मंसिर २३, काठमाडौं | नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले अवधारणा सार्वजनिक गरेका छन्। महाधिवेशनको अघिल्लो दिन बिहीबार ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ पार्टी पुनर्जागरण र रुपान्तरणका लागि अवधारणा’ नाम दिइएको अवधारणापत्र सार्वजनिक गरेका हुन्।
थापाले कांग्रेस चुहिएको प्वाल टाल्ने पार्टी रहेको बताए। कांग्रेस नेताहरुले पटक पटक निर्वासन, जेल, यातना भोगेको उल्लेख गर्दै एउटा विचार बोकेको आधारमा सत्ताले यातना दिने प्रचलन नेपालमा रहेको बताए। नेपालमा कांग्रेसको राजनीति गर्नेहरुले ‘म’को बारेमा होइन, ‘हामी’को बारेमा सोचेको उल्लेख नेता थापाले गरे।
‘त्यही भएर नेपाली कांग्रेसको सिद्धान्त ‘हामीभित्र म’ रहेको उनले उल्लेख गरे। थापा भने, ‘म महामन्त्री हुन्छु/हुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पुर्याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी दिएको हुँ।’ नेपाली कांग्रेसको समुचित प्रयोग गरेर हाम्रै जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्नेमा आफूलाई विश्वास रहेको उनले बताए।