२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार

२० जेष्ठ २०८२, सोमबार ०७:५९

भद्रपुर (झापा) । “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भन्नुभयो “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ” ।

देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन् । यहाँको भद्रपुर नगरपालिका–१ का उहाँ हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहनुभएको छ । तर यहाँसम्म आइपुग्न उहाँले गर्नुभएको सङ्घर्षको फेहरिस्त निकै लामो छ । २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया जानुभएका उहाँले त्यहाँ १३ वर्ष बिताउनुभयो ।

विगत सम्झना गर्दै उहाँ भन्नुहुन्छ, “मलेसिया जाँदा सपना थियो, धेरै पैसा कमाउने, परिवारलाई सुख दिने । काम पनि राम्रै पाइयो, तलब बढ्दै गयो । मासिक रु एक लाख २५ हजारसम्म कमाउँथे, साहुले ११ महिनासम्म पनि बिदा दिएर काममा बोलाएका थिए । तर मलाई लाग्यो, त्यही मेहनत आफ्नै देशमा गरे उस्तै आम्दानी गर्न सकिन्छ” ।

मलेसियाबाट फर्किएपछि देउकुमार तत्कालै खेतीमा लाग्नुभएन । सुरुवाती दुई वर्ष देशमै के गर्न सम्भव होला ? सफल भइएन भने पुनःविदेश जानुपर्ने अवस्था आउला कि नआउला ? भन्ने दोधारमै बित्यो । अन्ततः उहाँलाई लाग्यो विदेशमा अरुको खेतबारीमा काम गर्दा कमाइ भए पनि मनमा सन्तुष्टी हुँदैन । आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउन सकिन्छ भने किन सुरुवात नगर्ने, यही सोचबाट उहाँले कृषि फार्म सुरु गर्ने अठोट लिनुभयो । “म मलेसियामा पनि कृषि फार्ममै काम गर्थेँ”, उहाँले  भन्नुभयो, “त्यही सीप र अनुभवले गर्दा यहाँ फार्म खोल्न सजिलो भयो ।”

मलेसियाबाट ल्याएको थोरै पुँजीबाट देउकुमारले ‘लिङ्देन कृषि फार्म’ स्थापना गर्नुभयो । सुरुमा सानो क्षेत्रफलमा केही तरकारी लगाउनुभएका उहाँको मेहनतले हाल चार विघाहभन्दा बढी क्षेत्रफलमा फार्म विस्तार भएको छ । हाल उहाँको फार्ममा करिब एक करोड रुपैयाँ बढी लगानी छ । फार्ममा साग, टमाटर, काँक्रो, आलु, करेला, बन्दागोभी, भान्टा, बोडीजस्ता तरकारीको साथै केरा, सुपारी खेती, बङ्गुर र माछापालन गर्नुभएको छ ।

उहाँ बेमौसमी तरकारी उत्पादनमा विशेष ध्यान दिनुहुन्छ, “बजारमा जब तरकारीको अभाव हुन्छ, त्यतिबेला हाम्रो फार्ममा उत्पादन भइरहेको हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले कहिलेकाहीँ त अग्रिम पैसा तिरेर तरकारी बुकिङ गर्न आउने व्यापारीको भीड लाग्छ ।”

देउकुमारले फार्ममा रासायनिक मलभन्दा बढी जैविक मल प्रयोग गर्ने गरेको बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ,  “जैविक तरकारीको स्वाद, गुणस्तर र माग बढी छ, ग्राहक पनि खुसी हुन्छन् ।” उहाँको  सफलताको अर्काे पाटो हो, स्थानीय युवालाई रोजगारी उपलब्ध गराउनु । अहिले उहाँको फार्ममा सात जना स्थानीय युवाले नियमित रोजगारी पाएका छन् । तर सिजनमा २०–२२ जना श्रमिकले काम पाउँछन् । “सिजनमा मजदुर पाउन गाह्रो पर्छ,” उहाँ भन्नुहुन्छ, “मानिस विदेश जान चाहन्छन् तर देशमै राम्रो सम्भावना देख्दैनन्”।

फार्म सञ्चालन बापत् खर्च कटाएर वार्षिक १८ लाख रुपैयाँ बढी आम्दानी लिने गरेको उहाँ बताउनुहुन्छ । “मेहनत गरे आम्दानी पनि राम्रो हुन्छ,” उहाँ भन्नुहुन्छ, “मलजल, बिउको छनोट, समयमा स्याहार गर्नुपर्छ ।” उहाँले मलेसियामा पनि मेहनत गर्नुहुन्थ्यो । तर, त्यो अरूको लागि थियो, अहिलेको मेहनत आफ्नो सपना र देशका लागि भएको उहाँको बुझाइ छ ।

देउकुमारको बुझाइमा नेपालमा कृषिमा सम्भावना र चुनौती दुवै छन् । उहाँ भन्नुहुन्छ, “मुख्य चुनौती खुला सीमानाका कारण भारतबाट सस्तोमा तरकारी नेपाल भित्रिनु, हाम्रो उत्पादन सस्तोमा बिक्री गर्न नसक्नु हो ।” यदि सरकारले बजारमा नेपाली तरकारीलाई प्राथमिकता दिन उपयुक्त वातावरण बनाइदिने होभने सहजै प्रतिस्पर्धा गर्न सकिने उहाँ बताउनुहुन्छ ।

कृषकलाई दिइने सरकारी अनुदानबारे पनि उहाँ स्पष्ट हुनुहुन्छ, “कतिपय किसानले अनुदान पाउँदैनन्, पाएकाले सही तरिकाले प्रयोग गर्दैनन्, नियमनको अभाव छ,” देउकुमार भन्नुहुन्छ “यदि वास्तविक किसानलाई अनुदान दिइयो भने देशमै सस्तोमा अर्गानिक तरकारी खुवाउन सकिन्छ ।”

देउकुमार युवापुस्तालाई आग्रह गर्नुहुन्छ, “देशमा केही छैन भनेर हतारमा विदेशिने निर्णय नगर्नुहोस, सानो पुँजी, सही सोच र सिकेका सीपलाई आफ्नै माटोमा प्रयोग गर्न सकियो भने यहीँ पनि सम्मानजनक आम्दानी सम्भव छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला