११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’

११ पुष २०८२, शुक्रबार १६:११

काठमाडौँ | बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा रहेन भन्ने खबर सुन्दा एउटी आमालाई कति दुःख लाग्यो होला ? आन्दोलनमा जान्छु भन्दा ‘नजाऊ’ भन्नुहोला भनेर हुनुपर्छ जेनजी आन्दोलनका सहिद शुभराम बलामीले आमा भगवती बलामीलाई आन्दोलनमा जानेबारे केही भन्नुभएन । घुँडाको बिरामी आमा भगवती अहिले पनि एक्लो छोरा शुभरामलाई सम्झिएर पीर गर्नुहुन्छ ।

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्नुहुन्थ्यो । केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा हुनुहुन्थ्यो । त्यसका लागि ‘मेनपावर’ कम्पनीलाई राहदानीसमेत बुझाइसक्नुभएको थियो । त्यसको प्रक्रियाका लागि गाउँबाटै काठमाडौँ आवतजावत गर्नुहुन्थ्यो ।

‘मेडिकल’ गर्ने, कागजपत्र मिलाउनेलगायत काममा लागि लागिरहेका एक युवा शुभरामको भौतिक चोला गत भदौ २३ गतेको जेनजी आन्दोलनमा क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर दुःखद् अन्त्य भएको थियो । निधनको खबर ‘टिकटिक’ मा देखेपछि साथीभाइ र छिमेकीले आमा भगवतीलाई देखाए । आमा भगवती बलामी ‘मेरै छोरो हो’ भन्दै रून थाल्नुभयो । सहिद शुभरामकी बहिनी सुनिता बलामीलाई पनि तुरुन्तै माइतीघर बोलाइयो । शुभरामको खप्परमा गोली लागेर वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सोही दिन राति पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको थियो ।

बिहान आफैँले खाना पकाएर खुवाएको छोरा शुभराम बेलुका फर्कनेमा आमा भगवती बलामी ढुक्क नहुने कुरै भएन । बेलुका पनि खाना पकाएर कुरेर बसेको तर त्यहीबेला मृत्युको भिडियो हेर्नुपरेको आमा भगवतीले बताउनुभयो । छोराका सम्झना गराउँदा झन् पीडा हुने त हुन्छ नै तर पनि ४५ वर्षीय आमा भगवती बलामीसँग राससका लागि संवाद गर्दै भन्नुभयो, “साथीहरुसँग लागेर आन्दोलनमा गएको रहेछ । मलाई केही भनेको थिएन । ‘म्यानपावर’ जान्छु भनेको थियो । अरु साथीहरु लुकेर बाँचेछन् । ऊ कता कसरी गोली खान पुग्यो थाहै भएन ।”

उहाँले आफूलाई छोरा शुभरामको बेस्सरी सम्झना आइरहने बताउँदै भन्नुहुन्छ, “सम्झना त कति आउँछ । आउँछ । बेलुकाबेलुका भएपछि छोरा घर आउँला कि जस्तो लाग्छ…। बुबाले लगाएको ऋण जसरी पनि तिर्न विदेश गएर कमाउने उसको धोको थियो । त्यो अधुरै रह्यो ।” विदेश गएर केही कमाएर फर्किएपछि छोराको विवाह गरेर बुहारी भित्र्याउने आमाको चाहनामा पनि गहिरो चोट पर्न गएको छ । नेपाल सरकारले जेनजी आन्दोलनका सहिदलाई दिने निर्णय गरेको क्षतिपूर्तिबापत रु १० लाख अन्य खर्च रु पाँच लाख गरी रु १५ लाख शुभरामको परिवारले पनि पाएको छ । त्यो राहतले ऋण तिर्न र घर खर्च चलाउन मद्दत नै भएको शुभरामको परिवारको भनाइ छ ।

शुभरामका पिता रामकृष्ण बलामी वित्तीय संस्थामा धरौटी राखिएको घर जग्गाको ऋण तिर्न नसकेर पारिवारिक बेमेलका कारण विदेशमा गएर बस्नुभएको पनि ११ वर्ष भइसकेको थियो । पिता रामकृष्णले घरपरिवारसँग नियमित सम्पर्क नगर्दा उहाँहरुको परिवारलाई एकप्रकारको समस्या भइरहेको थियो । अविवाहित शुभराम ऋण तिर्ने र राम्रो आम्दानी गर्ने सोचका लागि मलेसिया जाने तयारीमा हुनुहुन्थ्यो । शुभरामका पिताका तीन भाइको गाउँमा सगोलमा नौ÷दश रोपनी जग्गा छ । त्यहीमध्येको केही जमिनमा भगवतीले खेती गर्ने गर्नुहुन्छ । मल हाल्न र पानी लगाउनसके धान, गुहुँको उत्पादन ठिकै हुन्छ ।

कलिलै उमेरमा विवाहबन्धनमा बाँधिनुभएकी भगवती बलामी अहिले कान्छी छोरीलाई साथमा लिएर घरखेत गरेर बस्नुभएको छ । श्रीमान् रामकृष्ण बलामी ‘विनासकारी भूकम्पपछि ऋण लगाएर कहाँ जाने, के गर्ने केही सल्लाह नगरी फुत्त घरबाट निस्किएको र छोरा बित्नुअघिसम्म सम्पर्कमा नआएको’ भगवती बलामीको गुनासो रहेको छ । छिमेकी जिल्ला काठमाडौँको धारापानी माइत भएकी भगवतीको १६÷१७ वर्षकै उमेरमा रामकृष्ण बलामीसँग विवाह भएको थियो । शुभरामकी बहिनी सुनिता बलामी दुःख मान्दै भन्नुहुन्छ, “मेरो एउटा मात्र दाइ हुनुहुन्थ्यो । बेलाबेलामा फोन गरिरहनुहुन्थ्यो । मलाई माया गर्नुहुन्थ्यो । त्यही पनि यस्तो दुःखद् घटनामा परेर बित्नुभयो… ।”

शुभरामको निधनपछि घरमा आमा भगवती र एक बहिनी मात्रै भएकाले अब खेतीपाती गर्न पनि कठिन भएको र बेला बेलामा हेरचाहका लागि आफू माइती जाने गरेको शुभरामकी बहिनी सुनिता बलामीले राससलाई बताउनुभयो । बहिनी सुनितासँग अन्तिम पटक दाई शुभरामको घटना हुनुभन्दा तीन दिनअघि भेट भएको थियो । विदेश जाने तयारीका कुराकानी भएका थिए । अब केबल सम्झनामा मात्रै दाई शुभराम रहेको सुनिताको भनाइ छ । शुभरामको मृत्युपछि भने पिता रामकृष्ण अहिले परिवारको सम्पर्कमा आउनुभएको छ । कक्षा ९ सम्म पढेका शुभराम लामो समय ज्याला मजदुरीमा रहनुभएको थियो । त्यसले मात्रै आफ्नो र परिवारका लागि खर्च धान्न धौधौ हुन्थ्यो । भएको खेतीपातीमा सामान्य उत्पादन भए पनि त्यसबाट खासै आर्थिक उपार्जन हुँदैनथ्यो ।

नातामा शुभरामका मामा राजेश बलामी शुभरामलाई राजनीतिमा खासै चासो नहुने र कुनै दलमा पनि सक्रियतापूर्वक आबद्ध नभएको व्यक्ति कसरी आन्दोलनमा पुगे भन्ने आफूहरुलाई पनि थाहा हुन नसकेको बताउनुहुन्छ । “ऊ त्यस्तो राजनीतिमा चासो राख्ने मान्छे होइन । साधारण मजदुरी गरेर खाने मान्छे हो”, कागती गाउँका स्थानीय राजनीतिक कार्यकर्ता राजेश बलामीले भन्नुभयो, “छोरो काम गर्नसक्ने भएपछि आफूलाई सुःख हुन्छ भन्ने दिदी भगवतीको चाहनामा गम्भीर ठेस लागेको छ । साह्रै दुःखद् घटना भयो ।” परिवारका अरु सदस्यका लागि राज्यका तर्फबाट कुनै रोजगारी वा अरु सहयोग भए आफूहरुलाई सहज हुने भनाइ पनि राजेश बलामीको रहेको छ ।

विगतमा बालविवाहको गाउँका रुपमा चिनिने कागती गाउँमा अहिले पनि बालविवाहका क्रममा सुधार आएको छ । साविकको ओखरपौवा गाविसमा पर्ने कागती गाउँ राजधानी काठमाडौँबाट १५ किलोमिटर पश्चिममा पर्छ । यहाँ बलामी जातिको मुख्य बसोबास रहेको छ । यहाँका बलामी समुदायमा वर्षमा एक दिन मात्र श्रीपञ्चमीका दिन बालविवाह गर्ने पुरानो परम्पराका कारण बालविवाहले यो गाउँ चर्चित भए पनि हाल त्यो प्रथा हटिसकेको छ ।

काठमाडौँको फोहर विसर्जन स्थल ओखरपौवा डम्पिङसाइटको बाटो निर्माणपश्चात् कागती गाउँको मुहार पनि फेरिएको छ । अहिले सडक वरपर घर बनाउने, व्यापार गर्ने मानिसको सङ्ख्या बढ्दो छ, जसका कारण स्थानीयवासीको जीवनस्तरमा क्रमशः परिवर्तन आएको छ । यसले भविष्यमा गाउँको बसाइँ सहर जस्तै सुविधा सम्पन्न हुने स्थिति हुँदै थियो, शुभराम बलामीहरु कामकै लागि विदेश जानुपर्ने अवस्था हुँदैनथ्यो । तर जेनजी आन्दोलनमा शुभराम सहिद हुन पुगेपछि स्थानीहरु गाउँ, सहर वा विदेश कहाँ के गर्दा राम्रो भन्नेबारेमा ढुक्कले भन्नसक्ने अवस्थामा छैनन् । आन्दोलन र घटनाबाट पाठ सिकेर मुलुक हाँक्ने नेतृत्व र सरोकार भएका पक्षले जनताको जीवनस्तर सुधार र मुलुकका सुशासन तथा शान्ति कायमका लागि मिलेर काम गरिदिएमा सायद सहिदको सपना पनि पूरा हुने स्थानीयवासीको बुझाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Skip to toolbar
मुख्य समाचार
चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित