२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने : सर्वोच्च अदालतको फैसला

१ श्रावण २०८२, बुधबार १३:२४

सर्वोच्च अदालतले २०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने फैसला गरेको छ।मंगलबार सर्वोच्चको बृहत् पूर्ण इजलासले २०७२ असोज १४ अघि विवाहित छोरीले पैतृक सम्पत्ति नपाउने भन्ने फैसला गरेको हो।त्यस मितिपछि विवाह गर्ने छोरीले मात्रै माइतीतर्फबाट अंशको हक प्राप्त गर्न सक्ने भनिएको छ।

अमेरिकामा बस्ने छोरी पुनम मुडभरीलाई विपक्षी बनाएर बुवा राममणि मुडभरीले सर्वोच्चमा दायर गरेको पुनरावेदनमा सर्वोच्चले यो व्याख्या गरेको हो। पाँच जना न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको इजलासले फैसला गरेको हो। फैसला गर्दा न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, शारंगा सुवेदी र मनोजकुमार शर्माले २०७२ असोज १४ गते अघि विवाह गरेका छोरीले पैतृक सम्पत्ति नपाउने फैसला गरेका हुन्।

अर्थात् त्यस मिति अगाडि मुलुकी ऐन, २०२० को अंशबण्डा १ नं ले विवाह नभएकी छोरीले अंश पाउने व्यवस्था गरेको थियो।

त्यसको छैटौं संशोधनले अंश पाए पनि विवाह खर्च छुट्याएर बाँकी सम्पत्ति नजिकका हकदारलाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो। त्यस्तै ११ औं संशोधनले अंश लिएकी छोरीको विवाह भएमा छोरीसँग बाँकी सम्पत्ति माइतीपट्टिको हकवालाको हुने व्यवस्था गरेको थियो।

त्यतिबेला विवाहित छोरी र अविवाहित छोरीका हकमा छुट्टाछुट्टै व्यवस्था गरिएको थियो। अविवाहित छोरीले अंश पाएमा पनि विवाह भएपछि उनले सम्पत्ति माइतीमै छोड्नुपर्ने भन्ने व्यवस्था गरेको थियो।

२०७२ असोज ३ गते संविधान जारी भएपछि छोरीलाई पनि छोरा सरह समान पैतृक सम्पत्तिको हक हुने सम्पत्ति र पारिवारिक मामिला दम्पतीको समान हक हुने स्थापित गरेको सर्वोच्चको फैसलामा उल्लेख छ।

२०७२ असोज १४ गते लैंगिक समानता कायम गर्न, लैंगिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ ले मुलुकी ऐनको ११ औं संशोधनले विवाह गरिसकेको छोरीको अंशबण्डा गर्नुपर्ने भन्ने व्यवस्थालाई खारेज गरेको थियो।

त्यसैले सर्वोच्चले त्यो मिति भन्दा अगाडि विवाह भएका छोरीहरूका लागि ‘नवीन व्यवस्था आकर्षित हुन नसक्ने’ व्याख्या गरेको हो।

‘२०७२ असोज १४ मिति पश्चात विवाह गर्ने विवाहित छोरीले मात्र माइती तर्फबाट अंश हक प्राप्त गर्न सक्ने भनेर व्याख्या भएको अवस्थालाई दृष्टिगत गर्दा अंशको मुद्दामा वादीले फिराद गर्दा बहाल रहेको कानुन अनुसार नै निर्णय गर्नुपर्ने देखिन आयो,’ बहुमतमा रहेको न्यायाधीशहरूले भनेका छन्।

सुरूमा काठमाडौं जिल्ला अदालतले २०६८ जेठ ६ गते छोरी पुनम मुडभरीलाई ६ भागको एक भाग सम्पत्ति विवाहको खर्च छुट्याएर दिने फैसला गरेको थियो।

त्यस फैसलाविरूद्ध बुवा राममणिले तत्कालीन पुनरावेदन अदालत पाटन (अहिले उच्च अदालत पाटन) मा गएका थिए। उक्त अदालतले जिल्लाकै फैसलालाई २०७० साउन १७ गते सदर गरेको थियो।

सर्वोच्चले जिल्ला अदालतको फैसलालाई सदर गर्ने पुनरावेदनको फैसला मिलेको वा नमिलेको भन्नेबारे पनि विचार गरेको छ।

यसमा मुद्दा दर्ता भएको समयमा रहेको कानुन नै आकर्षित हुने भएकाले २०७२ असोज १४ अघि विवाह गरेकी छोरीले सम्पत्ति नपाउने व्याख्या गरेको हो।

‘पछि आएको ऐनमा किटानसाथ अन्यथा उल्लेख गरेको अवस्थामा बाहेक मुद्दाका पक्षहरूको हक र दायित्व फिराद दायर हुँदाका बखत भैरहेको कानुन अनुसार हुने भएकोले २०७२ असोज १४ अगाडि विवाह भएको छोरीले बाबु तर्फबाट अंश हक प्राप्त गर्न नसक्ने हुन्छ,’ फैसलामा उल्लेख छ।

जिल्ला र पुनरावेदनको फैसला चित्त नबुझेपछि राममणि २०७३ जेठ २० गते सर्वोच्च पुगेका थिए।

२०७६ वैशाख १५ गते जटिल कानुनी प्रश्न समावेश भएको भन्दै सर्वोच्चले त्यसलाई पूर्ण इजलासमा पठाउने निर्णय गर्दा यस्तो व्याख्या भएको हो।

पाँच जनाको इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको राय अल्पमतमा परेको हो।

दुई जना न्यायाधीशले भने छोरीको पनि पैतृक सम्पत्तिमा हक हुने भनेर राय पेस गरेका थिए।

‘कुनै पनि आवरण वा कारण वा अन्तर्यका आधारमा पहिले नै न्यायको याचना लिई अदालतमा प्रवेश गरी विचाराधीन रहेका विवादमा अंश नपाउने भनी इन्‍कार गर्नु संविधान र कानूनको मनसाय तथा व्यवस्था अनुकूल हुँदैन,’ दुई न्यायाधीशको रायमा उल्लेख छ, ‘यसरी विधायिकाले विवाह भएको छोरीले पैतृक सम्पत्तिमा अंश नपाउने कुरा हटाएको अवस्थामा सो पूर्व अंशमा फिराद परी विचाराधीन रहेको मुद्दामा संशोधित व्यवस्था आकर्षित नहुने भन्नु न्यायलाई इन्कार गरिएको मान्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला