कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले तयार : हिक्मत कार्की

Posted on: 28 Jul, 2023

साउन १२, विराटनगर | कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हालेका हुन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रस्ट पारे । देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने बताए । उनले भने, प्रजातन्त्र, सुशासनका लागि काङ्ग्रेससँग कुरा मिले हामीसँगै सरकार बनाएर जान सक्छौं । हामी ओपन छौं ।'

उनले यस विषयमा कुराकानी पनि भइरहेको बताए ।  कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौँ । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’

उनले नेकपा एमाले पनि बहुमत पुर्‍याएर सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा जाने सक्ने बताए ।

उनले भने,' साना साना दलहरू त सरकार गठनको दाबी गरेर जाने खोज्छन् भने ४० सिट रहेको एमाले नजाने कुरै भएन ।' उनले एमालेले बहुमत पुर्‍याउनका लागि कोशी प्रदेश सभामा रहेका दलहरूसँग कुराकानी भइरहेको बताए । यस विषयमा  कुराकानी भएरहेको र अहिलेसम्म फाइनल भइनसकेको बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!