प्रकाण्डको गृहनगरमा नेपाल कम्युनिष्ट पार्टीद्वारा मतपेटीका कब्जा

Posted on: 14 May, 2017


दलसिंह गिरी/बैशाख ३१, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृहनगर कालिकोटको मालकोटमा रहेको सेरापाटा मतदान केन्द्रमा नेकपाले मतपेटीका कब्जा गरेका छन् । 

करिव ८ सय ७९ मतदाता रहेको नरहरीनाथ गाउपालिका वडा नं. ६ मा पर्ने नन्दादेवी मा.वि सेरापाटा केन्द्रमा आज दिनभर मतदान गरिएको मतपेटिका  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिले अपरान्न ५ बजेपछि ढुंगामुडा गरी कब्जा गरेका हुन् ।

मतपेटिका कब्जाका लागि गरिएको ढुंगामुडाका कारण ४ जना सर्बसाधारण र २ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला प्रहरीले दिएको जानकारी अनुसार आज दिनभर शान्तिपूर्ण तरिकाले मतदान भएपनि मतदान सकिए लगतै मतपेटीका सिलबन्दी गरेर नरहरीनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँ आउनै लाग्दा नेकपाले गरेको ढुंगामुडामा भागदौड मच्चिएको र अहिले सबै कर्मचारी तथा सुरक्षाकर्मी सम्पर्कमा आइसकेको जनाइएको छ । 

यसैगरी कालिका गाउपालिका वडा नं. २ बालाचौर भर्ता मतदान केन्द्रमा पनि आज दिनभर विवाद भएको छ । विहान ७ बजेबाट मतदान सुरु भएको केन्द्रमा दिउसो १२ बजेसम्म शान्तिपूर्ण मतदान भै करिव ३ सय ५६ वटा मत खसिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्र विच मत खसाल्ने विषयमा विवाद भएको हो । 

विवाद पछि मतदान तोडफोड भई साझ ५ बजे सम्म पनि मतदान हुन नसकेपछि जम्मा खसेको मतलाई सदरमानी मतदान सम्पन्न भएको मतदान अधिकृत इन्द्र प्रसाद न्यौपानेले जानकारी दिनु भएको छ । करिव ८ सय ४२ मतदाता रहेको केन्द्रमा मत खसाल्ने विषयमा विवाद भएको थियो । 

विवाद हुदा खसेका मतपत्रको अर्धकट्टी समेत हराएको र मतदान अधिकृतले हस्ताक्षर गरेको १ सय ३० मतपत्र हराए पनि पछि भेटिएको मतदान अधिकृत न्यौपानेले जानकारी दिनु भएको छ । आज दिनभरजसो विवाद रहेको बालाचौर मतदान केन्द्रको मतपेटीका भने भोलि विहान मात्र कालिका गाउपालिकाको केन्द्रमा लगिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्लाका कुल जम्मा १ सय ७ वटा मतदान केन्द्रहरु मध्य कतिपय केन्द्रहरुमा प्रभावकारी संचार नभएका कारण यथार्थ विवरण आइनसके पनि प्राय सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भई करिव ७० देखि ८० प्रतिशत जति मत खसेको जिल्ला प्रशासन कार्यालय कालिकोटले अनुमान जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!