काठमाडौँ | काठमाडौं जिल्ला अदालतमा हराएको ३३ लाख रुपैयाँबराबरको हिराको हारलाई प्रहरीले सिसिटिभीको सहयोगमा फेला पारेको छ।
बिहीबार दिउँसो जमुना घलेको हराएको भनिएको उक्त हार शुक्रबार प्रहरीले अदालत परिसरमा एक कानुन व्यवसायीको साथमा पत्ता लगाएको हो।
प्रहरी स्रोतका अनुसार सफा गर्ने कामदारले हारलाई सामान्य वस्तु ठानेर बढार्ने क्रममा कुनामा राखेकी थिइन्।
त्यसपछि सिसिक्यामेरामा एक कानुन व्यवसायीले हार टिपेर खल्तीमा राखेको देखिएको थियो। बार एसोसिएसनको सहयोगमा ती कानुन व्यवसायीको पहिचान गरी प्रहरीले उनलाई सम्पर्क गरेको थियो।
ती कानुन व्यवसायीले अन्ततः हराएको हार धनीलाई फिर्ता गरेका छन्।