माघ २६, मोरङ | विवाहित प्रेमिकाले फोन नउठाएपछि प्रेमीले घाँटी रेटेर हत्या गरेका छन् | सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको घांटी रेटेर हत्या गरेको आरोपमा २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ | गत माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ मा रहेको उखुबारीमा परियारको घांटी कांटेर सलले बेरिएको अवस्थामा फेला पारेको थियो | प्रहरीका अनुसार उक्त शव बसन्त परियारकी श्रीमती सम्झना खत्री परियारको रहेको खुलेको थियो |
सप्तरीको कृष्णश्रवण गाउँपालिका वडा नं ३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउपालिका वडा नं. ३ पोठियामा डेरामा बस्दै आएका क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर ईन्चार्जको रूपमा कार्यरत सुरेन्द्रप्रसाद साह र मृतक सम्झना खत्री परियारवीच विगत ३ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ | त्यसकै आधारमा साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो |
प्रहरीका अनुसार माघ २१ गते मंगलबार बिहान १० बजेदेखि मृतक परियार साहको सम्पर्कमा नरहेकाले उनले पटक–पटक फोन गरेको खुलेको छ | परियारले फोन नउठाएपछि साह उनकै घरमा भेट्न पुगेको तर, घरमा कोही फेला नपरेपछि उनी पुनः फ्याक्ट्री फर्किको थियो |
अपरान्ह चार बजे साह पुनः परियारलाई खोज्न वरपरको क्षेत्रमा डुलिरहँदा बाँसबारी चोक अगाडि भेटेपछि उनलाई मोटरसाइकलमा चढाएर विराटनगर महानगरपालिका–१२ पुर्याएर त्यहाँ गफ गर्ने क्रममा दुई जनाबिच वादविवाद भएपछि रिसको आवेगमा साहले परियारको सल घाँटीमा बेरेर तान्दै उखुबारीमा पुर्याएर बाँसले घाटी रेटेर हत्या गरेको प्रहरीको भनाइ छ | प्रहरीले मृतक सम्झना खत्री परियारलाई घटनास्थल सम्म बोकेर लगेको मोटरसाईकल र दुईवटा मोबाइल नियन्त्रणमा लिएको छ | उनले आफुले नै परियारको हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीको भनाइ छ |