संसद बैठक : सांसदले उठाए लम्पिस्किनदेखि टिस्टा-कांगडासहित नेपालको नक्शा राख्ने विषय, कसले के भने?

Posted on: 09 Jun, 2023

जेठ २६,  काठमाडौँ | प्रतिनिधि सभा सदस्य विमला सुवेदीले गाईवस्तुमा देखा रेको लम्पिस्किन रोगको प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवेदीले देशभर गाईवस्तुमा लाग्ने लम्पिस्किन रोग फैलिएको भन्दै यसको लागि औषधि उपचार गर्न र प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले सरकारले बीमा कम्पनीलाई बुझाउनुपर्ने प्रिमियम नबुझाएका कारण किसानले पाउनुपर्ने बीमा रकम समेत नपाएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।

‘लम्पिस्किन रोगबाट नुवाकोटमा पनि प्रभावित भएका छन् । गाई, भैँसी, औषधि उपचार गर्न तथा रोगको प्रभावकारी नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारले बीमा कम्पनीहरुलाई बुझाउनुपर्ने प्रिमियम रकम नबुझाएका कारण कम्पनीमार्फत् किसानहरुले पाउनुपर्ने बीमा रकम नपाउँदा किसानहरु पशुपालन व्यवसायबाटै विस्थापित हुनुपर्ने स्थिति पैदा भएको छ तसर्थ यि समस्याहरुको तत्कालै समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भनिन् ।

प्रतिनिधि सभा सदस्य मनिष झाले तराईमा तातो हावाको कारण जनजिवन प्रभावित हुनेतर्फ सरकारलाई सजग गराउँदै स्वास्थ्य संस्थाहरुले आवश्यक तयारी गर्नुपर्ने बताए ।

‘तराईमा आइरहेको तातो हावा जसलाई हामी लू भन्छौँ । त्यसको कारण सम्भावित स्वास्थ्य जोखिमहरुका बारेमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । वर्षेनी १२ करोड ५० लाख विश्व जगतमै प्रभाव पारिराखेको जनसंख्या छ । नेपालमा पनि यसको सम्भावना धेरै नै देखिन्छ । युरोपमा विगतमा हजारौँ मान्छेहरुको मृत्यु भइसक्यो’, उनले भने, ‘हाम्रोमा तथ्यांकले देखाउँदै धेरै तर प्रभाव धेरै छ । यसले मानसिक स्वास्थ्यमा एकदमै नराम्रो असर पार्न सक्छ । पाँच दिनको लू मात्रै होइन यसले वर्षौंसम्म प्रभाव पार्नसक्छ । त्यसैले स्वास्थ्य क्षेत्रहरुमा, स्वास्थ्य केन्द्रहरुमा जीवनजलहरु उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले किसानले मौसम अनुरुपका विभिन्न समस्याहरु खेप्नुपरेको भन्दै उनीहरुलाई समस्या अनुरुपको राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।

‘नेपालको किसानको चेहेरामा कहिल्यै खुशी देख्न सकिएन । सरकारले मल, बिउ दिँदैन समस्यामा किसान । सरकारले उत्पादनको मूल्य र बजार दिँदैन समस्या र पीडामा किसान । गाईवस्तुमा लम्पिस्किन रोग लाग्छ, समस्या र पीडामा किसान । अहिले सरकारकै कारण कृषि बीमा रोकिएको छ, पीडा, समस्यामा किसान । ठुलो हावाहुरी, पानी, असिना पर्छ नोक्सानमा किसान । अहिले खडरी परेको छ, तापक्रम बढेको छ, खेतबारीमा लगाएको मकै बाली सुकेर खंग्रङ्ग भएको छ’, उनले भने, ‘अनिकालको ठुलो जोखिम छ, किसान ठूलो पीडामा छ । ठूलो समस्यामा छ । त्यसैले म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु , सरकार किसानका लागि अभिभावक बनिदेउ । किसानलाई मल, बीउ देउ । राहत देउ, क्षतिपूर्ति देउ । यो माग गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य माधव सापकोटाले असार १ गतेदेखि गंगबुस्थित बसपार्कबाट मात्रै यात्रुबाहक बस छुट्ने व्यवस्थाको अन्त्य गर्न काठमाडौं महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई आग्रह गरे ।

उनले भने, ‘हालै काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रु बसले आगामी असार १ गतेदेखि गंगबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडिबुटीदेखि गंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्थाको सूचना गरेको छ । टिकट काट्न पनि त्यहीँ पुग्नुपर्ने नियम झनै अव्यवहारिक छ । जडिबुटीमा आएका बस गंगबु पुग्नैपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गरी जडिबुटी बसपार्क यथासक्य सम्पन्न गरी सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र काठमाडौं महानगरपालिकाको गम्भिर ध्यानाकर्षण गराउँछु ।’

पतिनिधि सभा सदस्य रघुजी पन्तले भारतको प्रतिरोधस्वरुप नेपालले टिष्टा, काँगडासम्म भएको आफ्नो नक्शा संसद भवनमा राख्ने प्रस्ताव गरे ।

‘हामी नेपालीको चित्त बहुत छिटो बुझ्छ । हाम्रो प्रधानमन्त्रीले यहाँ आएर भन्नुभयो, मैले उठाएँ नक्शाको कुरो त्यहाँको संसदमा राखेको । तर हिजो भारतीय विदेशमन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पनि पत्रकार सम्मेलन गर्दै प्रष्ट के भन्नुभएको छ भन्दाखेरी त्यहाँको विदेशमन्त्रीले यो बंगलादेशले पनि उठायो, पाकिस्तानले पनि उठायो । नेपालले पनि उठायो’, उनले भने, ‘तर हाम्रो मित्र देश नेपालले चित्त बुझाइसक्यो । के नेपालले चित्त बुझाएको हो ? यदी भारतले त्यसलाई सांस्कृतिक र ऐतिहासिक नक्शा भनेर आफ्नो संसदमा राखिराख्न पाउँछ भने हामीले सतलौजसम्म पुगेको हाम्रो सीमाना, राबि नदिको छेउसम्म पुगेको सीमाना, टिष्टा काँगडालाई पनि सामेल गरेको नक्शालाई हाम्रो संसदमा भारतले त्यो नक्शा नहटाएसम्म हामीले पनि आफ्नो संसदमा टाग्दा के हुन्छ ?’

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले प्रतिनिधि सभा बैठकमा बोलिएका कुराहरु रेकर्डबाट हटाउने कुराको अन्त्य गर्न आग्रह गरे । उनले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माणको क्रममा हराएको सुनको सम्बन्धमा प्रश्न उठाउँदा बैठकको रेकर्डबाट हटाइएको भन्दै आफु त्यसरी रेकर्डबाट हटाउने कुराको विरुद्धमा रहेको उल्लेख गरे ।

प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले विद्यालय कर्मचारी र बालविकास शिक्षकको माग सम्बोधन गर्न सरकारसँग माग गरे । उनले संघीय शिक्षा ऐन संसदको यसै अधिवेशनमा ल्याउन पनि माग गरे ।

‘नेपाल सरकारको तर्फबाट यो सम्मानित सदनमा नीति तथा कार्यक्रम पेश गर्ने क्रममा बुँदा नम्बर १२७ मा यहीँ अधिवेशनबाट संघीय शिक्षा ऐन जारी गर्ने, विद्यार्थी र विषयको अनुपातमा शिक्षक दरबन्दी सिर्जना गर्ने र विद्यालय कर्मचारी र बालविकास शिक्षकको माग सम्बोधन गर्ने अथवा सेवा सुविधा वृद्धि गर्ने प्रतिवद्धता जायर गरिएको थियो’, उनले भने, ‘यो अहिलेको बजेटमा देखिदैन । यही सन्दर्भसँग जोडिएर देशैभरका विद्यालय कर्मचारी र बालबिकास शिक्षकहरु आन्दोलनमा छन् । सदनमार्फत म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु, उहाँहरुको माग तुरुन्त सम्बोधन होस् । संघीय शिक्षा ऐन मात्र यो अधिवेशन बाट पारित गर्ने होइन । संघीय निजामती ऐन पनि यही अधिवेशनबाट पारित गर्न पनि हार्दिक अनुरोध गर्दछु । संघीय निजामती ऐनसँग जोडिएर पुरस्कार र दण्डको व्यवस्था गर्नेकुरा र नेपाल सरकारको निति, योजना र कार्यक्रमको सफल कार्यान्वयनको निम्ति कर्मचारी संयन्त्र र सुरक्षा संयन्त्र उत्साहित हुनैपर्छ । ऊर्जा, विश्वास पैदा गर्नैपर्छ । त्यो ऊर्जा, उत्साह र विश्वास पैदा गर्न र सरुवा, बढुवामा देखिएको आतंक बन्द गर्न पनि निजामती कर्मचारी ऐन आवश्यक भएको कुरा सरकारलाई ध्यानाकर्षण गराउँदछु ।’

उनले संघीय निजामती सेवा ऐन पनि संसदको यसै सदनमा ल्याएर पारित गर्नुपर्नेमा जोड दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!