२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि उपकुलपतिसमक्ष अध्ययन प्रतिवेदन हस्तान्तरण

२८ चैत्र २०७४, बुधबार ०७:१९

कुमार चौलागार्इं/चैत २८ कीर्तिपुर | त्रिवि आयुर्वेद अध्ययन संस्थान स्थापनाका लागि गठित अध्ययन समितिले त्रिवि उपकुलपतिसमक्ष संस्थान गठनको प्रारुप र प्रक्रियासम्बन्धी राय–सुझाव सहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । 

अध्ययन समितिका संयोजक आयुर्वेद क्याम्पस, कीर्तिपुरका प्रा डा चन्द्रराज सापकोटाले उपकुलपति प्रा डा तीर्थराज खनिया र शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीलाई संयुक्तरुपमा आज उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । 

चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत कीर्तिपुरमा रहेको एक मात्र आयुर्वेद क्याम्पसलाई अलग्गै आयुर्वेद अध्ययन संस्थानअन्तर्गत सञ्चालनमा ल्याउने सम्भाव्यता अध्ययनका लागि गत फागुन १६ गते प्रा डा सापकोटाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन कार्यदल गठन भएको थियो । 

प्रतिवेदन बुझ्दै त्रिविका उपकुलपति प्रा डा खनियाले छोटो समयमा तोकिएको कार्यभार पूरा गर्ने अध्ययन समितिका सदस्यलाई धन्यवाद दिँदै प्रतिवेदन सम्बन्धमा अध्ययन गरी कार्यकारी परिषद्मा छलफल गर्ने र निर्णयका लागि आगामी त्रिवि सभामा पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले समय र आवश्यकताका आधारमा आयुर्वेद अध्ययन संस्थान गठनको प्रक्रिया जायज भएकाले त्रिवि सभाबाट आवश्यक निर्णय गर्न पहल गरिने बताउनुभयो ।

कार्यदलको सो अध्ययन प्रतिवेदनमा दश वर्षे दीर्घकालीन योजनासहित आयुर्वेद जनशक्तिको विद्यमान स्थिति, आयुर्वेद विशेषज्ञ जनशक्तिको आवश्यकता, संवैधानिक तथा नीतिगत आधार, अध्ययन संस्थान स्थापनाको औचित्य, प्रस्तावित कार्यक्रम, आर्थिक प्रक्षेपणलगायत विषयवस्तु समेटिएको संयोजक प्रा डा सापकोटाले राससलाई बताउनुभयो । 

समितिले दीर्घकालीनरुपमा आयुर्वेदसम्बन्धी २२ वटा विषयमा एम फार्मेसी, एम डी÷एम एस आयुर्वेदको पठनपाठन गर्न गराउन सकिने सम्भाव्यता रहेको पनि प्रतिवेदनमा सुझाव दिएको छ । 

नेपालको संविधान २०७२ को धारा ५१ को खण्ड (ज) (७) मा नेपालको परम्परागत चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा, होमियोपेथिकलगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवद्र्धन गर्ने विषय उल्लेख छ । 

त्यस्तै सरकारले राष्ट्रिय स्वास्थ्य नीति २०७१ मा आयुर्वेद क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादनको कार्यक्रमलाई प्राथमिकता दिने विषय उल्लेख गरेको छ भने राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ बुँदा नं ६ मा पनि चिकित्साजस्तो प्राविधिक क्षेत्रमा योग्य, दक्ष र कर्तव्यनिष्ठ जनशक्तिको अहम् भूमिकालाई मनन गरी आयुर्वेद क्षेत्रमा समर्पित भएर कार्य गर्न आयुर्वेदनिष्ठ जनशक्तिको प्रभावकारी उत्पादन र त्यसका विभिन्न पक्ष (शिक्षा, सेवा, र औषधि निर्माण) को गुणस्तर अभिवृद्धि तथा उत्तरोत्तर विकास गर्दै लैजानको लागि आवश्यक साधनयुक्त अनुसन्धान केन्द्रसहित राष्ट्रिय आयुर्वेद अध्ययन संस्थानको स्थापना त्रिविअन्तर्गत गरिनेछ भन्ने विषय उल्लेख भएको अध्ययन समिति संयोेजक सापकोटाले जानकारी दिनुभयो । 

उक्त अध्ययन समितिमा नेपाल आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष प्रा डा धनिकलाल भरखेर, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा शिवमंगल प्रसाद र सह प्राध्यापक डा राजकिशोर शाह, आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय र डा राजेन्द्रकुमार गिरी, सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप खरेल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका अध्यक्ष डा ऋषिराम कोइराला र नरदेवी आयुर्वेद चिकित्सालयका अध्यक्ष शंकर पौडेल रहनुभएको छ । 

हाल त्रिविअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान गरी पाँचवटा अध्ययन संस्थान रहेका छन् भने व्यवस्थापन, कानून, शिक्षाशास्त्र र मानविकी तथा सामाजिक शास्त्र गरी चार वटा संकाय रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ