मंसिर २४, काठमाडौं | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन जारी रहँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् ।
ओलीसँग प्रचण्ड र माधव नेपालको राम्राे सम्बन्ध रहेकाे छैन भने उनीहरु लामाे समयपछि एउटै मञ्चमा काँग्रेसको महाधिवेशनका क्रममा देखिएका थिए ।
ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए ।
ओलीले प्रचण्ड र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए ।