कात्तिक ८, काठमाडौँ | बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले अनुसन्धान लागि तेस्रो पटक थप ४ दिनको म्याद थप गरेको हो ।
प्रहरीले सन्दीपमाथि अनुसन्धान नसकेकाले तेस्रो पटक ७ दिनको म्याद थप्न अदालत लगेको थियो तर अदालतले ४ दिनमात्रै म्याद थप गरेको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले बताए ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले असोज २० गते विमानस्थलबाटै पक्राउ गरेको थियो ।
काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।
प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।
सन्दीप विरुद्ध प्रहरीले जुटाएका प्रमाण !
प्रहरीले संकलन गरेको सन्दीपविरुद्ध सबैभन्दा ठूलो प्रमाणका रूपमा किशोरीलाई बलात्कार गरिएको भनिएको ‘होटेल काठमाडौं इन’को सीसीटिभी फुटेज हो । त्यहाँ उनी भदौ ५ गते राति पीडित किशोरीसँग प्रवेश गरेको र अर्को दिन बिहान बाहिरिएको देखिएको छ ।
सो होटेलका कर्मचारीको बयान पनि प्रहरीले लिएको छ । पीडितको बयान, मेडिकल जाँचलाई पनि प्रमाणका रूपमा लिइएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ गरिएको छ ।
एक अधिकारीले भने, “सञ्जालका च्याटहरू पनि ‘रिकभर’ भएका छन् । हामीले बलियो रूपमा प्रमाण जुटाएका छौँ । प्रमाणहरू अकाट्य छन् । त्यसैले पनि सन्दीपले उन्मुक्ति पाउँछन् भन्ने हामीलाई लाग्दैन ।”
सन्दीपले सरकारी वकिलको कार्यालयमा र प्रहरीलाई दिएको साबितीमा आफूले एक क्रिकेट खेलाडीमार्फत आफूलाई आरोप लगाउने किशोरीलाई चिनेको बताएका छन् । उनले आफू होटेलमा सँगै बसेको स्वीकार गरेका छन् । तर, यौनजन्य कार्य नगरेको जिकिर गरेका छन् ।
त्यसबाहेक सन्दीप र उनका कानुन व्यवसायीले पीडित बालिग भएको दाबी गरेका छन् । प्रहरीले पनि पीडितका दुई जन्मदर्ता फेलापारेको छ । एक जन्मदर्तामा उनी बालिग छन् भने अर्कोमा नाबालिग । तर, प्रहरीले उनको नागरिकतामा उल्लेख उमेरलाई आधार मानेको छ । नागरिकताअनुसार पीडितको उमेर अहिले १७ वर्ष छ ।