सम्पादकीय-विचल्लीमा भूकम्प पीडित

Posted on: 27 Apr, 2016

भूकम्पले क्षेतविक्षत भएको पनि एक बर्ष पुरा भयो तर अझै पनि भुकम्प पीडित राहतको प्रखाइमा रहेका छन् । बर्षौ दिन पुग्दा पनि भूकम्प पीडित अझै पालको भरमा जिविन व्यतित गरिहरको छन् । ‘यस्तै ताल हो भने एक दशकमा पनि भूकम्प पीडितहरूलाई घरभित्र पसाउन सकिँदैन ।’ पुर्ननिर्माणको कार्य गर्नको लागि सरकार जिम्मेवारी भएको देखिदैन ।

शंखेकिराको गतिमा पुर्ननिर्माणको कार्य अगाडी बढाएको सरकार भूकम्प पीडतप्रति  गैरजिम्मेवारी भएर प्रस्तुत भएको आम नागरिकलाई अबगत भएको कुरा हो । यस्तो दिव्यज्ञान प्राप्त गर्न नै एक वर्ष लगाएको सरकारले अब कुनै अर्को भूकम्पको साइत कुरेको हो या, आफ्नो गैरजिम्मेवारीपन दर्शाएको हो  । एक बर्षसम्म दिव्यज्ञान हासिल गर्न लागेको सरकारले भूकम्प पीडित सबै घर, बस्ती, सडक र देवलको पुनर्निर्माण बारे भने गम्भीर आशंका र प्रश्न ज्युँकात्युँ छन् ।

मुख्तियार भीमसेन थापा होउन् या श्री ३ महाराज जुद्ध शमशेर या प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, उनीहरू सबैजसोको प्राथमिकता भने जनताका घर र बस्ती होइनन्, धरहरा नै रहेको छ, जुन गज्जबको संयोग मिलेको छ । बर्षदिनमा पनि गरीब जनताको घर निर्माण र उनिहरुको सरकारको अनुभूति दिलाउनको लागि भन्दा पनि सरकार धरहराको निर्माण गरी वाहवाह कमाउन खोजिरहेको छ ।

जनताको घर बनाउनको लागि विदेशी दातृ निकायको मुख ताकेको ओली सरकार धरहराको निर्माण भने आफै नेपालीले बनाउँन पर्छ भन्दै विकुल फुकिरहेका छन् । भूकम्प पीडितहरू चिसोले कठ्यांग्रिएर मर्नुपर्ने अत्यन्त तितो यथार्थ र उनले सिर्जना गर्न खोजेको ‘भर्चुअल रियालिटी’ बीचको द्वन्द्वको अभिव्यक्तिमा देखिन्छ । झट्ट हेर्दा झिलिमिली आकर्षक र लोभलाग्दो  तर त्यसले जनताबीच भ्रमको खेतीबाहेक केही गरेको छैन ।

रात्री भोज र दिवा भोजको लागि राष्ट्रीय ढुकुटीबाट करोडौ रकम सिध्याउने ओली जनताको घर बनाउनको लागि विदेशी अनुदान र ऋणमा लिएर देशलाई डुबाउने खेलमा लागिरहेको यो तितो यथार्थनै हो । भूकम्पले नेपाली नागरिकलाई सडकमा ल्यायो तर एनजिओलाई भने मालमाल बनाएको छ । भुकम्पको लागि आएको राहतमा पनि राजनीतिकरण भएका कारण अझै पीडिहरु राहतको प्रखाइ र सरकारको मुहार हेर्नको लागि प्रतिक्षमा रहेका छन् ।

राष्ट्रबादको नारा घन्काउने ओली सरकार कहिले संविधान घोषणा भएकोमा भोज, कहिले सरकार गठन भएको खुसियालीमा पार्टी, कहिले भारत र चीन भ्रमणको सफलतामा डिनर त कहिले आफ्नै गुटगत अभियानका लागि लन्चमा नै व्यस्त भएको छ जसका कारण पनि सरकारले भूकम्प पीडितको लागि केहि गर्नको सकेको छैन । सरकारले भूकम्प पीडितलाई सरकारको अनुभूति गराउनको लागि अझै सकिराखेको छैन । सरकारले तत्तकाल भूकम्प पीडितलाई सरकारको अनुभूति दिलाउन सक्नुपर्छ यहि नै जनताको लागि     सरकारको अनुभूति हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!