माघ ८, काठमाडौँ | चीनको तिब्बतलाई छुने ताप्लेजुङको विकट ओलाङ्चुङगोला विश्वविख्यात वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको जन्मथलो हो । ओलाङ्चुङगोला तमोर नदी शिरको हिमाली गाउँ हो । यही गाउँमा रुइतको सात वर्षसम्मको बाल्यकाल बित्यो । त्यसबेलै उनले गाउँमाथिको सानो गुम्बामा मूर्तिको भगवान् देखेका थिए ।
तर, अहिले भने लाखौँ लाखले सम्झिने र पुजिने साक्षात् भगवान् भएका छन् उनी स्वयम् । कारण– अन्धोपन हटाएर लाखौँ मानिसलाई उज्यालो दिएका छन् । डा. रुइत यो अवस्थामा आइपुग्नुमा केही योग र केही वियोगका घटना जोडिएका छन् ।
डा. रुइतका बुबा सोनाम ओलाङ्चुङगोलाका स्थानीय व्यापारी थिए । गुम्बामा सामान्य लेखपढ गरेका थिए । तर, उनको शिक्षाप्रति राम्रो सुझबुझ थियो । त्यही भएर उनलाई भारतको दार्जिलिङमा पढाए । पछि सन् १९६२ मा चीन–भारत युद्ध भयो । दार्जिलिङमा पढ्दै गरेका रुइतलाई पछि बुबा सोनामले काठमाडौंमा ल्याए । उनका साथमा बहिनीलाई पनि राखे, बुबाले । दाजुबहिनी सँगै बसेर पढे । त्रि–चन्द्रमा आईएस्सी पढ्दापढ्दै बहिनीलाई क्षयरोग भयो । उनी बहिनीलाई अति माया गर्थे । बहिनीको उपचार गराए । तर, बहिनीलाई बचाउन सकेनन् । निधन भयो । बहिनी वियोगमा परे सन्दुक ।
उनलाई त्यसबेला लाग्यो, उपचार गराउँदागराउँदै बहिनीको मृत्यु भयो, विकट गाउँमा त झन् उपचार गर्नै नपाएर कतिले मृत्युवरण गर्छन् होला ? 'त्यही भएर मृत्युका मुखमा पुगेकी मेरी बहिनीजस्ता बिरामीलाई बचाउन भनेर चिकित्सक हुने सोच बनाएँ’, उनले एक अन्तर्वार्तामा भनेका छन् ।
नभन्दै उनी चिकित्सा विज्ञान अध्ययन गर्न भारतको लखनउ गए । सर्जन डाक्टर भएर नेपाल फर्किए । वीर अस्पतालमा जागिर खाए । अस्पतालमा काम गर्दै जाँदा विभिन्न ठाउँमा शिविरहरूमा जाने मौका उनलाई मिल्यो । पछि उनी वीर अस्पतालको आँखा विभागमा तानिए । त्यसबेला आँखा विभागमा काम गर्ने क्रममा उनको भेट डा. रामप्रसाद पोखरेल, डा. मदनप्रसाद उपाध्याय, डा. नवीनचन्द्र राईजस्ता आँखाविज्ञसँग भेट भयो ।
एक दिन उनी डाक्टर नवीनचन्द्रको सहायक भएर बर्दियाको आँखा शिविरमा गए । त्यहाँ एउटै परिवारका पाँच जनाले आँखा नदेखेको पाए । भेडाबाख्राजसरी घरको कुनामा बसिरहेका मान्छे देख्दा उनको मन कटक्क भयो । र, उनले त्यहीँ मोतियाविन्दुको शल्यक्रिया गरेर ज्योति गुमाएका मानिसहरूलाई नयाँ जीवन दिने अठोट गरे । त्यसपछि नै उनी बने, आँखाको डाक्टर । सोही क्रममा मोतियाविन्दुको उपचारका लागि ‘रुइतेक्टोमी’ पद्धतिको विकास गरे । पछि उनी छुट्टै आँखा अस्पताल स्थापना गर्नतिर लागे । जुन अभियानमा उनलाई साथ दिइन् डा. रिता गुरुङले । उनीहरूले नै स्थापना गरेको तिलगंगा आँखा अस्पताल विश्वचर्चित बनिसकेको छ ।
डा. रुइतका अनुसार सन् १९९० को दशकतिर लेन्सलाई २ हजारदेखि ५ हजारसम्म पर्थ्याे । यति महँगाे लेन्स सबै बिरामीको पहुँचभित्रको कुरा थिएन । जसका कारण हामी लेन्स उत्पादन गर्ने निर्णयसम्म पुग्यौँ र सुरु गर्यौँ । अहिले तिलगंगा अस्पतालले दुई रुपैयाँभन्दा कममा लेन्स उपलब्ध गराउँछ । सस्तो र सुलभ दरमा लेन्स पाउने भएपछि मोतियाविन्दु हुनेहरूको उपचारमा सरल र सहज हुँदै आएको छ ।
परिणामतः आँखाको ज्योति गुमाएका धेरैको ज्योति पनि फर्किएको छ । हाल अस्पतालले हरेक वर्ष करिब ३ लाखवटा लेन्स उत्पादन गर्दै आएको छ । डा. रुइतले सरकारले आर्थिक सहायता गरेको अवस्थामा १५ लाखसम्म लेन्स उत्पादन गर्ने र विश्वभर निर्यात गर्ने योजना बनाएका छन् ।
अस्पतालले आँखाको उपचार, लेन्स उत्पादनदेखि विशेषज्ञ नेत्र चिकित्सक उत्पादन गर्दै आएको छ । डा. रुइत अस्पताललाई ‘इन्टरनेसनल अप्थाल्मिक (आँखाको उपचार) इन्स्टिच्युसनल हब’ बनाउन पनि चाहन्छन् । उनै डा. रुइतले नेपालका दूरदराजका नेपालीको आँखा शिविर सञ्चालन गरेर मोतियाविन्दुको उपचार गराएर आँखाको ज्योति फर्काइदिएका छन् । भारत, बंगलादेश, भुटान, बर्मा, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, उत्तर कोरिया, चीन, अफ्रिकालगायत देशका आँखाका बिरामीको उपचार गरेका छन् ।
यिनै आँखा रोगको उपचार पद्धतिमा गरेका कर्मका कारण उनी मंगलबार इसा अवार्डको विजेता घोषित भएका हुन् ।
बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित यो अवार्ड सन् २०१३ देखि मानव कल्याणको क्षेत्रमा काम गरेका व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिन्छ । अवार्ड १० लाख डलर अर्थात् नेपाली मुद्रा १३ करोड रुपैयाँभन्दा बढीको हो ।
अन्धोपन निवारणमार्फत गरेको मानव कल्याणका लागि रुइत यो अवार्डको हकदार भए । उनी साढे तीन दशकदेखि नेत्र चिकित्सा क्षेत्रमा छन् । यसअघि उनले म्यागासेसे अवार्डसँगै भुटानका राजपरिवारले विदेशीलाई दिने सर्वोच्च सम्मान र थाइल्यान्डको राजपरिवार प्रिन्स महिडोल अवार्ड, अस्ट्रेलियामा विदेशीलाई दिने सर्वोच्च अवार्ड, एसियन गेम चेन्जर २०१६ अमेरिका, एसियन अफ द इयर २००७ लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । उनी विदेशी चिकित्सकलाई नेपालमै रहेर तालिम र अध्यापन गराउँछन् ।