काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।