१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललिता निवास जग्गा प्रकरण: भाटभटेनी सञ्चालक मीनबहादुर र परिवारको नाममा २९ रोपनी, अरूको कति?

१३ असार २०८०, बुधबार ०९:१९

असार १३, काठमाडौँ | काठमाडौंको ललिता निवासमा जग्गा घोटाला गरेको कसुरमा पक्राउ परेका ४ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गरेको छ। 

सरकारी जग्गा कीर्ते गरेको आरोपमा ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। तर ३ जनासँग 'स्टे अर्डर' भएकाले उनीहरूलाई कागज गराएर छाडिएको थियो। 

भाटभटेनी सुपरमार्केटका सञ्चालक काठमाडौं महानगरपालिका वडा नम्बर ५ का ६९ वर्षीय मीनबहादुर गुरूङ, काठमाडौं ७ रातोपुलका धर्मप्रसाद गौमत, चन्द्रागिरि नगरपालिका ३ का ६० वर्षीय गोपाल कार्की र ६५ वर्षीय सुधिर शाह छन्। 

उनीहरूले पहिलो चरणमा एक सय १२ रोपनी जग्गा कीर्ते गरी आफ्नो नाममा सारेको पाइएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए।

पक्राउ परेका मीनबहादुर र उनका नातेदारहरूको नाममा २९ रोपनी जग्गा देखिएको उनको भनाइ छ। ‘मीनबहादुर, उनका परिवार, नातेदार, कम्पनीका शेयरहोल्डरहरूसँग २९ रोपनी जग्गा गएको देखिन्छ,’ उनले भने।

उनी यही मुद्दामा दोस्रो पटक पक्राउ परेका हुन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध ललिता निवास प्रकरणमा मुद्दा चलाइसकेको छ। उनीविरूद्ध अख्तियारले ३९ करोड २७ लाख ६८ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको छ। उक्त मुद्दामा गुरूङ तीन करोड रूपैयाँ धरौटीमा रिहा भएका थिए।

यस्तै मालपोतका पूर्व शाखा अधिकृत धर्मप्रसाद गौतमको नाममा पनि जग्गा देखिएको छ। यसमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनको नाममा ३ रोपनी जग्गा देखिएको हो। 

साथै पूर्वनिर्वाचन आयुक्त सुधिर शाहकी श्रीमती उर्मिलाको नाममा भने ५ रोपनी २ पैसा जग्गा रहेको पाइएको छ। 

त्यस्तै गोपाल कार्कीको भने कुनै जग्गा देखिएको छैन। तर मालपोत कार्यालयका केही फाइल नै गायब गरिदिएको उनीमाथि आरोप छ। ‘उहाँले पैसा त लिनुभयो कि लिनुभएन पछि खुल्ला। उहाँले फाइल नै गायब गर्न भूमिका खेल्नुभयो,’ आचार्यले भने।

सिआइबीले ललिता निवास परिसरको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको बताएको छ। 

अहिले उनीहरूमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत लगिएको छ। उनीहरूमाथि सरकारी कागजात कीर्ते गरेको कसुरमा म्याद थप गर्न लागेको हो।

यसअघि सिआइबीले २०७८ पुसमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर अनुसन्धानमा कमिकमजोरी भएको भन्दै थप अनुसन्धान गर्न भनिएको थियो। 

२०७८ साल पुस २२ गते प्रतिवेदन फिर्ता भएको थियो। अहिले पुन: प्रमाण संकलन गरेर अनुसन्धान गरिरहेको एआइजी किरण बज्राचार्यले जानकारी दिइन्। 

‘लामो समय अनुसन्धान गरी प्रमाणहरू संकलन गरिएका छन्, मुद्दा दर्ता नगर्ने भन्ने प्रश्न नै आउँदैन,’ उनले भनिन्, ‘चलखेलहरू हुन सक्छन्। तर जवाफ दिन हामीसँग यथेष्ट प्रमाण छन्।’

हद म्यादको विषयमा मुलुकी ऐन २०२२ लाई टेकेर अनुसन्धान गरिरहेको उनको भनाइ छ। यो मुद्दामा हदम्याद नलाग्ने पनि उनले बताइन्। 

यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको जग्गाबारे पनि प्रश्‍न उठेको थियो। जग्गा फिर्ता गरेको विषयमा पौडेल अनुसन्धानको दायरामा तानिन्छन् कि तानिँदैनन् भन्ने प्रश्न छ।

त्यसबारे एआइजी बज्राचार्यले भनिन्,‘अहिले हामीले अनुसन्धान सुरू गरेका छौं। यो अगडि बढ्दै जाँदाखेरि थप कुरा जे हुन्छ हामी भन्छौं।’ 

यो प्रकरणको अनुसन्धानमा कसैको पनि राजनीतिक दबाब नआएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर