जेठ २२, काठमाडौँ | सवारी दुर्घटनामा परेर घाइते भएका राप्रपा खोटाङका पूर्वअध्यक्ष जीवनकुमार श्रेष्ठको निधन भएको छ। गत शुक्रबार दिक्तेल बजारस्थित घर नजिकै मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।
टाउको र छातिमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

५८ वर्षीय श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पतालमा आज बिहान निधन भएको राप्रपा प्रवक्ताले बताए।
श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको प्रवक्ताले निकालेको विज्ञप्तिमा उल्लेख छ। उनले राप्रपाले सशक्त, आँटिलो, विचारमा प्रतिबद्ध योद्धा गुमाएको बताएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ लगायतका नेताहरू न्युरो अस्पताल पुगेर दिवंगत भएका जीवनकुमार श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।