2026-08-03 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै

काठमाडौँ | पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ । सडक स्तरोन्नतिका लागि यही मङ्सिर २४ देखि आगामी पुस १ गतेसम्म दिउँसोमा दैनिक पाँच घण्टा सवारीसाधन रोकेर काम गरिँदै छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका आयोजना प्रमुख सजना अधिकारीका अनुसार राजमार्ग रोकिएको समयमा सवारी चाप कम हुने भएकाले चितवनको घोप्टेभिर र धादिङको खतौडी तथा डाहाकीमा भित्तो काट्ने काम गर्न लागिएको हो ।

उहाँका अनुसार काठमाडौँतर्फबाट आउने सवारीसाधन रोकिएपछि सडकमा चाप घट्ने छ । मुग्लिनतर्फबाट जाने सवारीसाधनलाई रोक्ने योजना नभएको भए पनि नागढुङ्गा–मलेखु सडक बन्द हुने भएकाले सवारीसाधनको चाप कम हुने छ । यही अवसरलाई उपयोग गर्दै आंशिक सवारी साधन रोकेर भित्तो काट्ने तयारी गरिएको अधिकारीले बताउनुभयो ।

तीनवटै ठाउँमा ४० मिटर हाराहारी लम्बाइ र ८० मिटर हाराहारी अग्लो पहाडको भित्तो काट्नुपर्ने हुन्छ । ती क्षेत्रमा सात मिटर चौडाइ सडक छ । यसलाई दुई मिटर विस्तार गर्ने योजना रहेको छ । आयोजनाका इन्जिनियर विजय दरैका अनुसार सडक बन्द नगरी भित्तो काट्न सक्ने अवस्था छैन । यही समयलाई उपयोग गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सो सडकखण्डको धादिङको विशालटार क्षेत्रमा आइतबारदेखि कालोपत्र सुरु गरिएको छ । क्रमशः कामलाई तीव्रता दिन थालिएको छ ।

सो सडकका पुलको पहुँच सडकको काम सुरु गरिएको छ । चार पुलको पहुँच सडकको काम गर्न लागिएको हो । पुल र अन्य भागमा बेरिएर राख्ने काम थालिएको तथा ड्रेनको काम पनि सुरु गरिएको छ । सो खण्डको ३८ दशमलव ८६ किलोमिटरमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । थप पाँच किलोमिटर सडक कालोपत्रका लागि अन्तिम तयारी गरिएको छ । सोही ठाउँमा कालोपत्र गर्न थालिएको हो ।

दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताउनुभयो । उहाँका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुने छभने बाँकी सडक दुई लेनको हुनेछ ।

विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । आगामी पुस १५ मा म्याद यसको सकिँदै छ । म्याद थपका लागि प्रक्रिया अघि बढेको दरैले बताउनुभयो । डिजाइन परिमार्जनलगायतका कारण केही महिना निर्माण कम्पनीले म्याद थप पाउने उहाँको भनाइ छ ।

शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा सो खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छन् ।

यो सडक विश्व बैङ्कको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । सडकमा सवारीसाधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन