२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङको स्याउ विश्व बजारमा

२०७७, १५ भाद्र सोमबार ०५:३३

भदौ १५, मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ ।

हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ । आम मानिसलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेँसी झर्न बाध्य बनाउँछ । तीन हजार पाँच सय १९ मिटरको उचाइमा रहेको मनाङ सीमित खेतीयोग्य जमिन र उत्पादनमा रमाउँछ । गोराहरु उकालो लागे, पर्यटन फस्टायो तर प्रकृतिले दिएको चिसोलाई ‘क्याच’ गर्नबाट मनाङ चुकिरह्यो । छिमेकी जिल्ला मुस्ताङले लहलह स्याउ फलाउँदा मनाङ जौ, आलु, फापर जस्ता अन्नबालीमा निर्भर रह्यो ।

सर्पमा विख र मान्छेमा इख चाहिन्छ भन्छन् । राजनीतिक चेत भएका पोल्देन छोपाङ गुरुङ आफैँ मनाङमा केही गर्न चाहनुहुन्थ्यो । उहाँले बाउबाजेको थलोमै स्याउ फलाउने निधो गर्नुभयो । करिब १० वर्षअघि त्यस्तो सपना देख्नु दुस्साहस नै थियो ।

परम्परागत स्याउ खेतीलाई उन्नत र बृहत् बनाउन एग्रो मनाङ प्रालि नामक कम्पनी खडा गरिएको छ । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ । सात्ताइस वर्षका लागि रु १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा रसिलो स्याउ फलाउन  हालका सङ्घीय सांसदसमेत रहनुभएका पोल्देन छोपाङ गुरुङसहित परिवार नै कस्सिएको छ ।

मलिलो माटो नै नभएको भ्राताङको गेग्रानमा २०७० सालतिर स्थानीयभन्दा फरक खालका गाला, गोल्डेन र फुजी गरी तीन जातका स्याउका बिरुवा रोपियो । बिरुवाहरु इटाली र सर्भियाबाट ल्याइएको थियो । “हाम्रो ठाउँ (भ्राताङ)मा थप जग्गा पनि छैन, लगभग ७३५ रोपनीको फार्ममा ५५० रोपनीमा अहिले स्याउ उत्पादन भइरहेको छ”, मनाङ एग्रो प्रालिका निर्देशक युवराज गुरुङले भन्नुहुन्छ, “अहिलेसम्म रु ३० करोड लगानी भएको छ, हाम्रो आठ जनाकै परिवार यही फार्ममा संलग्न छौँ ।”

उहाँका अनुसार स्याउ खेतीका लागि शुरुमा हिमाली परियोजनाले रु दुई करोड २४ लाख अनुदान दिएको थियो । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान छ । बाँकी लगानी बैंकतिरबाट जुटाइएको उहाँले सुनाउनुभयो ।

अहिले स्याउ हरियै छ । करिब साढे दुई महिनापछि स्याउ पाक्छ, फार्ममा रहेका ६८ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन् । केही बिरुवा यही वर्ष थपिएको छ । “यो पटक ६०० टन उत्पादन होला, मूल्य चाहिँ गुणस्तरअनुसार लिने हो”, व्यवस्थापन विषय पढेका ३७ वर्षीय युवराजले भन्नुभयो, “बजारको समस्या छैन । कति स्याउ वाइन उद्योगलाई दिइन्छ, कति चाना बन्छ, केहीको जुस बनाइन्छ ।”

 स्याउ त सबै ठाउँमा फल्छ 

विश्व बजारमा निर्यातको सपना पालेका युवराजले दुई हजार ८५० मिटर उचाइमा उत्पादित स्याउलाई ‘हिमालयन फ्रेस’ को नाममा ‘ब्राण्डिङ’ गरिरहनुभएको छ । मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्राण्डमा विदेशी बजारमा देखिएको दिन आफ्नो सपना पूरा हुने उहाँले बताउनुहुन्छ । 

यो स्याउ फार्म एसियाकै ठूलो हो । फार्ममा प्रत्यक्ष २६/२७ जनाले काम गरिरहेका छन्, सिजनमा अरु २२/२४ जनाले पनि काम पाउने युवराजको भनाइ छ । फार्म सञ्चालनसँगै मनाङ एग्रोले गण्डकी सरकारलाई स्याउ खेतीबारे प्राविधिक सहयोग पनि दिन थालेको छ । गण्डकी सरकारले मनाङसँगै गोर्खाको चुनुब्रीमा शुरु गरेको स्याउ खेती परियोजनामा मनाङ एग्रोले नै सघाएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल