असार २१, काठमाडौँ | नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजेबाट बैठक सुरु भएको हो । पार्टी महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्दम्बे, बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्य नैनसिंह महर, अजयबाबू सिवाकोटी र जिल्ला सभापतिहरूबीच छलफल भइरहेको छ ।
कांग्रेसले बैठकमा आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन पत्राचार गरिएको थियो ।
जिल्ला सभापति छलफलमा करिब ६० जना उपस्थित भएका छन् । जिल्ला सभापति उपस्थित हुन नसकेका जिल्लाका सभापतिलाई जुममार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।