कात्तिक ४, काठमाडौँ | लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लील भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरि घर भएका ४२ वर्षका मुकेश माली रहेका प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसहितको टोली लजमा पुगी उनको मोबाइल फोन नियन्त्रणमा लिई चेकजाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका बिभिन्न ब्यक्तिहरूका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित मालीलाई नियन्त्रणमा लिएको हो ।
मालीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।