काठमाडौँ | मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बसेका छन् । गाउँकै एक्लो दमाई परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर मलामी जान कोही तयार नहुँदा यस्तो समस्या भएको हो ।
सिगास गाउँपालिका–१, अङडेगाडा गाउँकी माना टेलर लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । उनको शनिवार देहावसान भएको छ । गाउँमा विश्वकर्मा लोहार, चुनारा, सार्कीलगायत दलित र अन्य गैर दलित समुदायका परिवार भए पनि दलितभित्रै जातीय विभेद भएकाले माना टेलरको शव उठ्न सकेको छैन ।
मलामी जाने मानिस नभेटिँदा शव वाहन वा ट्याक्टरका लागि कुरा गरे पनि शनिबार रातिसम्म पनि टुङ्गो नलागेको मृतकका कुरुवा छोरा ३० वर्षीय प्रकाश टेलरले बताए । प्रकाश टेलर स्थानीय भूमिराज आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकसमेत हुन् ।
आमाको मृत्यु हुँदा मलामी जाने मानिस नपाउँदा दिनभरि आमाको शव कुरेर आँगनमा बस्नु परेको प्रकाशले पीडा सुनाए । भक्कानिँदै उनले भने,“मलामी जाने मानिस भइदिए घरबाट आघा घण्टाको दूरीमा ढणालीगाड पर्छ । त्यतै दाहसंस्कार गर्न सकिन्थ्यो । तर, यो जात व्यवस्थाले आमाको शव उठाउन नसक्दा एक्लो अनुभूति भएको छ ।”
प्रकाशका ७२ वर्षीय रोगी बुवा श्रीमतीको मृत्युपछि ओछ्यानमा थला परेका छन्। सामान्य ज्याला मजदुरी र खलो (बालीघरे) मा काम गरेर जीविका चलाउँदै आएका टेलर परिवार गाउँकै एक मात्र दमाई परिवार हुन् ।
मलामी जाने मानिस नभएपछि आफ्नो पुर्ख्यौली थातथलो पाटन नगरपालिका–४, बगाडी गाउँका नातेदारलाई शव वाहन वा ट्याक्टरको व्यवस्था गरिदिन टेलिफोन गरेको प्रकाशले बताए ।
मलामी जाने मानिस नभएकाले गाडीको व्यवस्था गरिदिन वडा कार्यालयमा पनि फोन आएको सिगास गाउँपालिका–१ का वडा अध्यक्ष रामचन्द्र ऐरीले बताए । उनले शव वाहन वा ट्याक्टरका लागि नजिकको छिमेकी पाटन नगरपालिकासित कुरा भइरहेको बताए । सवारी जिपले शव बोक्न नमानेका कारणले समस्या भइरहेको उनले बताए ।
दमाई जातीको शव बोकेर मलामी जान सोही अन्य दलित जातीका मानिस तयार नभएपछि गाडीका लागि पाटन नगरपालिकामा टेलिफोन आएको उपप्रमुख कमलसिंह बोहराले बताए ।
उनले दलितभित्र यस्तो जातीय विभेद रहिरहेसम्म जनप्रतिनिधिले कति चोटि गाडीको व्यवस्था गर्न सक्छन् ? भन्ने प्रश्न गरे । उनले भने, “शव व्यवस्थापनका लागि जनप्रतिनिधि र दलित संघ सस्था मिलेर गरौँला तर जातकै कारणले शव नउठ्ने अवस्था किन विद्यमान छ ? यस्तो कुरीति हटाउन दलित, गैर ददित सबै एकजुट हुन जरुरी छ । यस्तो घटना भोलि पनि हुन सक्छ ? समाजले विभेद गरिरहने हो भने कतिजनाको शव बोकेर अर्को ठाउँमा लैजान सम्भव होला ?”