३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भावनात्मक अभिव्यक्तिलाई बङ्ग्याउनु दुःखद: प्रधानमन्त्रीको सचिवालय

२१ असार २०८०, बिहीबार ०९:५२

असार २१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले प्रीतम सिंहबारे प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै माओवादी शान्ति प्रक्रियामा प्रवेश लगत्तै प्रचण्डसँग सरदार प्रीतम सिंहको भेटघाट र चिनजान भएको पनि प्रस्ट पारेका छन् ।

‘प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट सङ्क्रमित भएपछि ०६७/६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो ।’

प्रचण्डसँग भएका अनौपचारिक भेटघाटका क्रममा सिंहले ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गर्ने गरेको पनि जनाएको छ । सोही सन्दर्भ गत असार १८ गते पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसङ्गवश उल्लेख गरेको सचिवालयले प्रस्ट पारेको छ । 

‘यसै क्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटक पटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो । तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बङ्गाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैँमा दुःखद छ’, सचिवालयले भनेको छ । 

संसदबाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव सङ्घीय संसद्प्रति जबाफदेही रहेको भन्दै संसद्मा प्रस्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशय विपरीत एकपक्षीय ढङ्गले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको सचिवालयले भनेको छ । 

‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ’, विज्ञप्तिमा भनिएको छ । 

‘पुस्तक विमोचनको प्रसङ्गलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रूपमा संसद् अवरोध गर्दा मिटरब्याजीहरूलाई कारबाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निष्क्रिय भएको छ, जसबाट मिटरब्याज पीडित लाखौँ नेपाली किसानहरूको न्याय प्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको छ’, सचिवालयले यसप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित किसानहरूको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रचण्डको सचिवालयले सङ्कुचित राजनीतिक मानसिकताका साथ प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको विरोध र सिङ्गो संसद्को नै अपमान हुन जाने तथ्यलाई हेक्का राख्नुपर्ने स्मरण गराएको छ । ‘तसर्थ, यस्ता कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न हामी सम्पूर्णमा हार्दिक अपिल गर्दछौँ’, प्रेस सल्लाहकार आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा