२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक यातायातमा राजधानीमै मनपरी भाडा, अनुगमन सुस्त

२ श्रावण २०७८, शनिबार ११:२४

काठमाडौँ, २ साउन (रासस) । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् ।

विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा रु २० असुलेको बताउनुभयो । बढी भाडा लिने बा२ख ६८०५ नंको बसका बारेमा प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन ।

ट्राफिक प्रहरीको नं १०३ मा फोन गरी तोकिएकोभन्दा रु छ बढी भाडा लिएको जानकारी गराए पनि कारवाही नभएको उहाँको दुःखेसो छ । फोन उठाउनुभएका ट्राफिक प्रहरी चन्द्र केसीले कारवाही गराएरपछि जानकारी गराउँछौँ भनेको यात्रु सिम्खडाले बताउनुभयो । त्यो सवारीपछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारवाही नभएको उहाँको ठम्याइ छ । साउन लागेसँगै भाडा बढेको छ भनी ठगिनेमा सिम्खडा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ ।

यही साउन १ गते शुक्रबार नै रत्नपार्कबाट गौशालासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु रमा भट्टराईले तोकिएभन्दा रु छ नै बढी भाडा तिर्नुप¥यो । असार ३१ गतेदेखि भाडा बढेको छ । अब चढेपछि न्यूनतम रु २० भाडा भएको छ भन्दै बा५ख २७६४ नंको बसका परिचालकले भट्टराईसँग बढी भाडा असुलेका हुन् ।

छोटो दूरीमा रु छ र लामो दूरीमा दोब्बरसम्म बढी भाडा असुली भइरहेको भएपनि अनुगमन गर्नुपर्ने निकाय मौन छन् । विभागको वेबसाइटमा राखिएको ल्याण्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ । वेबसाइटमा विभागका सूचना अधिकारी डा लोकनाथ भुसालको मोबाइल नम्बरसमेत राखिएको छ । भुसालको ९८५१२५३१३५ मोबाइल नंमा पटकपटक फोन गर्दासमेत उठ्दैन । महानिर्देशक नमराज घिमिरेको मोबाइल नम्बरसमेत पत्ता लगाएर फोन गरे पनि नउठेको यात्रु बताउँछन् ।

पटकपटकको मोबाइल सम्पर्कपछि फोन उठाउनुभएका सूचना अधिकारी भुसालले विभागले अन्तर प्रदेशमा मात्र भाडा बढाउन पाउने व्यवस्थाअनुसार एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा बढी लिन पाइने गरी बिहीबारदेखि भाडा बढाइएको बताउनुभयो ।  प्रदेशभित्र र स्थानीय तहको क्षेत्रमा चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश र स्थानीय सरकारलाई नै दिइएको उहाँले जानकारी गराउनुभयो ।

विभागले गत वैशाख १७ गते भाडा बढाउने सम्बन्धमा पठाएको फाइलको निर्णयान्ुसार गत असार २७ गते भाडा बढाएको हो । सवा दुई महिनासम्म फाइल थन्क्याएर सरकार परिवर्तन हुने बेलामा भाडा बढाइएको भन्दै पाँच विद्यार्थी सङ्गठनलगायत नागरिकस्तरबाट पनि यसको विरोध भइरहेको छ ।

विभागको अनुगमन सुस्त, ट्राफिक प्रहरी केही सक्रिय

यातायात अनुगमनका लागि विभागबाट विशेष जिम्मेवारी पाएका नायबसुब्बा केशवराज जमरकट्टेल र चार जना ट्राफिक प्रहरी अनुगमनमा खटिने गरेको सूचना अधिकारी भुसालले जानकारी दिनुभयो । विभागले यातायात अनुगमनका लागि छुट्टै सवारीको व्यवस्था गरे पनि त्यसको सदुपयोग नभएको यात्रुको गुनासो छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता सञ्जीव शर्मादासले शुक्रबार तोकिएभन्दा बढी भाडा लिने १६० सवारीलाई कारवाही गरिएको जानकारी दिनुभयो । बढी भाडा लिने सवारीलाई पहिलोपटक रु ५०० देखि रु एक हजार ५०० सम्म कारवाही गरिएको महाशाखाले जनाएको छ । बढी भाडा लिने क्रम दोहो¥याउने सवारीलाई रु पाँच हजार कारवाही गरी सवारी सिज गर्नेसम्मको तयारी भएको प्रवक्ता शर्मादासले बताउनुभयो ।

“प्रत्येक दिन धुम्बाराही चोकबाट रानीपोखरीसम्म म पनि सार्वजनिक यातायातमा यात्रा गर्छु, सार्वजनिक यातायातका समस्या राम्रोसँग थाहा पाएकाले समस्या समाधानमा लागिपरेको छु”, उहाँले भन्नुभयो ।

शनिबार पनि बिहानैदेखि बढी भाडा लिएको गुनासो आइरहेकाले कार्यालयबाट धेरै जनशक्ति सार्वजनिक यातायात अनुगमनमै खटाइएको महाशाखाले जनाएको छ । यात्रुलाई तोकिएभन्दा बढी भाडा नतिर्न र बढी भाडा लिनेको जानकारी महाशाखाको निःशुल्क फोन नं १०३ मा खबर गर्न प्रवक्ता शर्मादासले आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का