गठबन्धनबाट असन्तुष्टि र चुनौती बढेका छन्ः विश्वप्रकाश शर्मा

Posted on: 20 Feb, 2024

फागुन ८, काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनबाट असन्तुष्टि र चुनौती बढेको बताएका छन्। मंगलबार ललितपुरको गोदावारीमा जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री शर्माले गठबन्धनबाट उपलब्धि हासिल भए पनि असन्तुष्टि र चुनौती पनि बढेको बताएका हुन्।

‘अघिल्लो प्रतिनिधि सभाको विघटनपछि संसद् र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरु अन्ततः गत निर्वाचनमा हामी एक भएर मैदानमा गयौं। पृष्ठभूमि र वैचारिक धार हाम्रो भिन्न थियो। र, छ। त्यसैले चुनावमा प्री पोल अलायन्स हुनु सही या गलत भन्ने दुई थरी मतबीच हामी गठबन्धन गरेरै जाने संस्थागत निर्णयमा पुगेका थियौं,’ महामन्त्री शर्माले भने, ‘त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौती पनि बढेका छन्।’


उनले निर्वाचनमा भोट ट्रान्सफरको विषय चुनौतीपूर्ण रहेको बताए। ०७४ को निर्वाचनको तुलनामा नेपाली कांग्रेस तीन वटै तहमा पहिलो हुनुमा गठबन्धनको महत्त्वपूर्ण योगदान रहेको पनि शर्माको भनाइ छ।

महामन्त्री शर्माले ७५३ स्थानीय तहमध्ये ३२९ पालिकाको नेतृत्व, प्रतिनिधि सभातर्फ कूल २७५ मध्ये प्रत्यक्षतर्फ ५७ क्षेत्र र समानुपातिकमा ३२ गरी ८९ स्थान र ५५० सीट रहेको प्रदेश सभातर्फ प्रत्यक्षमा १११ र समानुपातिकतर्फ ६४ गरी १७५ सीटमा जीत हासिल गर्दै कांग्रेस पहिलो हुनुमा जनताको विश्वास, पार्टी पङ्क्तिको मेहनत र गठबन्धनका सहयात्रीको जोडबल मुख्य रहेको बताए।

तर, ०७९ को निर्वाचनमा गरिएको गठबन्धनका क्रममा र परिणामपछि उब्जिएको केही प्रश्नमा शुक्ष्म आत्मचिन्तन भने महासमितिमा गर्नुपर्नेमा शर्माले जोड दिए। कांग्रेसका परम्परागत मतदाताले अन्य चिह्नमा मत दिन पार्टीले गरेको आग्रह नरुचाएको र तीनको विश्वासलाई पुनः जागृत गर्नुपर्ने बताएका छन्। उनले गठबन्धनमार्फत् पहिलो दल बने पनि समानुपातिकतर्फ २०७४ को तुलनामा करिब ७ प्रतिशत मत गुमाउनुको वास्तविक कारण पहिचान र निदानको प्रश्न कांग्रेस सामु भएको बताए।

गठबन्धन जोखिम र आवश्यकता

महामन्त्री शर्माले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर जाने अथा तीनै तहको सम्पूर्ण स्थानमा कांग्रेस उम्मेद्वार खडा गर्ने भन्ने विषयमा भित्र रहेका स्वभाविक दुई थरी मतलाई सुरक्षित राखेर उपयुक्त समयमा उपयुक्त निर्णयमा पुग्ने बताए।

गठबन्धनबारे निर्वाचन आउनुभन्दा चार वर्ष अघि नै छलफल गर्नु आवश्यक विषय नभएको शर्माको तर्क नभएको शर्माको तर्क छ। ‘अहिले तत्काललाई हामी जुन गठबन्धनमा छौं त्यो आगतको सम्झौता होइन विगतले बोकाएको अभिभारा हो। अतः त्यसमा निरन्तरता चाहँदा हामीबीच अलमल या अस्पष्टता होइन, सुस्पष्ट प्रतिवद्धता जरुरी हुन्छ। ०७९को निर्वाचनपछि पुस १० गते अनपेक्षित रुपमा भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनमा जाँदै गर्दा पुन: ट्रयाकमा फर्कियो,’ शर्माले भने, ‘यसले के स्पष्ट गर्दछ भने गठबन्धनप्रति हामी सबै दल प्रतिबद्ध थियौं। र, छौं पनि। तर, कतिपय विषयमा द्वन्द्व र असावधानि हुँदा जोखिममा पर्‍यो। संयम र परिपक्ताको माध्यमबाट गठबन्धन पुनः ब्यूतियो। फेरि पनि जोखिमको अवस्था आउन नदिन ठूलो दल भएका नाताले विशेष सतर्कता र सजग जिम्मेवारी हामीले प्रस्तुत गर्न जरुरी छ। एकल बहुमत कसैको पनि नभएको अवस्थामा गठबन्धनलाई कायम राखेरै जनता र देशको हितमा काम गर्नुपर्ने अभिभारा हाम्रो छ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!