भदौ ६, काठमाडौं | न्यायको माग गर्दै आमरण अनशन बस्दै आएकी निहारिक राजपुत ‘सोनाली’सँग फेरि तीनबुँदे सहमति गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आइतबार तीनबुँदे सहमति गरेसँगै निहारिकाले १७ दिनपछि आमरण अनशन तोडेकी छिन् ।

उनको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालातर्फबाट सरकारी वकिलले माग गर्ने, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र उनले १७ दिनदेखि गरिरहेको आमरण अनशन आइतबारको मितिबाट अन्त्य गर्ने सहमति भएको हो ।
निहारिकाको माग बमोजिम आरोपी शिवराज श्रेष्ठसँग डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरमा माग गर्ने सहमति भएको छ । उनको मुद्दा अदालतमा विचाराधीन भएकाले सरकारी वकिलले यससम्बन्धी माग गर्ने सहमति गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले ३१ साउनमा श्रेष्ठलाई पक्राउ गरेको छ । उनले निहारिकासँग सम्बन्ध भएपनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका छन् । श्रेष्ठले डीएनए जाँच गरिए त्यसलाई सघाउने बताउँदै आएका छन् । निहारिकाले डीनएन मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी छन् । सहमतिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारिकाले हस्तक्षर गरेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रोहवरका रुपमा हस्ताक्षर गरेका छन् ।