असार २९, काठमाडौँ (रासस) । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको विशेष बैठकलाई आज सम्बोधन गर्दै नेता सिंहले सरकारले गरेको असंवैधानिक कामलाई अदालतले सच्चाएको बताउनुभयो
पूर्व उपप्रधानमन्त्री सिंहले नयाँ सरकारले कोरोना महामारीलाई योजनाबद्ध रुपले सामना गरी सबै जनतालाई खोपको व्यवस्था गर्ने उल्लेख गर्नुभयो । कांग्रेस सरकारको प्रभावकारिता जनताले महसुस गर्ने गरी काम गर्ने उहाँको भनाइ थियो ।
पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसको आगामी १४औँ महाधिवेशनले देश र जनताका लागि काम गर्नसक्ने सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभयो । कांग्रेसले देशलाई महत्वपूर्ण अवस्थामा सङ्कटबाट उन्मुक्ति गराउँदै आएकाले अवको नेतृत्व समय सुहाउँदो हुनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले देश र जनतालाई शिरमा राखेर पार्टीलाई मजबुत र सफल बनाउनको लागि आगामी महाधिवेशनमा आफू नेतृत्वका लागि तयार रहेको स्पष्ट पार्नुभयो । कांग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमा नै सम्पन्न हुने उहाँको भनाइ थियो ।