४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकमहिने स्वस्थानी व्रतकथा सुरु

३ माघ २०७८, सोमबार ०७:२२

माघ ३, काठमाडौँ | वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न  एकमहिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको पूजाआराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । 

आजदेखि वैदिक सनातनधर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथावाचन सुरु गरेर देवीदेवताको पूजाआराधना सुरु गरेका छन् । वैदिक सनातन धर्मावलम्बी पनि विशेष गरी नेपालमा बसोबास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजाआराधना गर्छन् । यसैले यो नेपालकै मौलिक परम्पराका रुपमा रहेको छ । 

नेपालमा पनि धेरैजसो महिलाले यो व्रत गर्छन् । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गर्नुभएकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताउनुहुन्छ । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ । वैदिक सभ्यताका विषयमा नेपालमै अध्ययन अनुसन्धान गर्ने थोरै पश्चिमा खोजकर्तामध्ये जेसिका पनि एक हुनुहुन्छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कूल परम्पराअनुसार कथा वाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

सय रोटी वर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । 

आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्र धारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र देवमणि भट्टराईले जानकारी दिनुभयो । 

“स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नील कमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरद मुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधी लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इछ्याएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । 

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रत विधिअनुसार व्रतगर्दा पुत्रवियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिनुभयो । 

शाली नदीमा १२५ वर्तालु

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघ स्नानसहित माधवनारायणको मेला सुरु भएको छ । 

“माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार श्रेष्ठले भन्नुभयो । 

यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित शाली नदीमा कोरोना महामारीका कारण १२५ मात्र वर्तालु राखिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ । एक सय ६ महिला र १९ पुरुषले माधवनारायण एवं श्रीस्वस्थानी व्रत लिएको समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो । 

गतवर्ष पनि कोरोना महामारीको जोखिमका कारण ४९ मात्र वर्तालु राखिएको थियो । वर्तालुका लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर सुरक्षितसाथ राखिएको छ । शाली नदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि भक्तजन आए पनि धेरै भीड भने नभएको उहाँले सुनाउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता