इलाम जिल्लाको शान्तिपुर गाउँ विकाश समितिमा माता स्व. जानुका देवी श्रेष्ठ र पिता
स्व. रामनारायण श्रेष्ठको जेष्ठ सुपुत्रको रुपमा वि.स. १९९५ मंसिर २५ गतेका दिन यस धरातलमा पाइला टेकेका
तुलसीदास श्रेष्ठ अग्रज साहित्यकार, सफल शिक्षक तथा पत्रकार हुन् ।
साहित्यका विभिन्न
विधाहरु कथा, कविता, उपन्यास र निबन्ध आदिमा प्रचुर मात्रामा लेख रचना कोर्ने साहित्यकार श्रेष्ठ हाल
झापा स्थित सुरुङ्गा गा.वि.स. अन्तर्गत वडा नं. ९ मा बसोबास गर्दै आएका छन् ।
दार्जिलिङबाट
प्रकाशन हुने भारती मासिक पत्रिकामा ‘इच्छा’ शीर्षकको कविता प्रकाशन गरे पश्चात नेपाली साहित्यमा विधिवत
रुपमा प्रवेश गरेका सर्जक श्रेष्ठको एक शिक्षक उपन्यास– २०३५, अतित दोहोरिन्छ कथा संग्रह– २०५७, वर्तमान
यस्तै छ कविता संग्रह– २०६० र आदर्श मान्छे उपन्यास– २०६१ गरी जम्मा ४ कृति प्रकाशन भएकाछन् भने उनका
स्थानिय तथा राष्ट्रिय स्तरबाट प्रकाशन हुने विभिन्न पत्र–पत्रिकाहरुमा प्रशस्त लेख, रचना प्रकाशन भई
सकेकाछन् ।
गाउँ, समाज, राष्ट्र र विश्वलाई नै पृथक ढङ्गबाट विश्लेषण गर्ने खुबी भएका यी लेखक
कनकाई प्रतिभा प्रतिष्ठान, विवेचना दैनिक भद्रपुर, सहकार्य युवा क्लब सुरुङ्गा, जिल्ला शिक्षा कार्यालय
झापा, नेपाल शिक्षक संगठन झापा तथा अन्य थुप्रै संघ संस्थाहरुबाट सम्मानित तथा अभिनन्दित भई सकेकाछन् ।
विभिन्न स्थानिय स्तरका संघ संस्थाहरुमा समेत संलग्न रहेका स्रष्टा श्रेष्ठ झापाली साहित्यिक जगतमा
विशिष्ट स्थान ओगट्न सफल छन् ।
प्रस्तुत छ, उनीसँग साझा सबालका
सह–सम्पादक गौरव पोखरेलले गरेको कुराकानीको सार संक्षेपः–
नेपाली
साहित्यिक यात्रामा कहिलेबाट प्रवेश गर्नु भयो र साहित्यमा लाग्ने प्रेरणा कहाँबाट पाउनु भयो ?
– म दार्जिलङ् टर्नवुल हाई स्कुलमा सात कक्षामा पढ्दा खेरी सधै त्यहाँ प्रवासी
नेपालीहरुले खोलेको ‘गोर्खा दुःख निवारण संघ’ ले आयोजना गर्ने साहित्यिक गोष्ठीहरुमा नियमित रुपमा
सहभागी हुने गथ्र्ये ।
सधैं जसो कविताहरु पनि कोर्ने गथ्र्ये । एक वर्ष अघिबाट मैले भारती
पत्रिकाको लागि कविता प्रेषित गर्दै आएको थिएँ । तर छापिएको थिएन ।
एक दिन त्यस पत्रिकाको
सम्पादकले पत्र पठाएका रहेछन् र पत्रमा यस्तो लेखेका थिए– “शिकारु लेखकज्यू, अब तपाईंले नलेख्नु होला
तपाईका आर्टिकलहरु डोकोमा हाल्दा १० डोको जति भई सक्यो ।’
यहाँ राख्ने ठाउँ छैन ।” मैले त्यो
कुरोलाई समेत सकारात्मक रुपले लिदैँ साहित्यिक रचना गरी नै रहेँ । एक दिन उनीहरुले निकालेको भारती भन्ने
पत्रिकामा इच्छा शीर्षकको कविता छापिएछ ।
त्यस दिन मलाईं पारसमणी प्रधानले बोलाएर फूच्चे सानो
केटा भए पनि राम्रो कविता लेख्दो रहेछ भनेर एउटा पुस्तक पुरस्कार दिए । त्यही दिनबाट ममा साहित्यप्रति
अभिरुचि बढेको हो ।
एक दिन त्यस पत्रिकाको
सम्पादकले पत्र पठाएका रहेछन् र पत्रमा यस्तो लेखेका थिए– “शिकारु लेखकज्यू, अब तपाईंले नलेख्नु होला
तपाईका आर्टिकलहरु डोकोमा हाल्दा १० डोको जति भई सक्यो
।’
तपाईंको विचारमा साहित्य भनेको के हो
?
– साहित्य भनेको विचारको प्रवाह हो । यसलाई जो कोहीको विचारहरु समाजमा सम्प्रेषण
गर्ने माध्यमको रुपमा पनि हेर्न सकिन्छ । मानिसहरु दुई किसिमका हुन्छन्, एउटाले साहित्यलाई मन पराउछन् त
अर्काले मन पराउदैनन् । मन पराउने मानिसहरुले साहित्यमा मरिमेट्ने गर्दछन् र अन्ततः चर्चाको शिखरमा
पुग्दछन् ।
नेपाली साहित्यको उत्थान र विकासको निम्ति समय–समयमा साहित्यिक गोष्ठी सभा तथा
सम्मेलनहरुको आवश्यकता हुने गर्दछ । बेला बखतमा साहित्यकारहरुसँगको भेटघाट जस्ता कार्यक्रमहरुको आयोजना
गरिनु पर्छ र एक अर्कामा भएको साहित्यिक क्षमताको आदानप्रदान गर्दै नेपाली साहित्यको उत्थान गर्नु पर्दछ
।
तपाईले धेरै कृतिहरुको लेखन गरिसक्नु भएको छ, धेरैवटा पत्र–पत्रिकामा पत्रकारिता
गरिसक्नु भएको छ । नेपाली पाठकहरुले कस्तो कृति तथा रचनाहरुको खोजी गरिरहेको पाउनु भएको छ
?
– यस प्रश्नको सम्बन्धमा विभिन्न व्यक्ति, व्यक्तित्वसँग आ–आफ्नो विचार हुने गर्दछ ।
मेरो विचारमा नेपाली पाठकहरुले यथार्थताको खोजी गरिरहेकाछन् । लेख तथा रचना सत्यवादी हुनु पर्दछ
।
सत्य घट्ना तथा विचारहरु प्रस्तुत गरे राम्रो हुन्छ जस्तो मलाई लाग्छ । जस्तो अहिलेका
नेताहरुले जनताको पक्षमा मुक्तकण्ठले वकालत गरेको पाइदैँन । उनीहरु व्यक्तिगत तथा पार्टीगत कुरा र
हितमात्र हेर्ने गर्छन् । तसर्थ साहित्यकारले यथार्थ कुरालाई उद्गार गर्दै जनता समक्ष पस्कन सक्नु पर्दछ
।
अन्त्यमा असल साहित्यकार बन्न के गर्नु पर्छ जस्तो तपाईंलाई लाग्छ ? र यस अनलाइन
पत्रिकाको माध्यबाट के सन्देश प्रवाह गर्न चाहनुहुन्छ ?
– असल साहित्यकार बन्नको
निमित्त अध्ययन पहिलो कुरा हो । धेरै अध्ययन गनु पर्छ । त्यसलाई निरन्तर रुपमा साधना गर्नु पर्छ, अभ्यास
गर्नु पर्छ । यदि सानो मान्छले पनि राम्रो कुरा गर्छ भने त्यसको पनि अनुसरण गर्न जरुरी छ ।
म
पछाडिका साहित्यकारहरुलाई असल र स्थापित साहित्यकार बन्न निरन्तरको साधना र समाजको यथार्थताको चित्रण
चाहिन्छ भन्न चाहन्छु । काल्पनिक कुरा समावेस भएका रचनालाई पनि पाठकहरुको मन छुने तरिकाले प्रस्तुत
गर्नु उपयुक्त हुन्छ ।
धेरै अध्ययन गरेर सुन्दर साहित्यको श्रृजना गर्दै नेपाली साहित्य जगतलाई
चम्काउनु पर्छ भन्ने पनि मेरो सुझाव छ ।