन्दरता नियाल्नेका लागि पैदल नै उत्तम मानिन्छ । बाटोमा भेटिने खोलानालामा पुलको यथोचित बन्दोबस्त नभएको कारण गाडीको यात्रा त्यती राम्रो मानिदैन । पैदल यात्रामा त्यहाँको वन्यजन्तु, पशुपंछी र जडिबुटी अनि प्राकृतिक सुन्दरता नियाल्नको लागि राम्रो मानिन्छ । लगभग १५ देखी २० दिनको समय राखेर लिमी उपत्यका घुम्नको लागि राम्रो मानिन्छ । लिमी पुग्नको लागि पैदल यात्रामा खान र बस्नको लागि बन्दोवस्तीको सामान स्थानिय भरियाको सहारा लिनु पर्ने हुन्छ । ठाउँ ठाउँमा सल्ली खोला सम्म होटेल भएको भएता पनि सल्ली भन्दा माथि चढ्नको लागि खान र बस्नको आफै प्रवन्ध गर्दा राम्रो हुने मानिएको छ । बस्ती नभएको कारण लिमी सम्म पुग्नको लागि कठिन भूगोलका कारण बेलैमा लिमी पुग्न नसकिने भएकोले एक बासको लागि खाना र बस्नको लागि व्यवस्था गरिँदा राम्रो हुने मानिएको छ ।
लिमी उपत्यकामा हिउँदमा अत्याधिक हिउँ पर्ने र वर्षा याममा अत्याधिक वर्षा हुने भएकोले यहाँ घुम्नको लागि मौसमको अति नै ध्यान पुर्याउनु पर्ने हुन्छ । हिउँदमा धेरै जाडो हुने हुनाले स्थानिय बाहेक पर्यटकले घुम्न त्यति राम्रो मानिँदैन । वर्षा याममा हुस्सु र कुहिरोले टाढा सम्मको रमणिय दृश्य राम्रो नदेखिने हुनाले पनि त्यति उपयुक्त मानिदैन । भाद्र महिनाको १५ देखी कार्तिकको पहिलो हप्ता यहाँ घुम्नको लागि उपयुक्त समय हो । यो बेलामा हुस्सु पनि नलाग्ने र वर्षा पनि कम हुने हुनाले दृश्यावलोकनको लागि राम्रो मानिन्छ । जाडो पनि त्यति नबढ्ने हुनाले यहाँ घुम्न राम्रो समय मानिन्छ । विशेष गरी वन्यजन्तु पनि आँखा अगाडै नै देख्नको लागि उपयुक्त समय हो । प्राकृतिक सुन्दरता र उत्तरमा रहेका हिमताल, नदिनाला, जंगली वन्यजन्तुको आवास, आहार विहारको सुन्दरता राम्रैसँग हेर्न सकिन्छ । चिनको कैलाश मानसरोवर लिमीको लाप्चाबाट दृश्यवलोकन गर्नको लागि पनि यो मौसम उपयुक्त छ । संस्कृती र चालचलन हेर्नको लागि भने पर्यटकले अन्य समयमा पनि जान सक्छन् भने विशेष गरेर प्राकृतिक सुन्दरता र वन्य जन्तु अवलोकनको लागि भने भाद्र देखी कार्तिक पहिलो हप्ताको समय अति नै उपयुक्त रहेकोछ । लिमी उपत्यका जानको लागि विदेशीले भने नेपाली दुतवासबाट अनुमति लिन आवश्यक हुन्छ भने नेपाली पर्यटकले भने स्वतः भ्रमण गर्न सक्दछन् ।
जिल्ला भित्रका पर्यटकलाई पनि यहाँ पुग्न राम्रै खर्चको व्यवस्था मिलाउन आवश्यक हुन्छ । जिल्ला बाहिर र विदेशी पर्यटकका लागि भने अझ यो बढ्ने गर्दछ । जिल्ला भित्रिनको लागि भने हवाई यातायातको साधन प्रयोग गर्नु पर्दा अझ खर्च बढी नै लाग्ने गर्दछ । विदेशी पर्यटकले हवाई कम्पनीको लागि भाडा डलरमा तिर्नु पर्ने हुन्छ भने नेपालीले भने हाल ७ हजार देखी ८ हजारको भाडा तिरेमा हुम्लाको सिमिकोट पुग्न सकिन्छ । लिमी जानको लागि बाटोको होटेलमा प्रति छाक नेपाली रुपैयाँ २ सयमा खाना र बस्नको सुविधा पाउने गर्दछन् भने होटेल नभएको ठाउँमा भने आफै बन्दोवस्त गर्नु पर्ने अवस्था छ । स्थानिय भरियाले प्रति दिन १ हजार ५ सयका दरले लिमी जाने गरेका छन् । भरिया आवश्यक भएमा सिमिकोटबाट नै बन्दोवस्त गर्नु पर्ने अवस्था छ । सिमिकोटमा भने राम्रै सुविधायुक्त होटेलमा बास बस्न पाईन्छ । विदेशी पर्यटकले भने हरेक क्याम्पमा क्याम्पिङ्गको व्यवस्था रहेको छ भने स्थानिय सरकारले लगाएको कर तिर्न आवश्यक हुन्छ । स्थानिय पर्यटकले प्रति व्यक्ति ३० हजार भन्दा माथिको खर्चमा भ्रमण गर्न सक्छन् भने जिल्ला बाहिरका यात्रीको लागि भने ६० देखी १ लाख सम्म खर्चको जोहो गर्नु पर्ने अवस्था छ । लिमी उपत्यका पुगे पछि खर्च भन्दा पनि त्यहाँको दृश्यावलोकनले यो खर्च कमै मान्ने गरिन्छ ।
बाटोमा खासै जाडो नहुने भएको भएता पनि विहान बेलुका बाख्लो कपडाको सहायता आवश्यक हुन्छ । राती ओढ्नको लागि भने न्यानो कपडा आवश्यक हुन्छ । तापक्रम यो समयमा ११ डिग्री देखी १५ डिग्री सम्म रहने गर्दछ । दिउसो न्यानो हुने हुनाले सामान्य कपडा भए पुग्दछ । पानी भने अत्याधिक चिसो हुने गर्दछ । आफुलाई आवश्यक पर्ने औषधी, नियमित उपयोग गर्ने औषधी भने गजेडा बोक्नु पर्ने हुन्छ । लेक लाग्ने पर्यटकले भने केही खयल पुर्याउनु पर्ने हुन्छ । ४ हजार भन्दा बढीको उचाईमा भएको कारण यात्रुलाई लेक लाग्ने सम्भावना बढी नै हुन्छ भने स्थानिय अर्गानिक खानाको स्वादमा रमाउन चाहनेको लागि यो ठाउँ अति नै उत्तम मानिएको छ ।
लिमी उपत्यकामा प्राचिनकालका बहुमुल्य मुर्ति भएका गुम्बा नै गुम्बाको उपत्यका हो । खरबौं महँगा मुर्ति, पौराणिक वास्तुकला यहाँको मुख्य विशेषता हो । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृती लगायतका वस्तु अति नै लोभ लाग्दा छन् । लवाई खवाई, रहनसहन र प्राकृतिक दृश्यावलोकन अति नै सुन्दर छ । त्यहाँको वासिन्दाले लगाउने कपडा, गरगहना अति नै पौणाणिक र वैज्ञानिक रहेको छ । जसलाई नछुटाएर हेर्न लायकको छ । एउटै व्यक्तिले लगाउने कपडा २ करोड बराबरको मुल्य अहिले रहेको छ । हिरा, सुन र चाँदीको मिश्रणले यस्ता कपडाको मुल्य बढाएको छ । वन्यजन्तुको आवास र प्रत्यक्ष अवलोकन हेर्न लायकको छ ।
परम्परागत चौंरीपालन र त्यसमा प्रयोग हुने सामाग्री, कृषि जन्य वस्तुको उत्पादन र त्यसको उपभोगको अवस्थाको बारेमा छुटाउन नमिल्ने भित्र पर्ने गर्दछन् । ११ औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका साना ठुला गुम्बा अर्का आकर्षणको केन्द्र विन्दु हुन् । हुम्ला मात्र नभएर कर्णाली प्रदेशका धनी गुम्बाको रुपमा हल्जी गुम्बालाई चिनिएको छ । हरेक वर्ष यहाँको प्राकृतिक सुन्दरता र वस्तुस्थितीको बारेमा भिडियो डकुमेन्ट्री बन्ने गरेका छन् । फिल्म र म्युजिक भिडियोमा राख्न लायकको सुन्दर बस्ती र प्राकृतिक सुन्दरताको कुनै बयानै गर्न नसकिने अवस्था रहेको छ । जान गाह्रो तर फर्कनको लागि पर्यटकले नमान्ने अवस्थाको सुन्दरता पाउन सकिन्छ । पृथ्वी नारायण शाहको पालामा बनेका वि.सं. १९४५ सालमा निर्मित माना पाथी, ढक तराजु लगायतका सामाग्री अझै संरक्षणमा रहेका छन् । स्थानिय स्तरमा नापतौलमा प्रयोग हुने सामाग्री, पुजाआजा र अन्य बन्दोबस्तीमा प्रयोग हुने पुराना सामाग्री यहाँ हेर्न नबिर्सने सामाग्रीहरु हुन् । पुराना करोडौं मुल्यको कोईचिनको बख्खु अर्को विशेषता हो । यो बख्खु (महिला र पुरुषको वस्त्र) हाल संरक्षणका लागि मात्र राखेको पाईएको छ ।
माथिको तश्विरहरुमा: हुम्लाको लिमीको वस्तुस्थिती झल्कने तस्विरहरु: तश्विर: रेशमराज रोकाया/सास/हुम्ला